१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

साबालेन्कालाई करियरको पहिलो ग्रान्ड स्लाम

अस्ट्रेलियन ओपनको रूपमा खेल जीवनको पहिलो ग्रान्ड स्लाम जितेसँगै आर्यना साबालेन्काले यस जितको खुसीबाट मुक्त हुन केही दिन लाग्ने प्रतिक्रिया दिएकी छन्।

पहिलो सेटमा पछि परे पनि उत्कृष्ट पुनरागनसहित साबालेन्काले वर्षको पहिलो ग्रान्ड स्लामको रूपमा रहेको अस्ट्रेलियन ओपन जितिन्। उनले फाइनलमा विम्बल्डन विजेता कजाखस्तानकी एलिना रिबाकिनामाथि ४–६, ६–३ र ६–४ को जित निकालिन्। रड लाभर एरिनामा रिबाकिनाको चुनौती पार गर्न साबालेन्काले दुई घन्टा २८ मिनेट खर्चनु परेको थियो। जितपछि निकै भावुक बनेकी २४ वर्षिया साबालेन्कालाई रिबाकिनाले अंकमाल गर्दैैै पहिलो ग्रान्ड स्लामको बधाई दिएकी थिइन्।

रिबाकिनाले खेल अवधिभर साबालेन्कालाई कडा चुनौती दिएकी थिइन्। पाँचांै वरीयताकी साबालेन्काले रिबाकिनाको बधाईपछि मात्रै आफ्नो टोलीसँग खुसी साटेकी थिइन्। ‘धन्यवाद, मेरो टोली। यो प्रतियोगिताको सुरुआती चरणबाटै निकै मिहिनतका साथ लागि परेको थिएँ,’साबालेन्काले भनिन्, ‘गत वर्ष मेरा लागि सुखद थिएन। मैले निकै उतारचढाव पार गर्नुपरेको थियो। मेरो टिमले गरेको कार्यका लागि विशेष आभारी छु। धेरैधेरै माया पनि छ।’

साबालेन्काले फेरि पनि रिबाकिनासँगको प्रतिस्पर्धा होस् भन्ने चाहना व्यक्त गरिन्। ‘रिबाकिना निकै उत्कृष्ट खेलाडी हुन्,’साबालेन्काले भनिन्, ‘आशा छ, हामी अन्य ग्रान्ड स्लाममा पनि निरन्तर आमनेसामने हुनेछौं र त्यो फाइनल भिडन्त नै होस् भन्ने मेरो चाहना छ।’ रिबाकिनामाथिको जितसँगै साबालेन्का विश्व वरीयताको दोस्रो स्थानमा उक्लिएकी छन्। पोल्यान्डकी इगा स्वायटेक शीर्ष स्थानमा छिन्। रिबाकिनाले कठिन चुनौती दिए पनि धैर्यता नगुमाउँदा जित सफल भएको साबालेन्काले भनाइ छ।

‘ग्रान्ड स्लाममा प्रतिस्पर्धा गर्न सहज हुँदैन। यहाँ सबै प्रतिद्वन्द्वी कठिन हुन्छन्। रिबाकिनाले पनि कठिन चुनौती दिइन्। पहिलो सेट गुमाए पनि म निराश भइनँ र स्वभाविक खेलमा केन्द्रित रहेँ। जसका कारण म लगातार दुई सेटमा जित निकाल्न सफल भएँ,’साबालेन्काले भनिन, ‘आजको जित विशेष छ। यो मेरो खेलजीवनकै पहिलो ग्रान्ड स्लाम हो। म यो जितको खुसी शब्दमा वर्णन गर्न सक्दिनँ। त्यसैले यो जितको खुसीबाट टाढा हुँदै पुनः प्रशिक्षणमा फर्कन मलाई केही दिन लाग्नेछ।’

यसअघि तीन पटक ग्रान्ड स्लामको फाइनलसम्म यात्रा तय गरे पनि साबालेन्का त्यसभन्दा माथि भने उठ्न सकेकी थिइनन्। सात महिनाको अन्तरमा दोस्रो ग्रान्ड स्लामको फाइनलमा स्थान बनाए पनि रिबाकिनाले सो प्रयासमा सफलता निकाल्न सकिनन्। 

प्रकाशित: १५ माघ २०७९ ००:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App