१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

नेइमारको उपलब्धताबारे सबैलाई चासो

ब्राजिलले सोमबार कतार विश्वकपको अन्तिम १६ मा दक्षिण कोरियाविरुद्ध प्रतिस्पर्धा गर्दा स्टार खेलाडी नेइमार प्रशिक्षक टिटेको टोलीमा हुन्छन् या हुँदैनन् भन्ने सबैको चासो रहनेछ।  

पाँच पटकको विश्वच्याम्पियन ब्राजिलले समूहचरणका पछिल्ला दुई खेल नेइमारबिना नै खेलेको थियो। सर्बियाविरुद्धको पहिलो खेलमा चोट बोकेपछि उनी मैदानबाहिर रहँदै आएका छन्। नेइमारबिनाको ब्राजिलले सन् १९९८ पछि पहिलो पटक समूहचरणमा हार बेहोर्दा क्यामरुनलाई १–० ले नजिता सुम्पिन पुग्यो। कतार विश्वकप सुरु हुनुअगाडि उपाधि दाबेदारका रूपमा हेरिएका केही राष्ट्रमध्ये एक ब्राजिल पनि हो, जो छैटौं पटक विश्वविजेता बन्ने लक्ष्यमा पनि छ। तर, ब्राजिलको प्रदर्शन च्याम्पियन शैलीको भने छैन।  

तथापि, ब्राजिल समूहविजेताका रूपमा नकआउट चरणमा आएको हो। स्टार स्ट्राइकरका बावजुद ब्राजिलले समूहका तीन खेलमा तीन गोल मात्र ग¥यो। जुन आँकडा उसका लागि सन् १९७८ को विश्वकपपछि सबैभन्दा खराब हो। त्यसमाथि लगातार चोटको समस्याले ब्राजिललाई सताएको छ। क्यामरुनसँगको खेलमा चोट बोकेपछि अर्का स्ट्राइकर गाब्रियल जिसस पनि घर फर्किएका छन्। शनिबार नेइमार अभ्यासमा सहभागी भएकाले उनी दक्षिण कोरियाविरुद्ध टोलीमा फर्किने सम्भावना देखिएको छ।  

‘नेइमार टोलीमा फर्किएपछि सिंगो टोलीमा नै सुधार आउनेछ,’ सर्बियाविरुद्ध दुई गोल गरेका रिचार्लिसनले भने, ‘उनी फर्किन्छन् भन्नेमा आशावादी छु। उनी अझ उत्कृष्ट फर्किनेछन्।’ पेपरमा भएका खेलाडी हेर्ने हो भने ब्राजिल एसियन प्रतिद्वन्द्वी दक्षिण कोरियामाथि पूर्ण रूपमा हाबी हुनेछ। तर, नतिजा प्रदर्शनमा निर्भर रहन्छ, जुन कोरियाले समूहचरणमा आफूलाई प्रमाणित गरिसकेको छ। दक्षिण कोरियाले समूहमा युरोपका स्टार खेलाडीले भरिएको पोर्चुगललाई स्तब्ध बनाउँदै अन्तिम १६ मा स्थान बनाएको हो।  

समूहकै खेलमा उरुग्वेलाई रोकेको दक्षिण कोरिया अर्को दक्षिण अमेरिकी टोली ब्राजिलका लागि चुनौती बन्न सक्छ। कोरियाले दोहाको ९७४ रंगशालामा ब्राजिललाई हराएमा क्वार्टरफाइनलमा क्रोएसिया या जापानलाई प्रतिद्वन्द्वीका रूपमा पाउनेछ। कोरियाले थप दुई विजयी यात्रा लम्बाउँदा सेमिफाइनलमा अर्जेन्टिनाको सामना गर्नेछ। तर, त्यसका लागि अर्जेन्टिनाले पनि क्वार्टरफाइनल खेल जित्नुपर्नेछ। अस्ट्रेलियामाथि जित निकाल्दै अर्जेन्टिना शनिबार नै क्वार्टरफाइनलमा पुगिसकेको छ।

यस विश्वकपको नकआउट चरणमा पुग्ने दोस्रो कम फिफा वरीयताको टोली हो, दक्षिण कोरिया। पाउलो बेन्टोको कोरियालाई ठूला राष्ट्रमाथि कसरी जित निकाल्ने भन्ने अनुभव पनि भइसकेको छ। ‘कोरिया निकै आक्रामक र बलियो टोली हो। त्यसैले उनीहरूविरुद्ध गल्ती गर्ने छुट हुने छैन,’ रिचार्लिसनले भने। गत जुनमा सिओलमा भेट हुँदा ब्राजिलले दक्षिण कोरियामाथि ५–१ ले जित रचेको थियो, जहाँ नेइमारले दुई गोल गरेका थिए। ब्राजिलले पछिल्ला सात खेलमा २६ गोल गरेको छ।  

तर, चोटले सताएको अंग्रपक्ति दक्षिण कोरियाविरुद्ध सफल हुन्छ कि हुँदैन भन्ने प्रश्न छ। रक्षापंक्तिमा पनि ब्राजिलले चोटका कारण एलेक्स टेलेसलाई गुमाइसकेको छ। उनले क्यामरुनसँगको खेलमा एलेक्स सान्ड्रोको स्थानमा खेलेका थिए। सान्ड्रो र अर्का डिफेन्डर डानिलो पनि चोटबाट फर्किएका हुन्। त्यसैले सन ह्युङ मिनका साथै दक्षिण कोरियाको अग्रपंक्ति ब्राजिलको डिफेन्सका लागि चुनौती बन्न सक्नेछ।  

सोमबार अर्को खेलमा जापान र क्रोएसियाबीच अन्तिम १६ को प्रतिस्पर्धा हुँदै छ। क्रोएसिया सन् २०१८ को रूस विश्वकपको उपविजेता हो। गत संस्करण क्रोएसियालाई फाइनलसम्म यात्रा तय गराउन महŒवपूर्ण भूमिका खेलेका सदस्य लुका मोड्रिच पनि अहिले टोलीमा छन्।

रियल मड्रिडका ३७ वर्षे मिडफिल्डर मोड्रिचले बेल्जियमसँग क्रोएसिया गोलरहित बराबरीमा रोकिँदा ९० मिनेटमा खेल्दै आफू अहिले पनि फिट रहेको प्रमाणित गरेका थिए। उनकै कप्तानीमा क्रोएसियाले सफलता निकाल्दै अन्तिम १६ को यात्रा तय गरेको हो। उनको यो सफलताले केसम्म सम्भव हुन्छ भन्ने सन्देश युवा खेलाडीलाई पनि दिएको छ। सन् २०१८ को बालन डि’ओर विजेता तथा पाँच पटक च्याम्पियन्स लिग विजेता मोड्रिचले आफ्नो खेलमार्पmत युवा खेलाडी माझ राम्रो उदाहरण नै दिएको क्रोएसियाका डिफेन्डर जोसिफ जुरानोभिचको बुझाइ छ।

उनै २७ वर्षे जुरानोभिचले पनि तीनै खेलमा ९० मिनेट नै मैदानमा बिताएका थिए। फिटनेसमा क्रोएसियाका केही खेलाडी आफूलाई प्रमाणित गरेको छ। अनुभवी मोड्रिच र युवा टोलीले जापानविरुद्ध पनि राम्रो प्रदर्शन गर्नेमा दुई मत छैन। ‘हामीमा जितको मानसिकता छ,’ क्रोएसियाका मिडफिल्डर लोभ्रो माजेरले भने, ‘त्यसमाथि पनि हामीसँग अनुभवी र युवा खेलाडी मिश्रित बलियो टोली छ। त्यसैले जापानविरुद्ध राम्रो नतिजा निकाल्नेछौं।’ जारी विश्वकपमा चुस्त र सटीक पासमा मोड्रिच अग्रस्थानमा देखिएका छन्।  

जापानविरुद्ध पनि उनले स्वाभाविक प्रदर्शन गर्नेछन्। सन् १९९१ मा स्वतन्त्र राष्ट्र भएपछि क्रोएसियाले एक पटक मात्र सन् २०१० को दक्षिण अफ्रिकाको विश्वकप गुमाएको थियो। सन् १९९८ मा नै विश्वकपको सेमिफाइनलमा क्रोएसिया फ्रान्ससँग स्तब्ध भएको थियो। जुन, चोट क्रोएसियाले गत विश्वकपको फाइनलमा पनि फ्रान्सबाट बेहोर्नुप¥यो। यो पटक पनि क्रोएसियाले जित जारी राखेमा फाइनलमा नै फ्रान्सलाई पाउनेछ। तर, त्यसका लागि सोमबार जापानको चुनौती पार गर्नुपर्नेछ।

प्रकाशित: १९ मंसिर २०७९ ०२:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App