१८ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
खेल

अस्ट्रेलिया १० विकेटले विजयी

मिचेल स्टार्क

मिचेल स्टार्कले ५३ रन खर्चिएर ५ विकेट लिँदा मिचेल मार्सले ६६ रनको अविजित पारी खेलेपछि आइतबार भ्रमणकारी टोली अस्ट्रेलियाले भारतविरुद्ध १० विकेटको फराकिलो जित निकालेको छ।

भारत भ्रमणमा निस्किएको अस्ट्रेलियाले तीन खेलको एकदिवसीय शृंखलाअन्तर्गत दोस्रो खेलमा घरेलु टोलीविरुद्ध सानदार जित निकालेको हो। भारतले पहिलो खेलमा ५ विकेटको जित निकाल्दै १–० ले अग्रता लिएको थियो। आइतबार अस्ट्रेलियाले जित निकाल्दा तीन एकदिवसीय शृंखलामा १–१ को बराबरी भएको छ।

घरेलु टोलीवरुद्ध फराकिलो जित निकाल्ने क्रममा लेफ्ट आर्म बलर स्टार्कको कसिलो बलिङ भारतका लागि निकै घातक बन्यो। भारतले २६ ओभरमा सबै विकेट गुमाएर मात्र १ सय १७ जोड्न सकेको थियो। १ सय १८ रनको लक्ष्य जबाफी ब्याटिङ गरेको अस्ट्रेलियाले ११ ओभरमा पूरा गरेको थियोे। घरेलु टोलीका बलरसामु अस्ट्रेलियाका ओपनरले विस्फोटक इनिङ खेले।

अस्ट्रेलियाका फास्ट बलरसामु फितलो प्रदर्शन गरेको भारतको बलिङ पनि फितलो देखिएको थियो। सो क्रममा ओपनरद्वय मिचेल मार्स र ट्राभिस हेडले अर्धशतकीय अविजित पारी खेलेका हुन्। मिचेल मार्सले ३६ बलको सामना गर्दा ६ चौका र ६ छक्काको सहयोगमा ६६ रन बटुलेका थिए भने ट्राभिस हेडले ३० बलमा १० चौकाको सहयोगमा ५१ रन जोडे।

कसिलो बलिङबाट भारतीय इनिङलाई न्यून स्कोरमा रोकेका स्टार्कले मैदानको अवस्था अनुसार आक्रामक बलिङ रणनीति बनाउँदै खेल्दा नतिजा सहज भएको बताए।

‘हामीलाई आजको दिन निकै स्मरणयोग्य रह्यो। घरेलु टोलीलाई दबाबमा राखेर सुखद नतिजा निकाल्दा शृंखला बराबरी भएको छ,’ ५ विकेट लिएका स्टार्कले भने, ‘मैदानको अवस्था अनुसार आक्रामक बलिङ रणनीति बनाउँदै खेल्दा नतिजा सहज भयो। पावर प्लेमा निक्लिएका विकेटले हाम्रो मनोबल बढ्यो।’

उता भारतीय टोलीका कप्तान रोहित शर्माले स्टार्कको बलिङलाई प्रशंसा गर्दै आफ्ना ब्याट्सम्यानले खुलेर खेल्न नसकेको बताए। स्टार्क अनुभवी बलर भएको भन्दै उनको आक्रामक बलिङमा आफूहरू चुकेको रोहितले बताए।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको भारतका लागि विराट कोहली सर्वाधिक ३१ रन बनाउँदै आउट भए। विराटले ३५ बलको सामना गरेर ४ चौका प्रहार गरेका थिए। रवीन्द्र जडेजाले १६ रन बनाउँदा अक्सर पटेलले अविजित २९ रन बनाए। यसबाहेक अन्य ब्याट्सम्यानले सम्झनलायक स्कोर गर्न सकेनन्। भारतका भरपर्दा ७ खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्। प्लेयर अफ दी म्याच घोषित स्टार्कले सुरुआती चार विकेट लिँदै भारतलाई दबाब दिएका थिए।

ओपनर शुभमन गिल तेस्रो बलमै प्वाइन्टमा मार्नस लाबुसेनबाट शून्यमा क्याच भएका थिए। दोस्रो विकेटका लागि रोहित शर्मा र विराट कोहलीले ३१ रनको साझेदारी अगाडि बढाए पनि स्टार्कको पाँचौं ओभरको चौथो बलमा रोहित शर्मा स्टिभ स्मिथबाट क्याच हुँदै पवेलियन फर्किन पुगेका थिए।

रोहितले १५ बलमा २ चौका प्रहार गरे। त्यसपछि सूर्यकुमार यादव एलबिडब्लुको धरापमा पर्दै पवेलियन फर्किंदा लोकेश राहुल पनि एलबिडब्लुकै धरापमा परे। त्यसपछि नाथन एलिस र शन एबोटले मध्यक्रम ध्वस्त पारेका थिए।

मिचेल स्टार्कले ५ विकेट लिए। उनले ८ ओभर बलिङ गर्दा एक मेडन ओभर राख्दै ५३ रन खर्चिएका थिए। स्टार्कले यससँगै एकदिवसीय त्रिकेटमा नौ पटक पाँच विकेट लिएका छन्। यस्तै सेन एबटले ३ विकेट निकाल्दा नाथन एलिसले २ विकेट हात पारे। अन्तिम तथा निर्णायक खेल बुधबार हुनेछ।  

प्रकाशित: ६ चैत्र २०७९ ०२:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App