२१ असार २०८१ शुक्रबार
image/svg+xml
खेल

ए डिभिजन लिग समयमै हुनेमा आशंका, क्लवहरु भन्छन्ः डबल लिग काठमाडौं बाहिर खेल र लिग अवधि ६ महिना हुनैपर्छ

अखिल नेपाल फुटबल संघ (एन्फा) ले फुटबलको मेरुदण्ड मानिने शहीद स्मारक ए डिभिजन लिग पुस २६ बाट आयोजना गर्ने निर्णय गरिसकेको छ। महिना दिन बाँकी रहेको अवस्थामा सहभागि हुने क्लवले अहिलेसम्म दर्ता गराएका छैनन्। 

अघिल्लो संस्करणको वक्यौता रकम बाँकी रहेको अवस्थामा क्लवले सहभागिता जनाउन चाहिरहेका छैनन्। सहभागि हुने क्लवलाई एन्फाले पुस पहिलो साता भित्र क्लव दर्ता गराएर पहिलो किस्ताको तयारी खर्च लिन पत्राचार गरेपनि प्राविधिक हिसावमा भने क्लवहरु तयारी नपुगेको भन्दै चिन्तित छन्। यसले निर्धारित मितिमा नै लिग हुन्छ भन्नेमा अन्योलता भएको छ।

शहीद स्मारक ए डिभिजन लिग घोषित मितिमा नै गर्न अखिल नेपाल फुटबल संघ (एन्फा) ले क्लवलाई पत्राचार गरिसकेको छ। पुस पहिलो साता भित्र दर्ता गराए लिग तयारी खर्च दिने भनिए पनि क्लवले अघिल्लो संस्करणको लिगको वक्यौता रकम दिन माग राख्दै दर्तालाई विलम्व गरिरहेका छन्। वक्यौता रकम नपाएको भन्दै केही साता अघि मात्र केही अधिकांश क्लवले एन्फामा रकम भुक्तानीको ज्ञापन पत्र बुझाएका थिए। तिनै मध्येको संकटा क्लवका अध्यक्ष इन्द्रमान तुलाधरले एन्फाबाट पठाएको पत्र अनुसार तयारी खर्च उपलब्ध गराएको अवस्थामा क्लव दर्ता गर्न तयार भएको बताए। सधैँ लिग आयोजना गर्दा ठूलो मात्रामा रकम खर्च हुने गरेको र छुट्टयाएको रकम समयमा पाउन नसक्दा क्लव सञ्चालनमा समस्या भएको बताए। उनले एन्फा र क्लवबीच डबल लिग, काठमाडौं भन्दा बाहिर लिग आयोजना र कम्तीमा पनि ६ महिना लिग सञ्चालनको अवधि निश्चित भएको खण्डमा मात्रै आफूहरु लिग खेल्न तयार भएको बताए। अध्यक्ष तुलधारले तोकिएको मितिमा लिग हुन प्राविधिक हिसावमा कठिन हुने भएकाले लिग नहुनेमा क्लव चिन्तित भएको बताए।

एन्फाले भने निर्धारित मितिमा नै लिग सञ्चालनका लागि क्लव दर्ता गर्दै प्रक्रिया पूरा गरेर तयारी खर्च लिनका लागि आह्वान गरेको छ। एन्फाका महासचिव किरण राईले पुरानो वक्यौता भुक्तानीका लागि प्रक्रिया अगाडि बढीसकेको बताए। त्यसका लागि एन्फाले मंसिर २३ सहभागि हुने सबै क्लवलाई पत्राचार गरेको र पुस पहिलो साता भित्र प्रक्रिया पूरा गरे क्लव दर्ता गरेर पहिलो किस्ताको रकम लिन आग्रह गरे। यससँगै लिगको विषयमा रहेको अन्योलता हटेको महासचिव राईले बताए।

पछिल्लो समय फुटबल गतिविधि नहुँदा खेलाडीहरु विकल्पका बाटो रोजिसकेका छन्। केही खेलाडी व्यवसायिक फुटबलका लागि विदेशीएका छन् भने केही खेलाडीले फरक विधामा भविष्य खोजिरहेका छन्। मोफसलमा आयोजना हुँदै आएका प्रतियोगिता पनि एन्फाको क्यालेण्डरमा आयोजना हुन मुस्किल भइरकेको छ। सोही अवस्थामा विश्वभर फैलिएको कोरोना महामारीले अन्य क्षेत्रमा जस्तै फुटबलमा पनि व्यापक असर ग¥यो। एन्फामा पंकजविक्रम नेम्वाबको नेतृत्वमा नयाँ कार्यसमिति आएपनि निर्वाचनका बेलामा बाँडिएका एजेण्डा अनुसार फुटबलमा कामले गति लिनसकेको छैन। आफ्नो जीवन नै खेलमा समर्पण गरेका खेलाडीलाई फुटबल गतिविधि नहुँदा कठिन हुँदै गएको छ। 

मुस्किलले केही महिना मात्र हुने फुटबलले खेलाडीलाई बाँच्न गाह्रो भएको र विकल्पको बाटो रोज्नुपर्ने बाध्यता भएको नेपाली टोलीका पूर्व सदस्य विक्रम लामा बताउनु हुन्छ। पूर्व राष्ट्रिय खेलाडी लामाले फुटबलमा जीवनयापन गरीरहेका खेलाडी र फुटबल विकासका लागि घरेलु लिग व्यवस्थित र परिमार्जित हुनुपर्ने माग राखे।

क्लव र फुटबल संघको विवादले फुटबलको मेरुदण्ड मानिने लिग अहिले दुविधामा छ। फुटबल संघले निर्धारित समयमा नै लिग सञ्चालनको वाचा राखेपनि क्लवको मागले यसलाई दुविधामा पु¥याएको हो। यस्तै अवस्थामा खेलाडी लामाले क्लव, खेलाडी र संघले आपसी समझदारीबाट फुटबल सञ्चालनमा ध्यान दिनुपर्ने सुझाव दिए। फुटबल भित्रको समस्या समग्र नेपाली फुटबलको समस्या भएको भन्दै असमझदारीका विषयलाई टुब्ग्याउँदै फुटबल सुचारु गर्न माग गरे।

खेलाडीको अधिकार भनेको फुटबल खेलेर देशको प्रनिधित्व गर्ने भएको भन्दै लामाले स्वच्छ वातावरणमा फुटबल उपलब्ध गराउन जिम्मेवारी निकाकयसमक्ष आग्रह गरे।

पछिल्लो संस्करणको शहीद स्मारक ए डिभिजन लिग सकिएको झन्डै वर्ष दिन भइसेको छ। यो बीचमा संघमा नयाँ कार्यसमितिको प्रवेश भयो। तरपनि फुटबलको समस्या समाधानमा नयाँ नेतृत्व उदासीन देखिन्छ। यस्तो अवस्थामा लिग आयोजना गर्न आवश्यक रकम जुटाउन एन्फाले राष्ट्रिय खेलकुद परिषद् र अन्य निकायसँग सहयोगको अपिल गरेको छ। मुख्य प्रायोजकको रुपमा रहेको कतार एयरवेजले हात निकाल्दा एन्फा आर्थिक रुपमा संकटमा छ। आपसी खिचातानीमा रुमलिएको एन्फा नेतृत्व र कठिन आर्थिक अवस्थाले लिग समयमा नै नहुने प्रश्न पनि उत्तिकै छ।

प्रकाशित: २५ मंसिर २०७९ १०:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App