६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
खेल

सुष्माको स्वर्ण जित्ने लक्ष्य अधुरो

उज्बेकिस्तानकी फोजिलोभा फरजोनासँग पराजित भएपछि नेपालकी सुष्मा तामाङ (बायाँ) ।तस्बिर: एजेन्सी

नेपालको बक्सिङमा ऐतिहासिक सफलता दिलाएकी सुष्मा तामाङले अब आफ्नो लक्ष्य विश्व च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्ने रहेको बताएकी छन्।

थाइल्यान्डको बैंककमा बुधबार एएसबिसी एसियन यु–२२ बक्सिङ च्याम्पियनसिपको महिला ४८ केजीको फाइनलमा सुष्मा उज्बेकिस्तानकी बक्सर फोजिलोभा फरजोनासँग ५–० ले पराजित भइन्। यसअघि गत आइतबार नै फाइनलमा पुगेपछि सुष्मा एसियाली स्तरको प्रतिस्पर्धामा रजत पदक जित्ने पहिलो नेपाली बक्सर बनेकी थिइन्। तर, त्यससँगै नेपालको बक्सिङ इतिहासमा पहिलो पटक एसियाली प्रतिस्पर्धाको फाइनलमा पुगेकी सुष्माको स्वर्ण जित्ने लक्ष्य पूरा हुन सकेन। पराजित भएपछि सुष्माको ऐतिहासिक स्वर्ण पदक जित्ने लक्ष्य यस पटक अधुरै रह्यो।

तथापि, फाइनल खेलपछि सुष्माले आफ्नो यात्रा नरोकिने र आगामी विश्व च्याम्पियनसिपमा राम्रो प्रदर्शन गर्ने लक्ष्यका साथ अगाडि बढ्ने बताइन्। ‘मैले जति दिन सक्थें, त्यो आज फाइनलमा दिन सकिनँ। सेमिफाइनल खेलमा मेरो मांसपेसी च्यातिएको थियो। त्यसले पनि गर्दा मलाई निकै गाह्रो भइरहेको थियो। तर, पनि फाइनल जित्छु भन्ने थियो,’ थाइल्यान्डबाट सुष्माले भनिन्, ‘मैले उनलाई चुनौती दिने प्रयास पनि गरेँ। सँगै मलाई दुखाइको महसुस पनि भइरहेको थियो। मेरो कमजोरी थाहा पाएपछि उनी झनै आक्रामक भएर खेलिन् ।’

सुष्माको प्रतिस्पर्धी फारजोना एसियाको यु–१९ की च्याम्पियन हुन्। खेलपछि फारजोनाले आफू तिमीसँग खेल्दा एक समय निकै डराएको प्रतिक्रिया दिएको उल्लेख गरिन्। ‘खेलपछि मेरो प्रतिस्पर्धी फारजोनासँग कुरा भयो। फारजोनाले एक समय तिमीले धेरै चुनौती दियौ भनिन्। सुरुमा तिमीसँग खासै डराएको थिइनँ। उनले तिमीले निकै राम्रो खेल्यौ र मलाई चुनौती दियौ भनिन्,’ सुष्माले खेलपछि फारजोनासँग गरिएको कुराकानी उल्लेख गरिन्। आगामी मार्च १५ देखि २७ सम्म भारतको नयाँ दिल्लीमा विश्व च्याम्पियनसिप हुँदै छ।

उक्त विश्व च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यका साथ अगाडि बढ्ने सुष्माले योजना सुनाइन्। यो च्याम्पियनसिपअघि नेपाली बक्सरले एसियन च्याम्पियनसिप र एसियाडमा कांस्य पदक मात्र जितेका थिए। तर, युवा बक्सर सुष्माले बैंककमा उत्कृष्ट प्रदर्शन गर्दै नेपाललाई फाइनलमा पुर्‍याउँदै कम्तीमा ऐतिहासिक रजत पदक सुरक्षित गराइन्। स्वर्ण पदक भिडन्तमा भने उनी असफल भइन्। सुष्माले क्वार्टरफाइनलमा भियतनामकी बक्सर फोजिलोभालाई ५–० र सेमिफाइनलमा मंगोलियाकी बक्सर बेइस्यनबेई जनारगुलीलाई तेस्रो राउन्डमा नै रेफ्री स्टप कन्टेस्ट (आरएसी) का आधारमा हराउँदै उपाधि भिडन्त तय गरेकी थिइन्।

च्याम्पियनसिपको पुरस्कार वितरण समारोहमा थाइल्यान्डका लागि नेपाली राजदूत गणेशप्रसाद ढकाल र नेपाल बक्सिङ संघका प्रवक्ता श्याम अवाले उपस्थित थिए। १६औं एसियाडका कांस्य पदक विजेता दीपक महर्जनको प्रशिक्षणमा रहेको नेपालको तर्फबाट यस च्याम्पियनसिपमा महिला र पुरुषमा समान ३/३ गरी कुल ६ बक्सरले चुनौती प्रस्तुत गरेका थिए। यसमध्ये नेपालले एक रजत र तीन कांस्य पदक जित्न सफल भयो। गत आइतबार नै बैंककमा नेपालकी बक्सर हेमा राईको चुनौती पनि कांस्य पदकमा नै सीमित भएको थियो।

महिला ५७ केजी तौलसमूहको सेमिफाइनलमा उनी मंगोलियाकी बत्तुर जोल्जारगलसँग ५–० ले स्तब्ध भएकी थिइन्। शुक्रबार नेपालका दुई बक्सर लालप्रसाद उप्रेती र इन्द्रबहादुर सुनारको चुनौती क्वार्टरफाइनलमा नै सीमित भएको थियो। 

प्रकाशित: १२ माघ २०७९ ०१:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App