२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

पोखरेलीहरू अस्वस्थकर मासु खान बाध्य

फाइल् तस्बिर

सम्झौता अनुसार काम भएको भए यतिबेला पोखरामा वधशाला निर्माण भइसक्थ्यो र पोखरेलीले स्वस्थ मासु खान पाउने थिए। अहिलेजस्तो जहाँ पायो, त्यही वध गर्ने स्थितिको अन्त्य हुन्थ्यो। त्यति मात्र हो र झिँगा भन्केको मासु बेचेको दृश्य देख्नु पनि पर्दैनथ्यो। न त अव्यवस्थित रूपमा वध गरिएका राँगा, भैंसी, बंगुर र कुखुरा लगायत पशुपन्छीबाट निस्कने फोहोरको दुर्गन्ध नै फैलिने थियो।

तर, पोखरा महानगरपालिकाले गण्डकी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयसँग गरेको सम्झौताअनुसार वधशाला निर्माण गर्न सकेन। महानगरले तीन वर्षअघि नै एक वर्षभित्र पशु वधशाला निर्माण गर्ने गरी मन्त्रालयसँग सहयोग लिने सम्झौतासमेत गरेको थियो। तर, आफैंले गरेको सम्झौता अनुसार महानगर वधशाला निर्माण गर्न असफल भयो। जसकारण पोखरेलीहरू पहिले जसरी नै मनलाग्दी ठाउँमा वध गरिएको मासु खान बाध्य छन्। अव्यवस्थित रूपमा जथाभावी वध गर्ने स्थिति अहिले पनि कायम छ। दुर्गन्ध घट्नुको सट्टा बढ्दो छ। पोखरेली उपभोक्ता झिँगा भन्केको मासु खान बाध्य छन्। कहिलेकाहिँ त खसीको भनेर बाख्रीको मासु बेच्ने गरेको गुनासो पनि सुन्ने गरिएको छ।

आर्थिक अभावले वधशाला निर्माणमा ढिलाइ भएको भने होइन। बरु महानगरको नेतृत्वको इच्छाशक्ति नै नभएकाले वधशाला निर्माणले सार्थकता नपाएको हो। महानगरले २४ करोड रूपैयाँको लागतमा अत्याधुनिक वधशाला निर्माण गर्ने भन्दै प्रक्रिया अगाडि बढाएको थियो।

वधशाला निर्माणका लागि लाग्ने २४ करोड रूपैयाँमध्ये संघ सरकारले १० करोड, प्रदेश सरकारले ५ करोड दिने सम्झौता नै भइसकेको छ। त्यसबाहेक हेफर नेपालले नौ करोड रूपैयाँ मूल्य बराबर को वधशालाका लागि आवश्यक पर्ने प्राविधिक सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो। बाँकी अपुग हुने स्थितिमा महानगर आफैंले बेहोर्ने भनिएको थियो।

तर, वधशाला निर्माण नहुँदा संघ र प्रदेश सरकारको बजेट गत वर्ष नै फ्रिज भएर फिर्ता भइसकेको छ। हेफर नेपालले गर्ने भनिएको प्राविधिक सहयोग पनि अहिले गर्ने वा नगर्ने भन्ने अन्योल देखिएको छ। जसले गर्दा पोखरामा वधशाला निर्माण नै हुन्छ कि हुँदैन भन्ने प्रश्नचिह्न खडा भएको छ।

सुरुमा जग्गा नभेटिएको भन्दै पशु वधशाला निर्माणमा ढिलाइ भयो। पछि जग्गा खोज्ने जिम्मा पाएको समितिले पोखरा-२१ मा जग्गा खोजेर  ठिक्क पार्‍यो तर जग्गा प्राप्ति नभएको भन्दै काम रोकियो। त्यसपछि महानगर त्यो निर्णयबाट पछि हटेर सहारा एकेडेमी र ओसो ध्यान केन्द्रबीच खाली जग्गामा बनाउने तयारी गर्‍यो।

मानव बस्ती पनि नभएकाले वधशाला निर्माणका लागि सो ठाउँ उपयुक्त हुने महानगरको ठम्याइ थियो। त्यहाँको जग्गा पनि प्राप्ति त भयो तर स्थानीयको अवरोध भनेर निर्माण कार्य अघि बढाइएन। त्यसपछि पोखराकै दक्षिणी क्षेत्रको कुनै वडामै वधशाला निर्माण गर्ने तयारी छ तर ठाउँ खुलाउँदा स्थानीय विरोधमा उत्रिने डरले ठाउँको नाम सार्वजनिक गरिएको छैन। यद्यपि पशु वधशाला निर्माण कार्य भने अगाडि बढ्न सकेको छैन।

निर्माण गर्ने भनिएको तीन वर्ष बित्दा पनि वधशाला निर्माण नहुनुमा महानगर नेतृत्व र कर्मचारीको इच्छाशक्ति नपुगेको देखिन्छ। उपभोक्ता मञ्च गण्डकी प्रदेश अध्यक्ष कपिलनाथ कोइराला महानगरपालिकाको उदासीनताका कारण वधशाला निर्माणमा ढिलाइ भएको बताउँछन्। ‘वधशाला निर्माणका लागि पैसा पनि छ अनि जग्गा पनि पाइएकै हो तर जनप्रतिनिधि र कर्मचारीको उदासीनताका कारण अहिलेसम्म वधशाला निर्माण भएन,’ उनले भने।

जनप्रतिनिधि र कर्मचारी काम गर्नुभन्दा वधशालाको नाममा अध्ययन अवलोकन जाने र घुमघाम गर्ने ध्याउन्नमा लागेको आरोप लगाउँदै उनले थपे, ‘विदेश जाने मस्ती गर्ने काम मात्र गरे। अध्ययनका नाममा कहिले अमेरिका त कहिले युरोपियन देश, अनि कहिले दिल्ली जाने काम भयो तर वधशाला बनाउन काम गर्ने इच्छा न जनप्रतिनिधिले देखाए न त कर्मचारीले नै।’

पोखरा महानगरपालिका पशु विकास महाशाखा प्रमुख नवराज अधिकारी भने कर्मचारीले भन्दा पनि जनप्रतिनिधिका कारण काम अघि बढ्न नसकेको बताउँछन्। ‘कर्मचारीको काम निर्णय भएको कुरा कार्यान्वयन गर्ने हो,’ उनले भने, ‘तर निर्णय गर्ने त जनप्रतिनिधिले नै हो। त्यही निर्णय नहुँदा वधशाला निर्माण कार्य अघि बढ्न सकेन।’ जग्गा प्राप्तिमा होस् वा स्थानीयको विरोध आउँदा जनप्रतिनिधिले ‘बोल्ड डिसिजन’ गर्नुपर्ने हो,’ उनले थपे, ‘तर सुरुमा निर्णय नै भएन। त्यसपछि तत्कालीन मेयर मानबहादुर जिसीज्यू बिरामी हुनुभयो, त्यसपछि भने कसैको पनि त्यसतर्फ ध्यान गएन।’ उनले नयाँ मेयर धनराज आचार्यसँग पनि यसबारे छलफल गरी नसकेकाले कहिलेदेखि निर्माण सुरु हुन्छ यसै भन्न नसकिने बताए। तर, निर्माण गर्नेमा भने द्विविधा नरहेको उनको प्रष्टोक्ति छ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य पनि पोखरामा अत्याधुनिक वधशाला निर्माण गर्नुपर्छ भन्नेमा महानगर दृढ रहेको बताउँछन्। तर, अहिलेसम्म किन बनेन भन्नेबारे आफू अनभिज्ञ रहेको उनको भनाइ छ। ‘वधशाला बनाउनुपर्छ भन्नेमा आशंका छैन। तर, पहिले किन बनेन? बनाउनका लागि कसले सहयोग गर्ने भनेका थिए त्यसबारे जानकारी भएन। अब महानगरको बजेट पारित भएपछि यसबारे सरोकारवालासँग बसेर निर्णय गर्छौं,’ उनले भने।

हाल बनाउन लागिएको वधशाला अत्याधुनिक हुने महानगरले जनाएको छ। एक हजारवटा खसीबोकासम्म एकैदिन वध गर्न मिल्ने गरी वधशाला निर्माण गर्न लागिएको पोखरा महानगरपालिका पशु विकास महाशाखा प्रमुख अधिकारीले जानकारी दिए। उनका अनुसार खसी–बोका काट्ने अत्याधुनिक मेसिन ल्याइनेछ। वधशालामा पशुवध गर्नुअघि त्यसको स्वास्थ्य परीक्षण गरिने उनले बताए। उनका अनुसार पशु स्वस्थ रहेको प्रमाणित भएपछि मात्रै वध गरिनेछ।

अस्वस्थ खसी–बोका भने नकाटिने उनले स्पष्ट पारे। वध गरिसकेपछि त्यसको मासु, छाला, आन्द्राभुँडी, खुट्टा, हड्डी लगायत छुट्याइनेछ। काटिएको मासु प्याकेजिङ गरेर टाँचा मारेपछि बजारमा जाने व्यवस्था गरिने उनले जानकारी दिए। वधशाला निर्माण भएपछि बाहिर खुला रूपमा खसीबोका काट्न नपाइने उनले बताए। त्यस्तै, कुखुराका लागि पनि छुट्टै वधशाला निर्माण गरिनेछ। महानगरले राँगा, भैंसी र बंगुरका लागि पनि छुट्टाछुट्टै वधशाला निर्माण गर्ने जनाएको छ।

प्रकाशित: २६ असार २०७९ ०६:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App