२३ असार २०८१ आइतबार
image/svg+xml
खेल

सेमिफाइनल समीकरण पूरा

केपी ओली कप

जावलाखेल युथ क्लबलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै आयोजकको टोली केपी ओली एफसी जारी केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपको सेमिफाइनल प्रवेश गर्ने चौथो टोली भएको छ।

ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न खेलमा केपी ओली एफसीले जावलाखेललाई पेनाल्टी सुटआउटमा ५–४ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो। यससँगै जारी प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको छ। निर्धारित ९० मिनेटमा १–१ को बराबरी भएपछि टाइब्रेकरमा पुगेको खेलमा आयोजक टोलीले बाजी मारेको हो। पेनाल्टी सुटआउटमा आयोजकको तर्फबाट कप्तान विक्रम लामा, आदित्य शाक्य, अशोक खवास, लाकेन लिम्बु र अनिल महर्जनले गोल गरे।

जावालाखेलका सीमान्त थापा, समिराज थोकर, फोडे फोफाना र अब्दुल अजिज निसोनबोइभले गोल गर्दा एनकोटो मासोअबीको पेनाल्टी प्रहार भने आयोजकका गोलकिपर पूर्ण चेम्जोङले बचाउ गर्दै आफ्नो टोलीलाई अन्तिम चारमा पुर्‍याए। निर्धारित ९० मिनेटको खेलको सुरुआत निकै प्रतिस्पर्धात्मक रह्यो। पहिलो हाफ सकिन तीन मिनेट बाँकी रहँदा जावलाखेलका डिफेन्डर राहुलले गोल गर्दै आफ्नो टोलीलाई सुरुआती अग्रता दिलाए। आयोजकका गोलकिपर चेम्जोङ फुत्काएको बल नियन्त्रणमा लिँदै राहुलले नजिकैबाट गोल गरेका हुन्।

पहिलो हाफमा पछि परेको आयोजक दोस्रो हाफमा भने आक्रामक रणनीतिका साथ मैदान उत्रियो। ६८औं मिनेटमा विदेशी खेलाडी अजयी मार्टिन्सले गोल गर्दै केपी ओली एफसीलाई १–१ को बराबरीमा ल्याए। सिफामान्डिया सेलोको पासमा मार्टिन्सले डी एरियाबाहिरबाट गरेको सशक्त प्रहार गोलमा परिणत भएको हो। बाँकी समयमा दुवै टोलीले थप गोलका लागि प्रयास गरे पनि सफल हुन सकेनन् र खेल टाइब्रेकरमा पुग्यो। आयोजकले सेमिफाइनलमा मच्छिन्द्र फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ। अर्को सेमिफाइनलमा सातदोबाटो युथ क्लब र विभागीय टोली त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ। आइतबार पहिलो सेमिफाइनलमा सातदोबाटो र आर्मीबीच हुनेछ। दोस्रो सेमिफाइनलमा मच्छिन्द्र र केपी ओली एफसी भिड्नेछन्।  

प्रकाशित: १४ फाल्गुन २०७९ ००:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App