४ मंसिर २०८१ मंगलबार
image/svg+xml
खेल

ओलम्पिकप्रति क्रेजी बन्दै भारतीय

नयाँ दिल्ली- नयाँ दिल्लीको मध्यभागमा रहेको एउटा पार्कमा राखिएको ठूलो पर्दामा ओलम्पिकका खेल हेरिरहेका छन् मानिसहरू। भारतीय युवाहरू गफ गर्दै सेल्फी र पर्दा अगाडि फोटो खिचाउन उत्सुक देखिएका छन्। यस्तोे मौका साहसिक खेल हुँदा कहिलेकाहिँ मात्र आउने गर्छ युवाहरूका लागि।

भारत विश्वकै धेरै जनसंख्या भएको दोस्रो राष्ट्रको रूपमा परिचित छ। भारतको महत्वकांक्षा विश्वस्तरमा शक्तिशाली राष्ट्र बन्ने हो। तर त्यो ओलम्पिकमा देखिने गरेको छैन।

जब ओलम्पिकमा भारत सहभागी हुने गर्छ त्यहाँ एउटा सानो माछा जस्तो देखिँदै आएको यथार्थ छ। खेल नतिजालाई हेर्ने हो भने जनसंख्यामा धनी मानिएको देशमा खेल शून्यता जस्तो देखिन्छ।

सन् २०१२ को लन्डन ओलम्पिक भारतले स्वर्ण पदक जित्न सकेन। लन्डन ओलम्पिकमा भारतले ६ पदक जित्दा त्यसमा २ रजत र ४ कांस्य सामेल थियो। जुन एउटा पदकलाई भाग लगाउने हो भने २ सय लाख भारतीय बराबर हो।

जनसंख्यालाई आधार मान्ने हो भने ओलम्पिकमा खराब नतिजा हो। सरकारले सार्वजनिक रूपमा एउटा पर्दामा खेल हेर्न हौसला प्रदान गर्ने प्रयास गरेको छ। क्रिकेटको मुख्य प्रतियोगिता हुँदा त्यसरी प्रत्यक्ष रूपमा पर्दामा हेर्ने गरेपनि अन्य धेरै खेलहरू भने प्राथमिकतामा पर्ने गरेका छैनन्।

प्रत्यक्ष रूपमा ओलम्पिक खेल हेरिरहेकी विद्यार्थी अनुशा शर्माले क्रिकेट, फुटबल जस्ता खेलमा रुचि राख्ने गरेको बताइन्। उनले भनिन्, 'ओलम्पिक जस्तो प्रतियोगितामा मानिसले धेरै चासो राख्ने गरेका छैनन। मलाई लाग्छ उनीहरूलाई ओलम्पिकभन्दा क्रिकेट, फुटबल र अन्य सामानमा बढी चासो छ।'

दिल्ली सेन्टर पार्कमा साथीहरूसँग आएकी अनुशाले आफूलाई त्यहाँ ओलम्पिक देखाइएको छ भन्ने बारे  थाहा नभएको बताइन्। तर त्यही बाटो भएर जाने क्रममा ठूलो पर्दामा मानिसहरू झुम्मिरहेको देखेर रोकिएको उनले प्रस्ट्याइन्। त्यहाँ के भइरहेको छ भन्ने आफूलाई चासो लागेको अनुशाले बताइन्। उनले भनिन्, 'मलाई साँच्चिकै मनपर्‍यो। त्यसले मानिसलाई ओलम्पिक भनेको के हो भन्ने थाहा हुनेछ।'

पर्दामा खेलको इतिहासबारे चर्चा भइरहेको थियो। पर्दामा देखिने भारतीय खेलाडीसँग मानिसहरू सेल्फी लिने प्रयास गरिरहेका थिए। त्यसमा धेरै युवाले सेल्फी लिन चासो देखाइरहेका थिए। उनीहरू एकअर्कामा पनि सेल्फी खिचिरहेका थिए।

ब्राजिलको रियो ओलम्पिकमा भारतबाट १ सय १८ खेलाडीले भाग लिएका छन्। जुन संख्या ओलम्पिक इतिहासमा भारतले पठाएको अहिलेसम्मकै धेरै हो। युवा मन्त्रीले ओलम्पिक सुरु हुनु अघि १०पदक जित्ने लक्ष्य लिएको बताएका थिए।

तर ओलम्पिकमा खेल्ने खेलाडीले प्रशिक्षणको स्तर, सुविधा र सरकारको लगानीबारे गुनासो गरेका छन्। पछिल्लो दुई दशकमा देशले तीव्र रूपमा आर्थिक विकास गरेपनि खेलकुदमा सरकारको लगानी कम भएको उनीहरूले बताएका छन्।तीव्र गतिमा त्यो गति बढिरहेको भारतको जनसंख्या १.२५ अर्ब छ।

सेन्ट्रल पार्कका अर्का प्रत्यक्षदर्शी प्रखर श्रीवास्तवले भारतमा धेरै प्रतिभाशालीले अवसर नपाएको गुनासो गरे। उनले भने, 'भारतमा धेरै प्रतिभावान खेलाडी छन् तर उनीहरूलाई अगाडि बढाउने स्रोत छैन।' उनले भनेजस्तै क्रिकेट क्रेजी देशमा अन्य खेल धेरै पछाडि छ।

रियोओलम्पिकका लागि पनि ओलम्पिक एम्बेसडरका रूपमा क्रिकेटका नायक सचिन तेन्दुलकरसँगै बलिउड स्टार सलमान खानलाई रोजिएको छ।

सञ्चारविज्ञ प्रितम सिन्हा खेलका लागि सार्वजनिक चासोको कमी भएको बताउँछन्। खेलले देशको गौरव बढाएपनि त्यसमा उत्साह जगाउन नसकेको उनको भनाइ छ। सिन्हाले भने, 'विश्वकप क्रिकेट फरक छ। भारतमा क्रिकेटको क्रेज ओलम्पिकसँग तुलना गर्न सकिन्न।'

सिन्हा अगाडि भन्छन्, 'हामीलाई थाहा छ विश्वमा हामी जुनसुकै देशलाई हराउन सक्छौं। त्यही कारण हो हामी क्रिकेटलाई धेरै माया गर्छौं।'

प्रकाशित: २७ श्रावण २०७३ ०३:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App