१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

जोकोभिच क्वार्टरफाइनलमा

एलेक्स डी मिनौरमाथि सहज जितसहित अस्ट्रेलियन ओपनको क्वार्टरफाइनलमा स्थान बनाएसँगै नोभाक जोकोभिचले त्यस क्षणलाई आफ्नो खेलजीवनकै विशेष क्षण भएको प्रतिक्रिया दिएका छन्।  

एडिलेड ओपनका विजेता जोकोभिच सोही प्रतियोगितादेखि नै ह्यामस्ट्रिङको समस्याबाट जुधिरहेका छन्। यसअघिका खेलमा पटकपटक मेडिकल सहायता लिएका जोकोभिच अन्तिम १६ अन्तर्गत डी मिनौरविरुद्धको खेलमा भने फिट देखिएका थिए। रड लाभर एरेनामा उनले डी मिनौरमाथि ६–२,६–१,६–२ को सहज जित निकाले। सहज जित निकालेसँगै जोकोभिचले त्यसलाई आफ्नो खेलजीवनकै उत्कृष्ट दिनको संज्ञा दिएका छन्।

जोकोभिच अस्ट्रेलियन ओपनका कीर्तिमानी नौ पटकका विजेता हुन्। उनी १०औं पटक अस्ट्रेलियन ओपन जित्ने लक्ष्यमा छन्। यसअघि शनिबार ग्रिगोर दिमिट्रोभमाथि ७-६(९-७), ६-३ र ६-४ को जितसहित जोकोभिचले अस्ट्रेलियन ओपनको अन्तिम १६ मा स्थान पक्का गर्दा ह्यामस्ट्रिङको समस्याबाट पटकपटक मेडिकल सहायता लिनु परेको भन्दै उनले खस्कँदो स्वास्थ्य अवस्थाका कारण खेलजीवनबाट संन्यासको संघारमा रहेकाले हरेक जित विशेष हुने प्रतिक्रिया दिएका थिए।

सर्बियाका जोकोभिचको नाममा २१औं ग्रान्ड स्लाम छ। स्पेनका राफाइल नाडालको नाममा २२औं ग्रान्ड स्लामको कीर्तिमान छ। नाडाल सोमबार दोस्रो चरणमा पराजित भइसकेका छन्। यससँगै नाडालको उपाधि रक्षाको लक्ष्य विफल भएको थियो।

जोकोभिचले यसै वर्षबाट मात्र अस्ट्रेलियन ओपनमा पुनरामगन गरेका हुन्। कोभिड १९ विरुद्धको भ्याक्सिन नलाएको भन्दै जोकोभिच वर्षको पहिलो ग्रान्ड स्लाम खेल्न गत वर्ष मेनबर्न पुगे पनि अस्ट्रेलिया सरकारले उनलाई डिपोर्ट गरेको थियो।

विश्व वरीयताको शीर्ष १० मा रहेका राफाइल नाडाल, कास्पर रुड र टेलर फिर्टज दोस्रो चरणबाट बाहिरिसकेका छन्। विश्व नम्बर एक कार्लोस अल्भारेजले भने चोटका कारण प्रतियोगिताको पूर्वसन्ध्यामा नाम फिर्ता लिएका थिए। शीर्ष खेलाडीको हार र अनुपस्थितिले जोकोभिचको २२औं ग्रान्ड स्लामको कीर्तिमानसँग बराबरी गर्ने सम्भावनालाई बल पुगेको छ।

उनले सेमिफाइनल प्रवेशका लागि पाँचौं वरीयताका एन्ड्री रुभ्लेभसँग प्रतिस्पर्धा गर्नेछन्।

‘आज मलाई ह्यामिस्टिङको समस्याले सताएन,’ जोकोभिचले भने, ‘मलाई म पूर्ण रूपमा फिट छु जस्तो महसुस भयो। म मेरो मेडिकल टोलीलाई धन्यवाद दिन चाहन्छु। म राफाइल नाडालको कीर्तिमान बराबरी गर्ने संघारमा छु। तर अहिले नै म विजेता बन्छु भन्दै खुसीयाली मनाउनु धेरै हतार हुनेछ।’ अस्ट्रेलियन ओपन जितेमा जोकोभिच जुनपछि पहिलो पटक विश्व वरीयताको शीर्ष स्थानमा फर्कनेछन्।

प्रकाशित: १० माघ २०७९ ०४:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App