३० वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

नेपाल बैंक लिमिटेडलाई दुष्कृतिजन्य कार्य गरेको अभियोगमा दोषी ठहर

वादीलाई १ करोड ३ लाख बढी क्षतिपूर्ति भराउन आदेश

ताप्लेजुङ जिल्ला अदालतले नेपाल बैंक लिमिटेडलाई एक दुष्कृतिजन्य कार्य गरेको अभियोगमा दोषी ठहर गर्दै वादीलाई १ करोड ३ लाख बढी रकम क्षतिपूर्ति दिलाइ भराउन आदेश दिएको छ। आर्थिक दायित्व बहन गर्नुपर्नेमा त्यस्तो कार्य नगरे वापत हुने हानी नोक्सानीलाई दुष्कृतिजन्य कार्य भनिन्छ।

अदालतले वादी मेरिङ्देन गाउँपालिका वडा नं ३ दोभान बजारमा हार्डवेयर पसल गरी बस्ने जीवनप्रसाद पौडेललाई दृष्कृति गरेको ठहर गर्दै नेपाल बैंक लिमिटेड केन्द्रीय कार्यालय धर्मपथ काठमाडौँ र नेपाल बैंक लिमिटेड ताप्लेजुङ शाखाले १ करोड ३ लाख ११ हजार ४ सय ३८ रुपैयाँ ७५ पैसा क्षतिपूर्ति तिर्नुपर्ने फैसला गरेको जिल्ला अदालतका श्रेष्तेदार शम्भुप्रसाद रेग्मीले जानकारी दिए।

पौडेल दोभान बजारमा सञ्चालित चन्द्रमा हार्डवेयर फर्मका प्रोपाइटर हुन्। अदालतले फिराद दाबी बमोजिम प्रतिवादी नेपाल बैंक लिमिटेडले पूरा गर्नुपर्ने दायित्व पूरा नगरेको र यही कारणबाट वादीलाई हानी नोक्सानी क्षति हुन पुगेको भन्दै यो कार्य मुलुकी देवानी संहिता २०७४ को दफा ६७२ (१) (२) र ६७५ (१) बमोजिम दृष्तिकृतिजन्य कार्य भएको ठहर गरेको छ।

घटना विवरण अनुसार वादी जीवनप्रसादले नेपाल बैंक लिमिटेडबाट धितो जमानी राखी ऋण लिएका थिए। बैंकिङ प्रकृया अनुसार ऋण स्वीकार्नु अघि बैंकले धितोको बीमा गर्नुपर्छ। बीमा नगरी ऋण स्वीकृत हुँदैन। बैंकहरुले ओभरड्राफ्ट सुविधा दिन्छन्। प्रायः बैंकहरुले करेन्ट एकाउन्ट, स्यालरी एकाउन्ट वा फिक्स्ड डिपोजिटमा यस्तो सुविधा दिन्छन्।

यसअन्तर्गत, ओभरड्राफ्ट सुविधा भएका खातावालहरुले पछि व्याजसहित फिर्ता गर्ने गरी आफूलाई आवश्यक परेको पैसा लिन सक्छन्। जीवनप्रसाद पनि नेपाल बैंकमा ओभरड्राफ्ट सुविधा लिनेमध्येका थिए। सुरुमा ६० लाख ऋण प्रकृयामा रहेका उनले बैंकबाट ५० लाख रुपैयाँ लिए। १० लाख उनकै खातामा रह्यो। यसको बीमा भएको थियो र सकिने अवधि केही महिना मात्र बाँकी थियो। पछि फेरी उनले ३० लाख रुपैयाँ ऋण लिए।

त्यतिबेला उनले आफूले तिर्नुपर्ने ब्याज, सुरुमा लिएको ऋणको बीमा नविकरण र थप रकमको बीमा वापतको शुल्क आफ्नो खातामा रहेको रकमबाट कट्टागरी मिलान गर्न नेपाल बैंक लिमिटेड ताप्लेजुङ शाखालाई निवेदन दिए। बैंकले पौडेलको निवेदन स्वीकार्‍यो र दर्ता गरेर राख्यो। यस प्रकरणमा बीमा गराउने र नकिवरण गर्ने दायित्व बैंकको हुन्छ। तर निवेदकले माग गरे बमोजिमको बीमासहितका कार्य गर्नबाट भने उ चुक्यो र पौडेलले दिएको निवेदन उपर कुनै कारबाही भएन।

यही बीच ऋण लिएका दोभान बजारका पौडेलको पसल रहेको क्षेत्रमा आगलागी भयो। आगलागीले पसल जलेर नष्ट भएपछि पौडेलले आफूले धितोवापत गरेको बीमाको क्षतिपूर्तिका लागि सम्वन्धित बीमा कम्पनीमा सिफारिस/निवेदन पठाइदिन बैंकलाई आग्रह गरे। बैंकले बीमा कम्पनीलाई दिनुपर्ने पत्र दिन सकेन।

आफ्नो खाताको रकमबाट बीमा गरिदिन बैंकलाई गरिएको आग्रह स्वीकार गरेको भनेर आफू ढुक्क परेर बसेकोले अब बैंक नै दोषी हुनुपर्ने भन्दै पौडेल अदालत गए। अदालतले पौडेल वादी भइ प्राप्त भएको मुद्दा न्याय प्रशासन ऐन २०७३ को दफा ७ तथा मुलुकी देवानी कार्य संहिता २०७४ को दफा १९ बमोजिम अदालतको क्षेत्राधिकार भित्रै दायर हुन आएको भन्दै प्रतिवादीले दृष्कृति गरेको ठहरसहित प्रतिवादीबाट वादीलाई क्षतिपूर्ति तिराई भराउन आदेश दिएको छ।

प्रकाशित: ४ श्रावण २०७९ १३:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App