२३ असार २०८१ आइतबार
image/svg+xml
समाज

गाग्री र बाल्टीको सहारामा रोपाइँ गर्दै सिद्धकालीबासी

बागमती प्रदेशको राजधानी हेटौंडाबाट करिब १० किलोमिटर मात्र पर रहेको मनहरी गाउँपालिका–३ हाँडीखोला सिद्धकालीका सर्वसाधारणले रोपाईंको समयमा सधैं दुःख पाउने गरेका छन्।  

सिंचाईंको लागि कुलोको अभावमा उनीहरुले गाग्री, बाल्टी लगायतका घरायसी काममा प्रयोग हुने भाँडामा पानी बोकेर रोपाईं गर्ने गरेका छन्। सिद्धकालीका इमानसिंह थिङले स्थानीयले गाग्री, बाल्टी तथा स साना ड्रममा पानी भर्दै खेतमा खन्याइरहेको फोटो र भिडियो खिचेर सामाजिक सञ्जालमा पोष्ट गर्दै सर्वसाधारणले सास्ती झेल्न बाध्य रहेको लेखेका छन्। कुलो नहुँदा सास्ती व्यहोर्न बाध्य भएको र आकाशे पानीको भर पर्नुपर्ने अवस्था रहेको बताए। ‘खेत रोप्न प्रत्येक बर्ष दुःख पाउनुपर्ने अवस्था छ। आकाशबाट परेको पानीलाई जम्मा गरेर गाग्री र बाल्टीले उबाउँदै खेतमा हालेर रोपाई गर्ने गरेका छौं’, उनले भने। सिद्धकालीका गाउँले मिलेर एक अर्काको खेतमा पानी लगाउन गाग्री, बाल्टी लगायतका भाँडा लिएर निस्किने गरेका छन्। स्थानीय किसानले भोग्नुपरेको समस्याको बिषयमा वडादेखि पालिकासम्म जानकारी गराएको भएपनि हालसम्म कुनै सुनुवाई नभएको स्थानीय धनकुमारी चेपाङले गुनासो गरिन्। ‘कहिले आकाशबाट पानी पर्ला र रोपाईं गरौंला भनेर कुर्नुपर्ने अवस्था छ। कहिले त बीउ नै सुकेर जाने अवस्था छ’, चेपाङले भनिन्। सिद्धकाली छेउका बस्तीहरुमा नहरको व्यवस्था भएपनि यस वस्तीमा भने समस्या रहेको छ। यता मनहरी गाउँपालिका ३ नम्बर वडा अध्यक्ष अनन्तप्रकाश अर्यालले सिचाईंको लागि उक्त क्षेत्रमा बजेट छुट्याएकोले आगामी बर्षहरुबाट समस्या समाधान हुने प्रतिक्रिया दिए। ‘मनहरीको ३ नम्बर वडा भौगोलिक रुपमा निकै ठूलो रहेको छ। समस्या भएको स्थानमा हामीले वडा, पालिका र प्रदेशबाट समेत बजेट पार्नका लागि आवश्यक पहल गरिरहेका छौं’, उनले भने, ‘स्थानीय किसानले सास्ती खेप्नुपरेको जानकारीमा आएको छ। यसतर्फ हाम्रो ध्यानाकर्षण भएको छ। यस बर्षपनि केही बजेट विनियोजन भएको छ। आगामी बर्षपनि आवश्यक बजेटको लागि पहल गर्नेछौं।’ मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले पनि सिद्धकालीको किसानले झेल्नुपरेको समस्या समाधानका लागि गाउँपालिका तयार रहेको बताए।  

(फोटो ः स्थानीय इमान सिंह थिङको सामाजिक सञ्जालबाट।)

 

 

प्रकाशित: १६ भाद्र २०७९ १२:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App