२३ असार २०८१ आइतबार
image/svg+xml
खेल

‘दिक्तेल मेयर कप’ को उपाधि नेर्पाको पोल्टामा

मेयरकप उपाधि बिजेता खेलाडीहरु सामुहिक तस्विर खिच्दै। तस्बिर: महेश्वर

खोटाङ सदरमुकाम दिक्तेलमा सम्पन्न ‘दिक्तेल मेयरकप अन्तरक्लबस्तरीय फुटबल प्रतियोगिता ०७९’को उपाधि नेर्पा स्पोर्टस् क्लब नेर्पाले चुमेको छ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको प्रायोजन र दिक्तेल फुटबल एकेडेमी (केएफए) खोटाङको आयोजनामा सम्पन्न चौथो सँस्करणको प्रतियोगितामा खोटाङकै माटीकोरे सामाजिक सेवा समाजलाई परास्त गर्दै नेर्पाले उपाधि चुमेको हो।

दिक्तेलस्थित माटीकोरे खेलमैदानमा मंगलबार दिउँसो भएको फाईनलमा दिक्तेल रुपाकोट मझुवागढी ६ नेर्पा ३–१ ले उपाधिको हकदार भएको हो। फाईनलमा नेर्पाले मध्यान्तरअघि २ गोल र पछि १ गोल गर्यो भने माटीकोरे मध्यान्तरपछि १ गोल मात्र गर्न सफल भयो। मध्यान्तरअघि नेर्पाका लागि बिक्की राईले लगातार २ गोल गरेका थिए। मध्यान्तरपछि माटीकोरेका दिपक खत्रीले १ गोल फर्काएलगत्तै नेर्पाका अर्का खेलाडी भुषण भुजेलले अर्को १ गोल गरेर जितलाई थप बलियो बनाए।

उपाधि जितेसँगै नेर्पाले १ लाख २५ हजार नगदका साथ ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्दा उपविजेताले ६२ हजार ५ सय नगदका साथ मेडल र प्रमाणपत्र पायो। विधागत पुरस्कारतर्फ सर्वाधिक गोलकर्ताको उपाधि नेर्पाका बिकी राई घोषित भए भने उत्कृष्ट खेलाडी माटीकोरेका दीपक खत्री भए। उत्कृष्ट गोलरक्षक माटीकोरेकै नवीन पोखरेललाई घोषणा गर्दा उदीयमान खेलाडीको उपाधि आायेजक केएफएका रोहन परियार भए।

उनीहरुलाई जनही नगद ५ हजारसँगै पुरस्कारस्वरुप गोल्डेन ग्लोब्स, गोल्डेन बल, गोल्डेन सुज र प्रमाणपत्र प्रदान गरियो। ‘खोटाङको पहिचान, खेलकुदको अभियान’ भन्ने नाराका साथ आयोजित प्रतियोगिताको उद्घाटन दिक्तेल रुपाकोट मझुवागढी नगरप्रमुख तीर्थराज भट्टराईले गरेका थिए भने समापन नगर उपप्रमुख विशन राईले गरे। मंगलबार साँझ आयोजित समापन कार्यक्रममा उपप्रमुख राईले विजयी टिम तथा खेलाडीहरुलाई ट्रफि, नगद तथा प्रमाणपत्र प्रदान गरे।

फागुन २७ देखि ३० गतेसम्म सञ्चालित प्रतियोगितामा जिल्लाका बिभिन्न स्थानीयतहका ८ समूहको सहभागिता थियो। आयोजक केएफएका अध्यक्ष नुरकाजी सैँजुका अनुसार केएफए स्थापनाकालदेखि नै जिल्लामा फुटबल प्रतियोगिता गराउँदै आए अनुसार यो चौथो संस्करणको प्रतियोगिता हो।

जिल्लामा लुकेर रहेका प्रतिभाको खोजी र विकास गर्दै राष्ट्रिय अन्तराष्ट्रियस्तरको खेलाडी बनाउन वर्षेनी मेयरकप प्रतियोगिता आयोजना गर्दै आएको केएफएका प्रशिक्षण विभाग प्रमुख एवम् कोषाध्यक्ष रोषेश श्रेष्ठले बताए। उनका अनुसार २०७३ सालमा स्थापना भएदेखि नै केएफएले वार्षिक कार्यतालिका नै बनाए र खोटाङका बिभिन्न ठाउँमा फुटबल प्रतियोगिता सञ्चालन गर्दै आएको छ।  

प्रकाशित: १ चैत्र २०७९ ११:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App