८ वैशाख २०८१ शनिबार
समाज

बिमल मृत्यु प्रकरण: सत्यतथ्य तत्काल सार्वजनिक गर्न प्रशासनलाई दबाव

मिक्वाखोला गाउँपालिका वडा नं १ खोक्लिङका बिमल कार्कीको मृत्यु प्रकरण घटनाको वास्तविकता दुई महिना बितिसक्दा पनि बाहिर आउन नसकेको भन्दै एमाले ताप्लेजुङका जनवर्गीय संगठनले विरोध जनाएका छन्।

एमाले ताप्लेजुङमा आवद्ध १९ जनवर्गीय संगठनहरुले सोमबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै घटनाको वास्तविकता बाहिर ल्याउन प्रहरी प्रशासन गम्भीर नभएको आरोप समेत लगाएका छन्। जनवर्गीय संगठनहरुले बिमल मृत्यु प्रकरणलाई ‘हत्या’ भनेका छन्।

‘के प्रहरीबाट बिमलको हत्यारा पत्ता नलाग्ने हो त?’ संयुक्त प्रेश विज्ञप्तिमा जनवर्गीय संगठनहरुले प्रशासनलाई प्रतिप्रश्न गरेका छन्। दुई महिना बित्दा समेत घटनाको वास्तवकिता पत्ता नलाग्नुले घटनाको सुक्ष्म अनुसन्धानमा प्रशासन गम्भीर नभएको पुष्टि हुने प्रेस विज्ञप्तिमा दाबी गरिएको छ।

विज्ञप्तिमा घटनामा संलग्न शंकास्पदलाई सरल र सहज बनाउने तथा घटनामा असंलग्न व्यक्तिलाई मानसिक दबाव दिने कार्य भएको दाबी गरिएको छ। मृतक बिमलका बुवा भीमबहादुरलाई अनावश्यक दबाव दिएर घटनाको अनुसन्धानलाई तोमडमोड गरिएको दाबी समेत जनवर्गीय संगठनहरुले गरेका छन्।

यस्तो कार्यले संलग्न शंकास्पद व्यक्तिले उम्कनेतर्फ सचेत रहन आग्रह गरिएको छ। पत्रकार सम्मेलनमा नेकपा एमालेका जिल्ला उपसचिव मणिशंकर पोमूले बिमलको हत्या भएको भन्ने विषयमा कुनै अलमल नरहेको दाबी गर्दै घटनाको सत्य तथ्य बाहिर ल्याउनु प्रशासनको कर्तव्य भएको बताए।

उनले घटनाको वास्तविकता पत्ता लगाउन प्रहरी प्रशासनले गम्भीर बन्नुपर्नेमा जोड दिए। गत स्थानीय चुनावको दुई दिन अघि वैशाख २८ गते राति बिमल मृत भेटिएका थिए। बिमलका परिवार र आफन्तले बिमलको हत्या भएको दाबी गर्दै आएका छन्।

प्रेस विज्ञप्तिमा ट्रेड युनियन महासंघ जिफन्टका अम्बिका नुगो, अनेमसंघका भीमादेवी ओझा, अखिल नेपाल किसान संघका टंक पालुुङ्वा, अनेरास्ववियुका लेखनाथ भट्टराई, राष्ट्रिय युवा संघका कैलाश राई र जनसांस्कृतिक महासंघका कोपिला नेपालीको हस्ताक्षर रहेको छ।

यस्तै पेशागत महासंघका शरदराज निरौला, नेपाल बुद्धिजीवि परिषद्का मंगलसिंह साँवा, प्रेस चौतारीका शान्ता आङ्वुहाङ, मानव अधिकार तथा सामाजिक न्याय मञ्चका निमातेञ्जी शेर्पा, प्रगतिशिल कानुन व्यवसायी संघका सन्तोष प्रसाँई, नेपाल खेलकुद महासंघका मणिशंकर पोमू, लोकतान्त्रिक आदिवासी जनजाति महासंघका लाक्पातेम्बा शेर्पा, नेपाल भूमिहिन सुकुम्बासी संगठनका मिण्डु शेर्पा र रिटर्नी फेडेरेशनका रीता दर्नालको नाम उल्लेख छ।

विज्ञप्तिमा नेपाल उत्पीडित जातिय मुक्ति समाजका खगेन्द्र नेपाली, भूतपूर्व सैनिक तथा प्रहरी संगठनका छत्र बिक, राष्ट्रिय स्वास्थ्यकर्मी संघका दिलु श्रेष्ठ र प्रगतिशिल इञ्जिनियर एशोसिएसनका दिनेश तुम्याहाङको नाम उल्लेख गएिको छ। पत्रकार सम्मेलनमा बिमलका बुवा, आमा र आफन्तको समेत उपस्थिति रहेको थियो।

एमाले प्रदेश कमिटीका सचिवालय सदस्य तथा प्रदेशसभा सांसद बलबहादुर साम्सोहाङ, जिल्ला उपसचिव पोमू, कार्यालय सचिव लिलाचक्र गुरुङसहितको उपस्थितिमा ती जनवर्गीय संगठनको विज्ञप्ति ध्यानाकर्षण स्वरुप जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई समेत दिएको एमाले ताप्लेजुङले जनाएको छ।  

प्रकाशित: २९ असार २०७९ १२:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App