१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन: ताप्लेजुङमा मतदाता संख्या ९० हजार बढी

ताप्लेजुङमा आउँदो मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि मतदाताको संख्या ९० हजार ६ सय ४० पुगेको छ। यो अद्यावधिक हुनु भन्दाअघिको संख्या रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। 

अद्यावधिकका लागि आयोगले समय तालिका निर्धारण गरिसकेको छ। जिल्ला निर्वाचन अधिकारी दिनेश खनालका अनुसार पछिल्लो तथ्याङ्कमा पुरुष मतदाताको संख्या महिलाको तुलनामा झण्डै ६ हजार बढी रहेको छ। उनका अनुसार ४८ हजार २ सय १८ जना पुरुष मतदाता हुँदा ४२ हजार ४ सय २२ जना महिला मतदाता रहेका छन्। 

जिल्ला निर्वाचन कार्यालयका अनुसार गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा ८९ हजार ६ सय ८० जना मतदाता रहेका थिए। स्थानीय तहको निर्वाचन पछि निर्वाचन आयोगले असार १ गतेदेखि साउन १९ गतेसम्म मतदाता नामावली दर्ता तथा संकलन कार्य गरेको थियो। सो क्रममा १ हजार ८० जनाले नाम दर्ता गरेका थिए भने ति मध्ये ३ सय ६ जनाले मतदान केन्द्र भने अन्य जिल्ला कायम हुने गरी यहाँबाट नाम दर्ता गरेका थिए। निर्वाचन आयोगले चुनावको अघिल्लो दिन मंसिर ३ गतेसम्ममा १८ बर्ष पूरा भएको व्यक्तिलाई मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि वालिग मताधिकार योग्य ठानेको छ। 

निर्वाचन कार्यालयका अनुसार प्रदेशसभा निर्वाचन क्षेत्र नं १(क)मा २६ हजार २ सय २२ पुरुष र २३ हजार ५ सय ६७ महिला गरी ४९ हजार ७ सय ८९ र १(ख)मा ४० हजार ८ सय ५१ मतदाता भएका छन्। यस्तै प्रदेशसभा निर्वाचन क्षेत्र नं १(ख)मा २१ हजार ९ सय ९९ पुरुष र १८ हजार ८ सय ५५ महिला गरी कूल ४० हजार ८ सय ५१ जना मतदाता कायम भएका छन्। 

२०७८ सालको जनगणनाको तथ्याङ्क अनुसार ६० हजार ५ सय २४ पुरुष र ८ सय ३५ महिला गरी कूल जनसंख्या ताप्लेजुङको कूल जनसंख्या १ लाख २० हजार ३ सय ५९ रहेको छ। जनसंख्याको तुलनामा २९ हजार ७ सय १९ जना मात्र कम मतदाता देखिएका छन्। मृत्यु भएका मतदाताको संख्या हटाउनुपर्ने सहितका मागहरु उठ्ने गरेपनि यस्तो संख्या कमैमात्र हट्ने गरेको पाइएको छ। 

जिल्ला निर्वाचन अधिकारी खनाल आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि मतदाता नामावलीलाई अन्तिम रुप दिन मतदाता नामावली अद्यावधिक(दावी बिरोध समेत)को कार्यक्रमका लागि सर्वदलिय सर्वपक्षिय छलफलमा जुटेको बताउँछन्। उनका अनुसार बुधबार जिल्ला निर्वाचन समन्वय समितिले फुङलिङमा यस्तो छलफल कार्यक्रम राखेको छ। 

प्रमुख जिल्ला अधिकारी जिल्ला निर्वाचन समन्वय समितिको अध्यक्ष हुने व्यवस्था रहेको छ। अद्यावधिक(मतदाता नामावलीमा दावी बिरोध)समेतका कार्यक्रम सकिएपछि मात्र मतदाता नामावलीको अन्तिम तथ्याङ्क आउने खनालले जानकारी दिए। २०७४ सालमा प्रतिनिधिसभातर्फ ७८ हजार ३ सय ९७ मतदातामध्ये ५१ हजार ६ सय ७८ मत खसेकोमा २ हजार ३ सय ३३ बदर भई ४९ हजार ३ सय ४५ मत सदर भएको थियो। 

प्रदेशसभा १(क)को प्रत्यक्षतर्फ कूल मतदाता संख्या ४३ हजार ५ सय ३६ रहेकोमा २८ हजार ९ सय ४७ मत खसेको थियो। त्यसमध्ये १ हजार ८३ मत बदर भई २७ हजार ८ सय ८३ मत सदर भएको थियो। प्रदेशसभा १(ख)को प्रत्यक्षतर्फ ३४ हजार ८ सय ६१ कूल मतदातामध्ये २२ हजार ६ सय ९४ मत खसेकोमा १ हजार २ सय ३ मत बदर भई २१ हजार ४ सय ९१ मत सदर भएको थियो।

प्रकाशित: ७ भाद्र २०७९ १२:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App