२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
खेल

कुरान इतिहासकै महँगा

इङ्ल्यान्डका अलराउन्डर साम कुरान इन्डियन प्रिमियर लिग (आइपिएल) इतिहासकै सर्वाधिक महँगा खेलाडी बनेका छन्।

कुरानलाई शुक्रबार पन्जाब किङ्सले १८ करोड ५० लाख भारुमा भित्र्याएको हो। इङ्ल्यान्डलाई  ट्वान्टी-२० क्रिकेट विश्वकपको उपाधि जिताउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका खेलाडी कुरानलाई टोलीमा भित्र्याउन सबै क्लब इच्छुक देखिएका थिए। यसअघि दक्षिण अफ्रिकाका तीव्र गतिका बलर क्रिस मोरिस आइपिएलका सर्वाधिक महँगा खेलाडी थिए। उनलाई सन् २०२१ मा राजस्थान रोयल्सले १६ करोड २५ लाख भारुमा अनुबन्धित गरेको थियो।

कुरान ट्वान्टी-२० विश्वकप क्रिकेटका सर्वोत्कृष्ट खेलाडी थिए। इङ्ल्यान्डबाट अन्तिम ओभरमा बलिङ गर्न आउँदा उनी निकै प्रभावकारी देखिएका थिए। उनी यसअघि चेन्नई सुपर किङ्समा अनुबन्धित थिए। उनी नयाँ सिजनका लागि फुकुवा भएका थिए। उनले ढाडको चोटका कारण २०२२ को आइपिएल गुमाएका थिए।

भारतको दक्षिणी सहर कोचीमा शुक्रबार सम्पन्न आइपिएल अक्सनमा ४ सय खेलाडीको बोलकबोल भएको थियो। विश्वकै सर्वाधिक महँगो लिगका रूपमा रहेको आइपिएल विश्वका शीर्ष खेलाडीको प्राथमिकतामा पर्दै आएको छ। जुनमा मात्र भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) ले आइपिएलको पाँच संस्करणका लागि ६.२ बिलियन डलरमा प्रसारण अधिकार बिक्री गरेको थियो।

१० फ्रेन्चाइज टोलीले ७४ खेल खेल्नेछन्। गत संस्करण गुजरात किङ्सले आइपिएल जितेको थियो। आइपिएलमा आएको पहिलो सिजनमै गुजराज च्याम्पियन भएको थियो। मुम्बई इन्डियन्स आइपिएलको सर्वाधिक धनी र सफल क्लब हो। जसले पाँच पटक आइपिएल उपाधि जितेको छ।

आगामी मार्चमा पाँच फ्रेन्चाइज टोली सहभागी रहने महिलातर्फको आइपिएल पनि आयोजना हुँदै छ।

प्रकाशित: ९ पुस २०७९ ०१:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App