४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

राहदानी बनाउन सकस

पूर्वी नवलपरासीमा राहदानी बनाउन तीन महिना पर्खिनुपर्ने बाध्यता रहेको छ। जिल्लाको मध्यविन्दु–१५ का गोविन्द महतोले आवेदन दिएको करिब तीन महिनापछि मात्रै राहदानी हातम परेको बताए।

गत असार १७ गते फारम भरेका उनको बायोमेट्रिक गर्ने पालो करिब ४७ दिनपछि मात्रै आयो। उनले भने, 'बायोमेट्रिकको एक महिनापछि मात्रै राहदानी हात पर्‍यो।' यसैगरी कावासोती–१२ की निशा लम्सालले गत साउन १८ गते फारम भरेर टोकन लिएकी थिइन्। उनले बायोमेट्रिक गर्न ५१ दिनपछि मात्रै पालो पाएको बताइन्।

सरकारले विद्युतीय राहदानी अनिवार्य गरेपछि राहदानी बनाउन आउनेको संख्या बढेको र राहदानी बनाउनुअघि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेकाले राहदानी बनाउनका लागि लामो समय लाग्ने गरेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खिमराज भुसालले बताए। राहदानी बनाउन आउनेको भीड बढेसँगै जिल्ला प्रशासन कार्यालयले टोकन सिस्टम सुरु गरेको छ।

सहायक प्रमुख जिल्ला अधिकारी भुसालका अनुसार राहदानीका लागि एक दिनमा अधिकतम एक सय जनाको मात्रै ‘बायोमेट्रिक’ गर्न सक्ने अवस्था छ। पर्याप्त कर्मचारी र बायोमेट्रिक गर्ने मेसिनको कमीले मुस्किलले एक सय जनासम्मको बायोमेट्रिक हुने गरेको हो।

कर्मचारीको र बायोमेट्रिक गर्ने मेसिन कम हुँदा राहदानीको आवेदन फारम भरेको करिब दुई महिनापछि मात्रै बायोमेट्रिक गर्ने पालो आउने गरेको छ। बायोमेट्रिक गरेपछि पनि राहदानी सेवाग्राहीको हातमा पर्न थप एक महिना जति लाग्ने उनले जानकारी दिए।

कोभिड–१९ सुरु भएपछि रोकिएको विदेश भ्रमण पनि अहिले सहजरूपमा सञ्चालन भएकाले राहदानी बनाउन आउनेको संख्या बढेको जनाइएको छ। उनका अनुसार राहदानी बनाउन आउनेहरूमा धेरै युवा छन्। त्यसमा पनि वैदेशिक रोजगार र उच्च शिक्षाका लागि विदेश जानेबाट राहदानीका लागि धेरै आवेदन आउने गरेको छ।

गत आवभन्दा चालु आवको सुरुआतदेखि नै राहदानी बनाउनेको संख्या ह्वात्तै बढेको छ। सहायक प्रमुख जिल्ला अधिकारी भुसालका अनुसार गत आव २०७८/७९ मा नौ हजार छ सय ७५ जनाले राहदानी बनाएकामा चालु आवको पहिलो महिना साउनमा दुई हजार छ सय ८४ जनाले राहदानी बनाउन फारम भरेका छन्। राहदानी बनाउन आउनेको संख्या बढेको तर बायोमेट्रिक गर्ने कर्मचारी र मेसिन पर्याप्त नहुँदा राहदानी पाउनका लागि लामो समय लाग्ने गरेको हो।

यसैबीच राहदानीबाट मात्रै जिल्लामा कार्यालयले गत एक वर्षमा मात्रै रु पाँच करोड बढी राजस्व संकलन गरेको छ। गत आव २०७८÷७९ मा जिल्ला प्रशासन कार्यालयले राहदानीबाट पाँच करोड एक लाख ३८ हजार पाँच सय रुपैयाँ राजस्व संकलन गरेको जिल्ला प्रसासन कार्यालय नवलपुरका सूचना अधिकारी एवं सहायक प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताए।

यो अवधिमा सात हजार चार सय पाँच जनाले साधरण राहदानी र एक हजार चार सय ७६ जनाले विद्युतीय राहदानी बनाएका भुसालले बताए। आव २०७७/७८ मा दुई करोड ३४ लाख ३५ हजार, आव २०७६/७७ मा दुई करोड ४७ लाख ६७ हजार पाँच सय र आव २०७५/७६ मा तीन करोड ३८ लाख ८७ हजार पाँच सय राजस्व संकलन भएको हो।

प्रकाशित: २४ भाद्र २०७९ ०९:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App