९ आश्विन २०८१ बुधबार
image/svg+xml
खेल

मोरक्कोलाई क्लब विश्वकप आयोजनाको जिम्मेवारी

विश्व फुटबलको प्रशासकीय निकाय फिफाले कतार विश्वकपको सेमिफाइनलसम्म यात्रा तय गर्ने पहिलो अफ्रिकी राष्ट्र मोरक्कोलाई पुरस्कारस्वरूप क्लब विश्वकप आयोजनाको जिम्मेवारी दिएको छ।

सन् २०२५ देखि ३२ टोलीको प्रतिस्पर्धामा बढाउन लागिएको क्लब विश्वकप आगामी फेब्रुअरीमा हुँदै छ। युरोपियन च्याम्पियन रियाल मड्रिड, दक्षिण अमेरिकन च्याम्पियन फ्लेमिङ्गो र उत्तर अमेरिकन च्याम्पियन सिएटल साउन्डर्ससहित सात टोली सम्मिलित प्रतियोगिता फेब्रुअरी १ देखि ११ सम्म हुनेछ। कतार विश्वकपको सेमिफाइनलमा पुगेपछि फिफाले मोरक्कोलाई विश्व फुटबलको अर्को ठूलो प्रतियोगिता आयोजना गर्न दिने जिम्मेवारी सुम्पिएको छ।  

क्लब विश्वकप फुटबल आयोजना आउन ६ हप्ता मात्र बाँकी छँदा फिफाको रुलिङ काउन्सिलले यो निर्णय गरेको छ। महादेश च्याम्पियन सात टोलीले प्रतिस्पर्धा गर्ने यो अन्तिम क्लब विश्वकप हुनेछ। सन् २०२५ बाट यसलाई एक महिना लामो प्रतियोगिताका रूपमा विस्तार गरिँदै छ। फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले यो परिवर्तन गर्नुको पछाडि क्लब विश्वकपलाई विश्वकपजस्तै बनाउने योजना रहेको बताएका छन्।  

मोरक्कोको कासाब्लान्काको सहरकै दुईवटा टोलीले १० दिने क्लब विश्वकपमा प्रतिस्पर्धा गर्दै छन्। ६ महादेशका च्याम्पियनले क्लब विश्वकपमा प्रतिस्पर्धा गर्ने परम्परा छ। मोरक्कोकै क्लब वाइदादले गत संस्करण अफ्रिकी च्याम्पियन्स लिग र मोरक्कन लिग जितेको थियो। फिफाले आयोजक राष्ट्रबाट एक टोली राख्ने प्रावधान छ। त्यस कारण मोरक्कोकै अर्को क्लबले क्लब विश्वकपमा प्रतिस्पर्धा गर्न पाउनेछ। गत वर्ष घरेलु लिगमा दोस्रो भएको राजाले क्लब विश्वकप खेल्ने भएको छ। वाइदाद र राजा दुवै कासाब्लान्का सहरका क्लब हुन् र यी दुवैले ६७ हजार दर्शक क्षमता रहेको स्टेड मोहम्मद ‘भी’ मा खेल्ने गर्छन्।  

मोरक्कोले यसअघि नै सन् २०१३ र २०१४ को क्लब विश्वकप आयोजना गरेको थियो, जहाँ बायर्न म्युनिख र रियाल मड्रिड क्रमशः च्याम्पियन भएका थिए। सन् २००५ मा पुनर्जीवित भएयता युरोपियन र दक्षिण अमेरिकी क्लबले मात्र क्लब विश्वकपको उपाधि जितेका छन्। त्यस्तै फिफा क्लब विश्वकपलाई २४ देखि ३२ टोली सम्मिलित प्रतियोगिताका रूपमा विस्तार गर्ने योजनामा छ, जसलाई जुन महिनामा खेलाइँदै छ। यो योजनाको सुरुआत सन् २०२१ मा नै चीनमा गर्ने फिफाको योजना थियो। तर, कोभिड–१९ महामारीका कारण त्यो सम्भव हुन सकेन।  

तथापि, ब्रोडकास्ट र प्रायोजकसँगको सम्झौतामा यो कस्तो फम्र्याटमा खेलाइने भन्नेबारे उल्लेख भने छैन। सन् २०२५ को योजनामा रहेको इन्फान्टिनोको भनाइ छ र त्यसका लागि सरोकारवालासँग छलफलका साथै रुलिङ काउन्सिलले सैद्धान्तिक काम गर्न बाँकी रहेको उल्लेख गरेका छन्। क्लब विश्वकपको परिमार्जित संस्करण अमेरिकामा हुने सम्भावना छ।  

कतार विश्वकपको सेमिफाइनलमा पुगेपछि फिफाले मोरक्कोलाई विश्व फुटबलको अर्को ठूलो प्रतियोगिता आयोजना गर्न दिने जिम्मेवारी सुम्पिएको छ।

प्रकाशित: २ पुस २०७९ ०२:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App