६ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

भुटानी टोली विजयी

धनगढी- वेस्ट काठमाडौंमाथि ४–१ को विजय हासिल गर्दै भुटानको डक स्टार क्लबले कैलालीको धनगढीमा शुक्रबार सुरु प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण भागेश्वर गुप्र सुदूर पश्चिम खप्तड गोल्डकपको दोस्रो चरणमा स्थान पक्का गरेको छ।

धनगढी रंगशालामा समिरजंग कार्कीको गोलमा काठमाडौंले पहिलो हाफमा अग्रता लिएको थियो। तर टोलीले मध्यान्तरपछि त्यो अग्रता कायम राख्न सकेन। डक स्टारका पेम्वा राईले ५६ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए। त्यसपछि क्यान्चो तोव्गेले ह्याटि्रक गर्दै भुटानी टोलीलाई सुखद सुरुआत दिलाए।

भुटानका राष्ट्रिय खेलाडी क्यान्चोले ७१ औं मिनेटमा गोल गर्दै भ्रमणकारी टोलीलाई २–१ को अग्रता दिलाए। ८४ औं मिनेटमा दोस्रो व्यक्तिगत गोल गरेका क्यान्चोले समय सकिन एक मिनेट बाँकी रहँदा ह्याटि्रक पूरा गरे। डक स्टार भुटानको 'ए' डिभिजनका १० मध्ये शीर्ष चारमा पर्ने क्लव हो।

डक स्टारका स्ट्राइकर क्यान्चोले दोस्रो हाफमा संगठित प्रदर्शनका कारण जित सम्भव भएको बताए। यसैगरी डक स्टारका प्रशिक्षक कोता नामगेन्जनले रणनीति अनुसार खेलेका कारण जित हासिल गरेको बताए।

वेष्ट काठामडौंका प्रशिक्षक सुन्दर थापाले केही खेलाडी अन्य प्रतियोगिता खेल्न गएको तथा केही घाइते भएका कारण सुखद नतिजा ल्याउन नसकेको बताए। 'अग्रता लिएको अवस्थामा गोलकिपरको गल्तीमा गोल खायौं। त्यसपछि दबाब भयो र नतिजा ल्याउन सकिएन,' उनले भने।

माघ १ गतेसम्म चल्ने प्रतियोगितामा शनिबार भारतको दिल्ली युनाइटेड र काठमाडांैको ब्वाईज युनियन क्लवबीच खेल हुनेछ।

प्रतियोगिताको विजेताले ५ लाख तथा उपविजेताले २ लाख ५० हजार रुपैयाँ पाउनेछन् भने उत्कृष्ट खेलाडीले यमाहा मोटरसाइकल पाउनेछन्। प्रतियोगितामा नेपाल, भारत र भुटानका गरी कुल १२ टीम सहभागी छन्।

प्रकाशित: २३ पुस २०७३ ०३:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App