१९ असार २०८१ बुधबार
image/svg+xml
खेल

नामिबिया चौथो खेलमा पनि पराजित

नेपालमा जारी आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय श्रृंखलाको चौथो खेलमा पनि नामिबिया पराजित भएको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सोमवार सम्पन्न खेलमा नामिबिया स्कटल्याण्डसँग ४३ रनले पराजित भएसँगै जारी त्रिकोणात्मक श्रृंखलामा लतागार चौथो हार भोगेको हो। यस हारसँगै श्रृंखलामा जितबिहीन बन्दा नामिबिया ३४ खेलमा ३७ अंकमा सिमित बन्यो।

यसका बाबजुत पनि नामिबिया तालिकाको तेस्रो स्थानमा यथावत छ। लिग–२ को च्याम्पियन बनिसकेको स्कटल्याण्ड जितका साथ ३५ खेलबाट ५० अंकका सथ शीर्ष स्थानमा यथावत छ। 

नेपाल भ्रमणमा रहेको नामिबियाले स्कटल्याण्डबाट प्राप्त २ सय २२ रनको लक्ष्य पछ्याउने क्रममा ३८.४ ओभरमा एक सय ७८ रनमै समेटियो। नामिबियाका  लागि लो ह्याण्डर लरेन्सले ६७ बलमा ६ चौकाको मद्दतमा सर्वाधिक ५२ रन बनाए पनि टोलीलाई जित दिलाउन भने सकेनन्। यसैगरी कप्तान जेरार्ड इरस्मसले ४३, जेन ग्रिनले २५ तथा शउन फोउच र रुबेन ट्रम्पलम्यानले समान १० रन जोडेपनि अन्य खेलाडीले राम्रो स्कोर छुन सकेनन्।

नामिबियाको इनिङलाई सस्तैमा समेट्ने क्रममा स्कटल्याण्डका मार्क वाटले सर्वाधिका ४ विकेट निकाल्दा, माइकल लिस्कले ३, ब्रेण्डन म्याकमुलनले २ तथा क्रिस ग्रेभेसले १ विकेट आफ्नो नाममा लेखाए। त्रिवि मैदानमा यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको स्कटल्याण्डले ४८.४ ओभरमा सबै विकेट गुमाएर २ सय २१ रन बनाउन सफल भएको थियो। 

स्कटल्याण्डका लागि किस्टोफ म्याकब्रिडले ७५ बलमा सात चौकाको मद्दतमा सर्वाधिक ४७ रनको पारी खेले। यसैगरी टोमस म्याकिनटोसले ३४, कप्तान रिची बेरिङटनले ३२, माइकल लिस्कले २९, लियम नेलोरले २०, म्याथ्यु क्रसले १६ र क्रिस ग्रेभेसले १४ रन  जोडे। नामिबियाका लागि रुबेन ट्रम्पलम्यान एक्लैले ५ विकेट हात पार्दा टान्गिनी लुंगामिनीले २ तथा बेर्नार्ड स्कोल्ट्ज, बेन सिकोन्गो र पिक्की या फ्रान्सले समान १/१ विकेट हात पारे।

यससँगै नामिबियाले श्रृंखलाका चारै खेलमा पराजय व्यहोरेको हो। यसअघि नामिबिया नेपालसँग पहिलो खेलमा दुई विकेट, दोस्रो खेल स्कटल्याण्डसँग १० विकेट र नेपालसँगको दोस्रो खेलमा ३ विकेटले पराजित भएको थियो। श्रृंखलामा मंगलबार अन्तिम खेल नेपाल र स्कटल्याण्डबीच प्रतिष्पर्धा हुनेछ।

प्रकाशित: ८ फाल्गुन २०७९ ११:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App