१७ असार २०८१ सोमबार
image/svg+xml
समाज

‘पोखरा–हिमालय’ मोटर र्‍याली सुरु

७ प्रदेशका ६० भन्दा बढी सहभागी

एनवाइइएफको मोटर र्‍यालीमा सहभागी। तस्बिरः सन्देश/नागरिक

युवा उद्यमी मञ्च पोखराको चारदिने ‘पोखरा–हिमालय’ मोटर र्‍याली सुरु भएको छ। नेपाली युवा उद्यमी मञ्च (एनवाइइएफ) को तत्वावधानमा युवा उद्यमी मञ्च पोखराद्वारा आयोजित चारदिने ‘पोखरा–हिमालय’ मोटर र्‍याली बिहीबार पोखराबाट सुरु भएको हो। र्‍यालीको बिहीबार बिहान नेपाल पर्यटन बोर्ड प्रदेश कार्यालय पोखराका प्रमुख काशीनाथ भण्डारीले उद्घाटन गरे।

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण सुस्ताएको पर्यटन उकास्ने उद्देश्यले पोखरादेखि सुरु भएको र्‍याली मुस्ताङको जोमसोम, मार्फा, लोमान्थाङ हुँदै कोरला नाकासम्म पुग्नेछ। र्‍यालीमा सातै प्रदेशका ६० भन्दा बढी युवा उद्यमीहरुको सहभागीता रहेको आयोजक एनवाइइएफ पोखरा च्याप्टरका अध्यक्ष सुयश मल्लले जानकारी दिए।

उनका अनुसार र्‍यालीमा २० वटा गाडी सहभागि छन्। र्‍यालीका समयमा हुने जोखिम व्यवस्थापनका लागि मेडिकल टिम, गाडी बनाउनका लागि इञ्जिनियर र मेकानिक्सको टिमसँगै लगिएको छ। र्‍यालीका लागि विभिन्न ठाउँ छुट्याएर प्वाइन्ट तोकिएको आयोजकको भनाइ छ। एक प्वाइन्टबाट अर्को प्वाइन्टमा पुगेपछि आराम गर्नका लागि समय छुट्याइएको अध्यक्ष मल्लले बताए।

कोभिड पछि सुस्ताएको पर्यटन उकास्ने, आन्तरिक पर्यटनको प्रवर्द्धन गर्ने, हिमाली जिल्ला मुस्ताङका पर्यटकीय गन्तव्यहरुको प्रवर्द्धन गर्नु र्‍यालीको मुख्य उद्देश्य रहेको एनवाइइएफ पोखराले जनाएको छ। त्यस्तै, स्थानीय उत्पादनको प्रवर्द्धन गर्ने, कोरला नाकाबाट गर्न सकिने व्यवसायको सम्भाव्यता अध्ययन गर्ने, साहसिक खेलकुद (एडभेञ्चर स्पोर्टस) को प्रवर्द्धन गर्ने लगायतका उद्देश्य पनि र्‍यालीको रहेको एनवाइइएफ पोखराका निवर्तमान अध्यक्ष सुनिलबहादुर भट्टराईले बताए।

कार्यक्रमको उद्घाटन गर्दै पर्यटन वोर्ड पोखराका प्रमुख काशीनाथ भण्डारीले र्‍याली आन्तरिक पर्यटन प्रवर्द्धन गर्न कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे। ‘कोरला नाका माउण्ट कैलाश पुग्ने भारतीय पर्यटकका लागि सबैभन्दा छोटो रुट हो,’ उनले भने, ‘यो नाका खोल्न सकियो भने नेपालको पर्यटनका लागि गेम चेञ्जरजस्तै हो। त्यसैले यो र्‍यालीले त्यसका लागि दवाब दिनुका साथै आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा सघाउ पुर्‍याउँछ।’

एनवाइइएफ पोखराका अध्यक्ष सुयश मल्लले र्‍याली कोरला नाकासम्म पुगेर त्यहाँबाट हुने व्यापारको सम्भाव्यता अध्ययन गर्ने बताए। ‘हामी त्यहाँ पुगेर भविष्यमा कोरला नाकाबाट गर्न सकिने व्यापार सम्भाव्यताबारे बुझ्छौं र सम्भव हुने देखिएमा त्यसका लागि सम्बन्धित निकायमा दवाब दिन्छौं,’ उनले भने।

एनवाइइएफले अघिल्लो वर्ष मेची–महाकाली यात्रा गरिसकेको छ। सन् २००३ सालमा स्थापित यस संस्थाले युवा उद्यमीहरुबीच उद्यमशीलता सम्बन्धी आईडिया एक्सचेञ्ज गर्नुका साथै शिक्षा, तालिम र फेलोसीप लगायतका कार्यहरु गर्दै आएको छ। संस्थामा देशका १२ वटा सहरका ७ सय भन्दा बढी युवा उद्यमीहरु आवद्ध छन्।

प्रकाशित: १७ कार्तिक २०७९ ०७:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App