४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
खेल

जापानले गुमायो अवसर

कोस्टारिकाले आइतबार कतार विश्वकप २०२२ मा जापानमाथि १–० को जितसँगै समूह ‘इ’ बाट नकआउट चरणको प्रवेश सम्भावना जीवित राखेको छ।

जापानले समूहचरणको पहिलो खेलमा जर्मनीमाथि २–१ को जितसहित अन्तिम १६ मा प्रवेश गर्ने दौडमा अघि बढेको थियो। तर, दोस्रो खेलमा कोस्टारिकासँग पराजित भएसँगै सतप्रतिशत नतिजासहित अघिल्लो चरण प्रवेश गर्ने जापानको लक्ष्यले पूर्णता पाएन। समूह चरणमा दुई खेलको समाप्तीपछि जापान तीन अंकसहित दोस्रो स्थानमा छ। कोस्टारिकाको पनि समान दुई खेलबाट समान तीन अंक नै छ।

जापानलाई समूह चरण पार गर्न बिहीबार हुने अन्तिम खेलमा स्पेनमाथि जित निकाल्नै पर्ने दबाब थपिएको छ। कोस्टारिकाले भने अन्तिम खेलमा जर्मनीको सामना गर्नेछ। यता पहिलो खेलमा स्पेनलाई ७–० को फराकिलो नतिजा सुम्पिएको कोस्टारिकाले भने जापानमाथि निकालेको जितले अन्तिम १६ प्रवेशको सम्भावना पनि जीवितै राख्यो। खेल सकिन ९ मिनेट बाँकी रहँदा किसेर फुलरले गरेको गोल कोस्टारिकाको जितमा पर्याप्त बन्यो।

‘हामीले स्पेनविरुद्ध निकै खराब प्रदर्शन गरेका थियौं र त्यसैले फराकिलो हार बेहोर्नु पर्‍यो,’कोस्टारिकाका प्रशिक्षक लुइस फर्नान्डो स्वारेजले भने। जापानका प्रशिक्षक हाजेमी मोरियासुले कोस्टारिकासँगको हार दुर्भाग्य भए पनि आफूहरूले समूहचरण पार गर्नेमा विश्वस्त रहेको बताए।

‘अन्तिम खेलमा स्पेनको सामना गर्नु कठिन हो। तर, हामी सो खेल जित्दै अन्तिम १६ मा प्रवेश गर्नेमा विश्वस्त छौं। हामी जर्मनीविरुद्धको खेलजस्तै स्पेनविरुद्ध पनि उच्च मनोबलका साथ मैदान उत्रनेछौं,’उनले भने। प्रशिक्षक मोरियासुले जर्मनीविरुद्ध जित निकालेको खेलमा उतारेको टोलीमा आइतबार कोस्टारिकाविरुद्ध पाँच खेलाडी परिवर्तन गरेका थिए। मोरियासुले आफ्नो टोलीले राम्रो प्रदर्शन गरे पनि नतिजा सुम्पिनुपरेको बताए।

यद्यपि, उनले खेलाडी थकित भएर पहिलो रोजाइमा परिवर्तन गरिएको भन्दा पनि उनीहरूको क्षमता र टोलीको आवश्यकताअनुसार अवसर दिइएको उल्लेख गरे। ‘पक्कै पनि पहिलो हाफमा कोस्टारिकाभन्दा हामी माथि थियौं। तर, हामीले पाएका अवसरलाई गोलमा परिणत गर्न सकेनौं,’उनले भने, ‘आज हामीसँग जितसहित एक खेल अगावै नकआउट चरणमा स्थान बनाउने अवसर थियो। सायद, त्यसको दबाबमा टोलीले स्वभाविक लयभन्दा निकै तलको प्रदर्शन गर्‍यो।’

प्रकाशित: १२ मंसिर २०७९ ०१:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App