९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

रोजगारको गन्तव्य बन्दै नेपालगन्ज

फाइल तस्बिर

कैलाली घर भएका जितबहादुर चौधरी नेपालगन्जमा आफ्ना केही साथीसहित बसिरहेका छन्। केही कोठा भाडामा लिएर बसिरहेका उनीहरू निर्माण मजदुर हुन्। उनीहरू प्रायः दैनिक ज्यालादारीमा काम गर्छन्। कहिलेकाहीं राम्रो ठेकेदार फेला परेमा ६ महिनादेखि १ वर्षसम्म नयाँ कामको खोजी गर्नु पर्दैन। आवश्यक परेका बेला माग्नेबाहेक ६ महिनामा एकमुष्ट ज्याला बुझ्छन् र घर जान्छन्। ‘कहिले ६–७ महिनासम्म पनि घर जान पाइँदैन’, जितबहादुरले भने, ‘धेरै काम भएका ठेकेदारले काम दिएपछि एक ठाउँको काम सकिनेबित्तिकै अर्काे ठाउँमा सुरु भइहाल्छ। अति आवश्यक कामबाहेक दसैं–तिहारका बेला मात्रै घर जान्छौं।’

नेपालगन्जको रामलीला मैदानमा एकाबिहानै मानिसको भीड सुरु हुन्छ। यस्तै भीड कोरोना अघिसम्म त्रिभुवन चोकमा हुन्थ्यो। बिहानै साइकलको ताँतीसहित महिला तथा पुरुष सडक किनारमा बसेर पर्खाइमा हुन्छन् काम दिने मान्छेको। अर्थात् उक्त भीड श्रमिकको हुन्छ। श्रमिकलाई खोज्न भौंतारिहनु पर्दैन। सीधै रामलीला मैदानमा गयो भने घरको सफाइदेखि घर बनाउनेसम्मका कामदार यहाँ पाउन सकिन्छ। श्रमिकलाई पनि काम खोज्दै जताततै भौंतारिनुपर्ने अवस्था हुँदैन। यो नेपालगन्जको एक पुरानो श्रम शैली हो।

यसरी बिहानै नेपालगन्जमा लाग्ने मेलालाई श्रम बजारको नामले चिन्ने गरिन्छ। यस मेलामा भेटिने मानिसलाई सोध्यो भने थाहा हुन्छ– यहाँ नेपालगन्जभन्दा नेपालगन्ज बाहिरका श्रमिक बढी छन्। बर्दिया, दाङ, रोल्पा, सुर्खेत, दैलेख, कैलालीसम्मका मानिस कामको खोजीमा नेपालगन्ज पुग्छन्। युवायुवतीदेखि महिला, पुरुष र ज्येष्ठ नागरिकसम्म कामको खोजीमा श्रमिक बजारमा भेटिन्छन्।

एक तथ्यांकअनुसार नेपालगन्जमा ४८ प्रतिशत व्यवसाय अनौपचारिक रहेको छ। यसरी श्रम बजारमा काम खोज्नेहरू पनि सबै अनौपचारिक क्षेत्रमा काम पाउँछन्। इँटा उद्योगलगायतमा मौसमी कामदार पनि नेपालगन्जमा आउँछन्। तीमध्ये धेरैजसो भारतीय हुने गरेका छन्। उनीहरूको न कुनै सम्झौता हुन्छ न कुनै कार्यालयले उनीहरूको रेकर्ड राखेको छ। मात्र मौखिक सहमतिका भरमा उनीहरू काम गरिदिन्छन् र काम सकिएपछि ज्याला बुझेर बासस्थान फर्कन्छन्। उनीहरू सबैले दैनिक काम भने पाउँदैनन्।  

कोरोना महामारीका बेला र त्यसपछि पनि काम नपाउने समस्या पहिलेभन्दा बढी रहेको उनीहरू बताउँछन्।

रोल्पाकी सुनमाया घर्तीमगरले करिब सात वर्ष भइसक्यो नेपालगन्जमा आएर यसरी काम खोज्न थालेको। उनी घरेलुदेखि निर्माणका काम गर्दै आएकी छन्। यसरी उनको जीवनस्तरमा ठूलो परिवर्तन त आएको छैन, तर एकल महिला उनले एक छोरालाई सँगै राखेर पढाइरहेकी छन्। उनकै गाउँका केही साथीले पनि यसैगरी नेपालगन्जमा जीवन धानिरहेका छन्।

दाङकी कविता पुन र निरू चौधरी नेपालगन्जको त्रिभुवन चोकस्थित एक सुन पसलमा काम गर्छन्। बिहान करिब ८ बजे पुगेर पसल खोल्ने, सरसफाइ गर्ने र दिउँसो ग्राहकलाई सेवामा सघाउने उनीहरूको दैनिकी हो। कक्षा १२ सम्म अध्ययन सकेर उनीहरूले एक साथीमार्फत नेपालगन्जमा काम पाइने पक्का भएपछि आएका हुन्। एउटै कोठामा सँगै बस्ने उनीहरू बिहान सँगै काममा निस्कन्छन् र साँझ भइसकेपछि सँगै फर्किन्छन्। दुवैजनाले एक छाक खानासहित करिब १५ हजार तलब पाइरहेका छन्।

यसरी नेपालगन्ज अनौपचारिक क्षेत्रमा रोजगारको ठूलो गन्तव्य हो। यहाँका अधिकांश मजदुर सरकारको आधिकारिक रेकर्डमा छैनन्। यसले कतिपय अवस्थामा उनीहरू ठगीमा पर्ने र त्यसविरुद्ध कानुनी उपचारमा जान पनि नसक्ने अवस्था रहेको छ। यद्यपि नेपालगन्जले रोजागारका अवसर लुम्बिनी, कर्णाली र सुदूरपश्चिमलाई दिइरहेको छ। यसका साथै नेपालगन्जका अधिकांश सानादेखि मझौला र ठूला उद्योगमा भारतीय मजदुर पनि कार्यरत छन्। ती उद्योगमा करिब ७० प्रतिशत भारतीय मजदुर रहेको अनुमान गरिन्छ। यसको यकिन तथ्यांक सरकारसँग छैन। श्रम तथा रोजगार कार्यालय नेपालगन्जका प्रमुख रुद्रनारायण शाहले कार्यालयको कार्य क्षेत्र बाँके, बर्दिया, दाङ र पूर्वी रुकमका एक सय ६१ उद्योगमा करिब तीन हजार आठ सय ८६ जना श्रमिक कार्यरत रहेको रेकर्ड कार्यालयमा रहेको जानकारी दिए। तीमध्ये कति भारतीय हुन् भन्ने यकिन नभएको उनको भनाइ छ। उद्योगहरूले सबै कामदारलाई नेपाली नै भनेर अनुगमनका क्रममा भन्ने गरेको उनले बताए।

एकाबिहानै रूपैडिहा नाकाबाट साइकलमा भित्रिने भारतीय मजदुर नेपालगन्जको औद्योगिक क्षेत्रभित्रका उद्योगमा पस्छन्। बाँकी मजदुर सार्वजनिक बसका छतमा साइकल राखेर कोहलपुरसम्मका उद्योगमा काम गर्न पुग्छन्।  

उद्योगहरूले नेपालीभन्दा भारतीय मजदुरलाई प्राथमिकता दिएको भन्दै आलोचना पनि हुँदै आएको छ। उनीहरूले कम पारिश्रमिक लिने संगठित भएर सौदाबाजी पनि गर्न नसक्ने भएकाले उद्योगीका रोजाइमा भारतीय मजदुर पर्ने गरेको मजदुरका अगुवा बताउँछन्। तर उद्योगीका भने आफ्नै समस्या छन्। नेपालमा विशेषगरी दक्ष प्राविधिक जनशक्ति नभएकाले भारतीय मजदुर राख्नुपर्ने बाध्यता रहेको उनीहरूको भनाइ छ।

दक्ष र अर्धदक्ष प्राविधिक जनशक्तिबाहेकका श्रमिक मात्रै नेपाली छन्। त्यसमा पनि स्थानीयभन्दा बाहिरी जिल्लाका मजदुर बढी रहेको बताइएको छ। अब उद्योगहरूमा स्थानीय जनशक्तिलाई प्राथमिकता दिइनुपर्ने माग लामो समयदेखि उठिरहेको छ।

जिआइजेडले तयार गरेको एक तथ्यांकअनुसार नेपालगन्जमा सबैभन्दा धेरै रोजगार दिने क्षेत्र थोक तथा खुद्रा व्यापार हो। तथ्यांकअनुसार थोक तथा खुद्रा व्यापारले नेपालगन्जको रोजगारको ३०.९५ प्रतिशत हिस्सा ओगटेको छ। थोक तथा खुद्रा व्यापारपछि उत्पादन क्षेत्रले २४.७९, शिक्षा क्षेत्रले १२.५१ एवम् आबास र खानाले १०.९४ प्रतिशत रोजगारको हिस्सा ओगटेको छ।  

उक्त तथ्यांकअनुसार नेपालगन्जमा करिब सात हजार एक सय ७६ औपचारिक उद्यम छन्। ती उद्यममा ३० हजार चार सय ७० जनाले रोजगार पाइरहेका छन्। यहाँ प्रतिउद्यम औसतमा चारजनाभन्दा बढीले रोजगार पाइरहेका छन्। यसबाहेक ४८ प्रतिशत उद्यम त अनौपचारिक नै छन्।

नेपालगन्जमा सबैभन्दा धेरै ५६.९० प्रतिशत अर्थात् चार हजार ८३ थोक तथा खुद्रा व्यापारका उद्यम छन्। आबास र खानाका १४.३१ प्रतिशत अर्थात् एक हजार २७, उत्पादनका १२.६१ प्रतिशत अर्थात् नौ सय पाँच उद्यम रहेका छन्। नेपालगन्जमा कम उद्यम संख्या रहेर पनि धेरै रोजगार दिने क्षेत्र भने शिक्षा रहेको छ। यहाँ शिक्षा क्षेत्रको उद्यम संख्यामा योगदान मात्र २.७९ प्रतिशत रहेको छ भने रोजगारमा योगदान त्यसको करिब ६ गुणा बढी अर्थात् १२.५१ प्रतिशत रहेको छ।

प्रकाशित: २८ श्रावण २०७९ ०१:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App