१७ असार २०८१ सोमबार
image/svg+xml
समाज

दार्चुलामा लोप हुँदै लोपोन्मुख पंक्षी गिद्ध

फाइल तस्बिर।

पछिल्लो समय दार्चुलामा पनि गिद्ध लोप हुँदै गएका छन्। जलवायु परिवर्तन, बासस्थानको समस्या, औषधिको प्रयोग र आहाराको अभावमा पछिल्लो समय गिद्ध लोप हुँदै गएका हुन्। प्रकृतिको कुचिकारका रुपमा रहेका लोपोन्मुख पंक्षी गिद्ध संरक्षण नहुँदा लोप हुने क्रम बढ्दै गएको हो।  

विशेष गरी गिद्धको बासस्थान सिमलको रुख भएकाले पछिल्लो समय बढ्दो वन विनासका कारण सिमलका रुख हराउँदै गएपछि गिद्धको बासस्थान पनि हराउँदै गएको जिल्ला डिभिजन वन कार्यालयका प्रमुख प्रमानन्द कुँवरले बताए।

ठूलठूला भीरमा समेत गिद्ध पाइने भए पनि पछिल्लो समयमा गिद्ध देखिन छोडेको शैल्यशिखर नगरपालिकाका वीरसिंह धामी बताउछन्। उनले भने, ‘गिद्ध संरक्षणका लागि सरकारी तथा स्थानीयस्तरबाट कुनै पहल हुनसकेको छैन, गिद्ध संरक्षणका लागि पहल नहुँदा लोप हुँदै गएका छन्।’

 गिद्धको आहारामा समेत समस्या आएकाले गिद्ध लोप हुँदै गएको जानकारहरु बताउँछन्। मरेका पशुपक्षीको सिनोलाई आहाराका रुपमा गिद्धले प्रयोग गर्ने गर्दछन्। पछिल्लो समयमा बाहिर सिनो फाल्ने चलन पनि कम हुँदै गएका कारण पनि गिद्ध लोप हुन लागेका हुन्।

आहारको अभावमा गिद्ध लोप हुँदै गएको पनेबाज सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष दामोदरसिंह धामीको भनाइ छ। पशुमा प्रयोग गरिने डाइक्लोफेनिक औषधिले पनि गिद्ध लोप हुन थालेको जानकारहरु बताउँछन्। पशुलाई दिइने यो औषधिको प्रयोगले गिद्धको विनाशमा ठूलो भूमिका खेलेको पशु प्राविधिक गोपालसिंह धामी बताउछन्। डाइक्लोफेनिक औषधि प्रयोग भएको पशुको सिनो खाएमा गिद्ध मर्ने गरेको उनले बताए।

नेपालमा डाइक्लोफेनिक औषधिको बिक्री वितरणमा रोक लगाइएको भए पनि दार्चुलाको भारतसँगको खुला सिमानाबाट यस्तो औषधि भित्रिने गरेको छ। अहिले विश्वभर २३ प्रजातिका गिद्ध पाइन्छन्। त्यसमध्ये दक्षिण एशियामा नौ र नेपालमा आठ प्रजातिका गिद्ध पाइन्छन्। नेपालमा पाइने आठ प्रजातिका गिद्धमा सानो खैरो, डङ्गर, सुन, गोब्रे, राज, हिमाली, खैरो र हाडफोर रहेका छन्।

प्रकाशित: ८ भाद्र २०७९ ०८:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App