१७ असार २०८१ सोमबार
image/svg+xml
खेल

युनाइटेड तेस्रो स्थानमा उक्लियो

रेलिगेसन क्षेत्रमा रहेको एभर्टनविरुद्ध शनिबार स्कट म्याकटोमिने र एन्थोनी मार्सियलले गोल गरेपछि इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड आगामी सिजनको च्याम्पियन्स लिगमा स्थान बनाउने संघारमा पुगेको छ।

घरेलु मैदान ओल्ड ट्राफोर्डमा २–० को सुखद नतिजा निकालेपछि प्रशिक्षक एरिक टेन हागको टोली युनाइटेड तेस्रो स्थानमा पनि उक्लिएको छ। स्पष्ट तीन अंक बटुलेसँगै युनाइटेड पाँचौं स्थानको टोटेनह्यामभन्दा ६ अंकले अगाडि रहेको छ। शीर्ष स्थानको आर्सनलभन्दा ६ अंकले नै पछाडि छ। एक स्थानमुनि रहेको न्युक्यासल युनाइटेडसँग तीन अंकको अग्रता लिएको युनाइटेडमा मार्कोस रसफोर्डको खेल निकै तारिफयोग्य रह्यो। ८१ मिनेट मैदानमा प्रभाव छाड्दै रसफोर्ड मैदान बाहिरिएका थिए। उनको स्थानमा जाडोन सान्चो मैदान प्रवेश गरे। रसफोर्डको उत्कृष्ट खेलले युनाइटेड बलियो टोलीको रूपमा देखिएको थियो।

युनाइटेड यस सिजन एफए कप र युरोपा लिगको अपेक्षामा रहेको छ। आगामी खेलमा युनाइटेडले सेभियासँग युरोपा लिगको क्वार्टरफाइनल खेल्ने तालिका छ। जितपछि युनाइटेडका प्रशिक्षका टेन हागले आगामी छ दिनभित्र तीन खेल खेल्नुपर्ने भएकाले राम्रा खेलाडीलाई आराम दिनु परेको बताए। सबैले उत्कृष्ट खेलको अपेक्षा गर्ने भएकाले सहज अवस्थामा खेलाडीलाई आराम दिएको उनले उल्लेख गरे।

‘हामी सधैं राम्रो खेलका लागि प्रयास गरिरहेका छौं। त्यसैले राम्रा खेलाडीलाई आराम दिनुपर्ने भएको छ,’ टेन हागले भने, ‘हामीले आगामी छ दिनभित्र तीन खेल्नु पर्नेछ। सो कारणले खेलाडी बचाउनु पर्ने मेरो बाध्यता हो।’

खेलको ३६औं मिनेटमा स्कटले गोल गर्दै युनाइटेडलाई सुरुआती अग्रता दिलाए। चलाखीपूर्ण तरिकाले सान्चोले उपलब्ध गराएको पासलाई स्कटले आकर्षक शैलीमा गोल गरेका हुन्। त्यस पछिको पहिलो हाफमा पाहुना टोली एभर्टनले आक्रामक खेल देखायो। तर, खेलमा भने फर्किन असफल रह्यो। एक गोलले पछि परेको एभर्टन दोस्रो हाफमा पनि घरेलु टोलीसँग निरिह नै बन्यो। युनाइटेडको लगातार काउन्टर प्रयास रोक्न एभर्टनका डिफेन्डर निकै ब्यस्त रहे। आक्रामक खेलेको युनाइटडले ७१औं मिनेटमा मार्सियलको गोलबाट अग्रता दोब्बर बनायो। रसफोर्डको पासलाई उनले जाली चुमाएका हुन्। बाँकी समयमा युनाइटेडले प्रयास गरे पनि थप गोल गर्न सकेन।

जितपछि युनाइटेडको आगामी सिजनमा च्याम्पियन्स लिग सम्भावना बलियो बन्दै गएको छ। पराजित एभर्टन भने रेलिगेसन क्षेत्र नजिकै छ। एभर्टन रेलिगेसन क्षेत्रको बर्नमाउथभन्दा दुई स्थानमाथि रहे पनि गोलअन्तरले मात्र अगाडि छ। रेलिगेसन क्षेत्रका टोलीले सुखद नतिजा निकाल्दा एभर्टनको रेलिगेसन क्षेत्रमा झर्ने सम्भावना पनि छ। युनाइटेडका सदस्य रसफोर्डले यस अघि बुधबार ब्रेन्टफोर्डसँग पनि निर्णायक गोल गरेका थिए। उक्त गोलसँग हागले रसफोर्डको निकै प्रशंसा पनि गरेका थिए।

उक्त गोल रसफोर्डको जारी सिजनमा २८औं हो। तर, पछिल्ला समय उनी चोटका कारण नियमित रूपमा टोलीमा अटाउन सकेका छैनन्। क्रिस्टियन एरिक्सन कुर्कुचाको चोटपछि शनिबार खेलमा फर्किए। उनी अन्तिम १३ मिनेट बाँकी रहँदा सान्चोको स्थानमा मैदान प्रवेश गरे। शीर्ष स्थानको आर्सनलसँग समान २९ खेल खेल्दै अन्तर छोट्याएको युनाइटेडले दुई साताको मध्यतिर युरोपा लिगको क्वार्टरफाइनलमा सेभियासँग प्रतिस्पर्धा गर्दै छ। पहिलो लेग अप्रिल १४ मा हुनेछ भने दोस्रो लेग अप्रिल २१ मा हुँदै छ।  

प्रकाशित: २६ चैत्र २०७९ ०१:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App