२१ जेष्ठ २०८१ सोमबार
image/svg+xml
खेल

आयोजक कतार र इक्वेडर भिड्दै

आलोचना र विवादका बीच कतार विश्वकप

 मानव अधिकारको उल्लंघन, आप्रवासी कामदारप्रतिको व्यवहार र समलिंगी विवाहलाई मान्यता दिएसँगै कतारको आलोचना भैरहेको थियो। त्यसमाथि स्टेडियममा मादकपदार्थ सेवनमा प्रतिबन्ध लगाएपछि कतारको आलोचना थपिएको छ।

एकपछि अर्कोे विवादसँगै विश्वकप २०२२ को आयोजक कतार अनावश्यक दबाबमा परेको छ। कतारले आइतबार समूह ‘ए’ मा इक्वेडरविरुद्धको खेलसँगै विश्वकप २०२२ को यात्राको थालनी गर्नेछ। तर, शुक्रबार स्टेडियममा मादक पदार्थको बिक्रीमा रोक लगाउने निर्णयले सबैभन्दा बढी दबाब थपिदिएको छ। विश्वकपको सफल आयोजनासँगै कतार विश्वमा आफ्नो छबी प्रमाणित गर्न चाहन्छ। कतारले यस अघि विश्वकपमा सहभागीता जनाएको पनि छैन। घरेलु मैदानमा आयोजना हुने विश्वकप नै कतारका लागि पहिलो सहभागिता हो। कतारको लक्ष्य समूहचरण पार गर्ने रहेको छ। यस समूहमा कतार र इक्वेडरसँगै सेनेगल र नेदरल्यान्ड्स छन्।

दक्षिण अफ्रिका सन् २०१० को विश्वकपमा समूह चरणबाट माथि उठ्न सकेको थिएन। विश्वकप इतिहासमा घरेलु टोली समूह चरणबाट माथि उठ्न नसकेको त्यो नै पहिलोपटक हो। त्यसैले समूहचरण पार गर्नु नै कतारको एक मात्र लक्ष्य छ। कतार सन् २०१० मा दक्षिण अफ्रिकाले भोगेको नियती भोग्न चाहदैन। फिफा वरीयतामा कतार ५०औं स्थानमा छ, त्यसैले आइतबार आफूभन्दा पाँच वरीयतामाथि रहेको इक्वेडरविरुद्ध जितसँगै विश्वकप यात्राको सुखद सुरुआत गर्न चाहन्छ।

कतारले धेरै वर्षअघिबाटै विश्वकप २०२२ को तयारी सुरु गर्दै आएको थियो। विश्वकपको तयारी स्वरूप नै कतारले अतिथी टोलीको रूपमा सन् २०१९ को कोपा अमेरिका र सन् २०२१ को कान्काकाफ गोल्ड कपमा सहभागिता जनाएको थियो। तर, सन् २०१९ मा जापानमाथि जितसहित एसिया कप जितेपछि मात्र कतार विश्व फुटबलमा उदाउँदो शक्तिको रूपमा आएको हो। त्यस सफलताले कतार घरेलु मैदानमा हुने विश्वकपमा समूह चरण पार गर्ने लक्ष्यले पूर्णता पाउनेमा विश्वस्त बन्दै आएको छ।

सन् २०१७ देखि कतारी टोलीको प्रशिक्षण फेलिक्स सान्चेजले सम्हालिरहेका छन् र एसिया कपमा कतारले निकालेको सफलतामा सान्चेज सबैभन्दा मुख्य पात्र हुन्। त्यस अघि सान्चेजले कतारको यु–१९ टोलीको प्रशिक्षण सम्हालेका थिए।

४६ वर्षे सान्चेज एसिया कपमा पाएको सफलताले मनोबल बढेको भए पनि त्यही एउटा उपाधिले विश्वकपमा पनि धेरै ठूलो अपेक्षा राख्न नहुने बताउँछन्। ‘हामी स्वाभाविक खेल खेल्छौं,’सान्चेजले भने, ‘हामीमाथि छुट्टै दबाब छ, घरेलु टोलीको रूपमा। त्यसैले धेरै ठूलो लक्ष्य लिएर हामी आफूमाथिको दबाब बढाउन चाहदैनौं। हामी आफ्नो उत्कृष्ट प्रदर्शन दिनेमा केन्द्रीत छौं। इक्वेडरविरुद्धको सुखद नतिजा नै हाम्रो मुख्य लक्ष्य हो। यो हाम्रो पहिलो विश्वकप सहभागिता हो। हामीबाट राष्ट्रले धेरै ठूलो आशा राखेको छ। तर प्रत्येक खेलबाट प्राप्त गर्ने अनुभवले भने हामीलाई थप अघि बढ्न मद्दत गर्छ।’

यता इक्वेडर भने जितसहित कतारलाई घरेलु मैदानमा स्तब्ध पार्ने लक्ष्यमा छ। इक्वेडरलाई यस पटक विश्वकपको अप्रत्याशित नतिजा ल्याउने टोलीको रूपमा लिइएको छ। तर, विश्वकपअघि आफूहरूको छनोट नै आयोग्य भन्दै परेको अपिलका कारण इक्वेडरले प्रतियोगितामा सहभागिता जनाउन नपाउने हो की भन्ने दुबिधा बढेको थियो। चिली र पेरुले इक्वेडरले विश्वकप छनोटमा खेलाएको रक्षक ब्रोयोन कास्टेलो कोलम्बियन नागरिक भएकाले उनी अयोग्य भएको र इक्वेडर पनि अयोग्य हुनुपर्ने दाबी गरेका थिए। जुन अपिल कोर्ट अफ अब्रिट्रियसन फर स्पोट्र्सले खारेज गरिदिएको थियो। इक्वेडरले कतार विश्वकपमा सहभागिता जनाउँदै छ। तर इक्वेडरले कास्टेलोको जन्मदर्ता बुझाउँदा गल्ती गरेको भन्दै विश्वकप २०२६ को छनोट चरण सुरु हुनु अगावै इक्वेडरको तीन अंक घटुवा गरिएको थियो। छनोट चरण खेले पनि कास्टेलोले कतार विश्वकपका लागि इक्वेडरका प्रशिक्षक गुस्ताभो अल्फारोले घोषणा गरेको २६ सदस्यीय टोलीमा स्थान बनाउन सकेनन्।

हेट टु हेड

कतार र इक्वेडर अहिलेसम्म तीन पटक आमनेसामने भएका छन्। जसमध्ये कतार र इक्वेडरले १/१ खेल जितेका छन्। एक खेल भने बराबरीमा टुङ्गिएको छ। पछिल्लो पटक यी दुई टोली सन् २०१८ अक्टोबर १२ मा आमनेसामने भएका थिए। जहाँ कतारले ४–३ को जित निकालेको थियो।

प्रकाशित: ४ मंसिर २०७९ ०१:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App