२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

खोटाङका अग्निपीडित दलित परिवारलाई राहत

आगालागीस्थलको अनुगमन गर्दै मेयर राई (दायाँ) छेउ। तस्विरः महेश्वर

खोटाङको हलेसी तुवाचुङ नगरपालिका ८ धितुङको नमूना भञ्ज्याङका आगलागी पीडित परिवारलाई राहत प्रदान गरिएको छ। गत सोमबार दिउँसो अचानक आगलागी हुँदा स्थानीय राजन सार्की र छोरा सन्तोष सार्कीको घर र घरभित्र रहेका सम्पूर्ण सामग्री जलेर नष्ट भएको थियो।

अग्निपीडित दुवै परिवारलाई पहिलो चरणको राहत प्राप्त भएको छ। पीडितहरुलाई सोमबार जिल्ला प्रशासन, खोटाङ उद्योग बाणिज्य संघ र खोटाङ यातायात प्रालिले राहत प्रदान गरेका हुन्। जिल्ला प्रशासनले नगद १५ हजार, बाणिज्य संघले १०÷१० हजार तथा नेपाल रेडक्रस सोसाईटी खोटाङले २ थान त्रिपाल, ८ थान कम्मल, २ थान बाल्टिन, भाँडा वर्तन, ४ थान साडी तथा पुरुषलाई पाईन्ट र महिलालाई कुर्ता सुरुवालको कपडा दिएको छ।  

हलेसी तुवाचुङ नगरपालिका नगरप्रमुख बिमला राई, प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेँडाई र रेडक्रस जिल्ला सभापति ज्ञानेन्द्र जोशीले घट्नास्थलमै पुगेर संयुक्तरुपमा राहत वितरण गरेका हुन्। अग्निपीडित परिवारलाई प्रशासन र रेडक्रसको संयुक्त टोली घटनास्थल बोलाएर राहत प्रदान गरिएको मेयर राईले बताइन्। उनका अनुसार खोटाङ यातायात प्रालिले सिडिओमार्फत र उद्योग बाणिज्य संघले रेडक्रसमार्फत राहत पठाएको थियो।  

जिल्ला प्रहरी खोटाङका प्रमुख डिएसपी मञ्जिल मुकारुङ, सशस्त्र प्रहरी बल हलेसी गुल्मपति डिएसपी श्याम रावत, हलेसी तुवाङ ८ का वडाध्यक्ष टेकराज राईलगायतको राहत वितरण कार्यक्रममा उपस्थिति रहेको थियो। राहत वितरण गर्दै मेयर राईले अग्नीपीडित परिवारलाई सहयोग गरेकोमा सरकारी तथा गैरसरकारी संघसंस्थालाई धन्यबाद दिदै थप सहयोगको अपेक्षा गरिन्।  

मेयर राईले पीडित परिवारलाई घर बनाउनका लागि प्रदेश र संघीय सरकारसँग समन्वय गर्ने बताउँदै छाना छाउने जस्तापाताको व्यवस्था नगरपालिकाले गरिदिने प्रतिवद्धता जनाइन्। अग्निपीडित परिवारलाई वडा कार्यालयले तत्काल महिनादिन पुग्ने गरी खाद्यान्न र भाँडाकुँडा व्यवस्था गरेको तर, बास बस्ने ठाउँ नभएपछि आफन्तको घरमा सुरक्षित राखिएको वडाध्यक्ष राईले बताए।

सार्की बुबाछोराको घरनजिकैको गोठबाट उब्जेको आगोले दुवै घर, घरभित्र रहेका सम्पूर्ण सामग्री, गोठ र गोठमा बाँधिएका २ पशु चौपाया जलेर नष्ट भएको वडाध्यक्ष राईले बताए।  

उनका अनुसार आगलागीले १ तोला सुन, ६० केजी चामल, ७५ हजार बराबरका भाँडाकुँडा, ५० हजार बराबरको लत्ताकपडा, १ मुरी मकै, ३ मुरी कोदो, १० हजार बराबरका सोलार प्यानल, एउटा गाई र एउटा सुँगुर जलेका छन्। आगोले दुवै परिवारको ११ लाख ६० हजार बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान गरेको छ।  

सार्की परिवारको घरमा लागेको आगो स्थानीय युवाले केही घण्टामै नियन्त्रणमा लिएकाले गाउँमा थप क्षति भने हुन नपाएको स्थानीयले बताए। दसैं तिहार मान्न घर आएका युवाहरुको जमात गाउँमा भएकाले तुरुन्त भेला भएर आगो नियन्त्रणमा लिन सफल भएका हुन्। घरभित्रका सामान भने निकाल्न नभ्याएकाले जलेर नष्ट भएको बताइएको छ।

प्रकाशित: १९ कार्तिक २०७९ १३:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App