२४ असार २०८१ सोमबार
image/svg+xml
खेल

पुलिसको विजयी सुरुआत

एपिएफका टेकराज अवस्थीको स्पाइक रोक्ने प्रयास गर्दै पुलिसका रविन नगरकोटी। तस्बिर सौजन्य: राखेप

विभागीय प्रतिद्वन्द्वी एपिएफमाथि ३-० को सोझो सेटमा जित निकाल्दै नेपाल पुलिस क्लबले मंगलबारबाट सुरु पहिलो संस्करणको पोस्टबहादुर बोगटी स्मृति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ।

पोस्टबहादुर स्मृति फाउन्डेसनको आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको उद्घाटन खेलमा पुलिसले एपिएफमाथि सोझो सेटमा जित निकालेको हो। विभागीय डर्बी भिडन्तमा पुलिसले पहिलो सेट २५–२१ ले आफ्नो पक्षमा पारेको थियो। पहिलो सेटको जितपछि उच्च मनोबलका साथ खेलेको पुलिसले दोस्रो सेटमा २५–२२ र तेस्रो सेटमा २६–२४ को रोमाञ्चक जित निकाल्न सफल भयो। यस जितसँगै समूह ‘बी’ को पुलिसले अंकतालिकामा तीन अंक जोडेको छ।  

पुलिसको सेमिफाइनल प्रवेश सम्भावना बलियो पनि भएको छ। प्रतियोगितामा बुधबार दुई खेल हुनेछन्। दिनको पहिलो खेल त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेश बीच हुँदा दोस्रो खेल नेपाल पुलिस क्लब र सुदूरपश्चिम प्रदेशबीच हुनेछ। प्रतियोगितामा तीन विभागीय टोली एवं दुई प्रदेश गण्डकी र सुदूरपश्चिमले सहभागिता जनाएका छन्। लिग कम नकआउटका आधारमा आयोजना हुने प्रतियोगिताको विजेताले ४ लाख तथा उपविजेताले २ लाख रूपैयाँ प्राप्त गर्नेछन्। यस्तै तेस्रो हुने टोलीले नगद १ लाख रूपैयाँ प्राप्त गर्दा सान्त्वना टोली ५० हजार रूपैयाँबाट पुरस्कृत हुनेछ।

विधागत उत्कृष्ट सर्भर, लिबेरो, स्पाइकर, ब्लकर, सेटर र प्रशिक्षकले जनही १० हजार रूपैयाँ पाउनेछन् भने सर्वोत्कृष्ट खेलाडीले १५ हजार रूपैयाँ पाउनेछ। पाँच दिने प्रतियोगिताको प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरेका थिए। सो अवसरमा पूर्वसभामुख अग्निप्रसाद सापकोटा र प्रतिनिधिसभाका सदस्य हितबहादुर तामाङ र विदुर नगरपालिकाको उपमेयर प्रभा बोगटीको उपस्थिति थियो। उक्त कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले पुरुष भलिबललाई पनि चीनको हान्जाउमा हुने एसियन गेम्समा सहभागिताका लागि प्रयास भइरहेको बताए।  

प्रकाशित: २९ चैत्र २०७९ ०५:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App