८ वैशाख २०८१ शनिबार
खेल

एसएलसी नतिजाः खेलाडी पढाइमा पनि अब्बल

काठमाडौं-खेलमा जस्तै पढाईमा पनि नेपाली खेलाडी अब्बल देखिएका छन्। एसएलसको परीक्षामा खेलाडीले पाएको सफलताले यस्तै संकेत गरेको छ।

न्यु डायमन्ड एकेडेमीकी भलिबल खेलाडी सबिता ‘लो’, पनमिका राई र १२औं सागमा नेपालको लागि स्वर्ण पदक जितेकी निमा घर्ती मगरले एसएलसी परीक्षा उत्तीर्ण गरेका छन्। सबिताले जीपिए ‘ए’ प्लस (३.७५), पनमिकाले ‘ए’ (३.२५) र निमाले ‘बी’ प्लस २.८ प्राप्त गरेकी छिन्। भारतमा भएको सागमा नेपाललाई पहिलो स्वर्ण दिलाएकी निमाले प्रतियोगिताको तयारीका कारण एसएलसीको नतिजा राम्रो हुन नसकेको बताईन्।

यसैगरी सबिताले भलिबल सँगै पढाईमा राम्रो गर्ने कोसिस गर्ने बताईन्। डायमन्डका प्रशिक्षक कुमार राईले एसएलसीमा उत्कृष्ट नतिजा ल्याउने खेलाडीलाई एकेडेमीले छात्रवृति प्रदान गर्ने बताए। उनले भने, ‘हामी खुसी छौं, खेलकुदमा राम्रो नतिजा निकाल्न धेरै समय अभ्यासमा खर्चनु पर्छ। कहिलेकाँही पढाईभन्दा खेललाई अगाडी राखेर काम गर्नु पर्छ। तर पनि हाम्रा खेलाडीले पढाईमा राम्रो नतिजा ल्याएका छन्। उनीहरुको प्रोत्साहनको लागि उच्च शिक्षा अध्ययनमा एकेडेमीले सहयोग गर्नेछ।’

तीन वर्षदेखि डायमन्ड स्कुलको टोलीबाट खेलिरहेकी सबिता टोलीको क्विक स्पाइकर र ब्ल्कर हुन्। गतवर्ष टोलीकी मुख्य स्पाइकर रमिता तन्डुकारले नेपालगन्जमा डायमन्ड टोलीबाट दोस्रो पिएम कप भलिबल नखेल्ने निर्णय गरेपछि सबिता टोलीमा परेकी थिइन्।

डायमन्डले गत वर्ष लामाचौरमा भएको खुला राष्ट्रिय भलिबल, दोस्रो पिएम कप र जावलाखेलमा भएको शेरबहादुर खड्का स्मृती खुला राष्ट्रिय भलिबलमा दोस्रो स्थानमा हात पार्दा सबिता टोलीको पहिलो रोजाइबाट खेलेकी थिइन्।
मिडिल ब्लकर सबिता मकवानपुर पालिङकी खेलाडी हुन्। यसैगरी डायमन्ड भलिबल टोलीकी ओपन स्पाइकर पनमिका राईले पनी एसएलसी परिक्षामा ए (३.२५) प्राप्त गरेकी छिन्। पनमिका र प्रतिभा मालीले डायमन्डको मुख्य स्पाइकरको जिम्मेवारी निर्वाह गर्ने गरेको छन्।

डायमन्डले जितेको सर्वाधिक ठूला प्रतियोगिता एनभिए कप क्लब च्याम्पियनसिप जित्दा पनमिका टोलीको ओपन स्पाइकबाट खेलेकी थिइन्। डायमन्डका प्रशिक्षक कुमार राईले खेलाडीले एसएलसीमा ल्याएको नतिजाले अन्य नयाँ खेलाडीको हौसला बढाएको बताए। उनले भने, ‘डायमन्डले भलिबलमात्र खेल्न सिकाउँछ भन्ने हामीलाई आरोप लाग्छ। तर हामी खेलसँगै खेलाडीलाई पढाईमा राम्रो गर्ने हौसला दिन्छौं। एसएलसीको नतिजाले भविष्यको खेल करियरलाई सहयोग गर्छ।’

प्रशिक्षक राईले एसएलसीमा उत्कृष्ट अंक प्राप्त गर्ने खेलाडीलाई उच्च शिक्षामा स्कुलले सहयोग गर्ने बताए। यसअघि डायमन्डकी कृपा अधिकारीले दुइ वर्ष अघिको एसएलसी परीक्षामा ८९.२५ प्रतिशत अंक प्राप्त गरेकी थिइन्। कृपा राष्ट्रिय टोलीकी सेटर पनि हुन्।

प्रकाशित: ४ असार २०७३ ०८:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App