२४ असार २०८१ सोमबार
image/svg+xml
खेल

'एल क्लासिको' डिसेम्बर र अप्रिलमा

मड्रिड- बार्सिलोना र रियाल मड्रिडबीच स्पेनिस फुटबलको 'एल क्लासिको'  डिसेम्बर र अप्रिलका लागि तय भएको छ। बहुप्रतीक्षित खेलका रूपमा हेरिने 'एल क्लासिको' को तय शुक्रबार २०१६/०१७ सिजनको ला लिगा खेलतालिका सार्वजनिक हुँदा भएको हो।

साबिक विजेता बार्सिलोनाले रियाललाई डिसेम्बर ४ मा नोउ क्याम्पमा आतिथ्यता गर्नेछ। त्यस्तै यी दुई टोलीबीच अप्रिल २३ मा रियालको मैदान बेर्नाबेउमा खेल हुने स्पेनिस फुटबल महासंघद्वारा सार्वजनिक खेलतालिका अनुसार छ। बार्सिलोनाले अगस्ट २१ मा रियाल बेटिससँग खेल्दै उपाधि रक्षाको अभियान थाल्नेछ।

त्यसअघि बार्सिलोनाले सेभियासँग स्पेनिस सुपर कपको दुई लेगको फाइनल खेल्नेछ। लिग विजेता र किङ्स कपको विजेताबीच सुपर कप फाइनल हुनेछ। लिग र कोपा डेल रेको नामले परिचित किङ्स कप दुवै एउटै क्लबले जितेको खण्डमा भने किङ्स कपको उपविजेताले सुपर कपफाइनल खेल्ने मौका पाउनेछ। गत सिजन दुवै उपाधि बार्सिलोनाले जितेको थियो भने कोपा डेल रेमा सेभिया दोस्रो भएको थियो। यी दुईबीचको पहिलो लेग अगस्ट १४ मा हुनेछ भने त्यसको तीन दिनपछि बार्सिलोनाको मैदानमा प्रतिस्पर्धा हुनेछ।

ला लिगका उपविजेता रियाल मड्रिडले रियाल सोसिडाडसँग खेल्दै नयाँ सिजनसुरु गर्नेछ। जिनेदिन जिदानले प्रशिक्षकका रूपमा पहिलोपटक सिजनसुरु गर्दैछन्। उनी गतवर्ष सिजनको बीचमा प्रशिक्षक नियुक्त भएका थिए। उनको नेतृत्वमा रियालले च्याम्पियन्स लिग उपाधि जितेको थियो।

१० वर्षपछि माथिल्लो लिगमा फर्केको डेपोर्टिभो अल्भासले पहिलो खेल एट्लेटिको मड्रिडसँग खेल्नेछ। एट्लेटिकोले लिगको पाँचौं चरणमा सेप्टेम्बर २१ मा बार्सिलोनाभ्रमण गर्नेछ। त्यस्तै फेब्रुअरी २६ मा बार्सिलोना एट्लेटिको मैदान काल्डेरोनमा उत्रनेछ। रियाल र एट्लेटिकोबीचको 'डर्बी' को पहिलो खेल नोभेम्बर २० र अर्को खेल अप्रिल ७ मा हुनेछ।

यो सिजन बढुवा भएको अर्को टोली सिडी लिगान्सेले अगस्ट २१ मा ओसासुनासँग खेल्नेछ। बढुवा हुने तेस्रो टोली ओसासुनाले पहिलो खेल मालागासँग खेल्नेछ।

प्रकाशित: १ श्रावण २०७३ ०३:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App