१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

पोखराः क्षेत्रीय अस्पतालमा मिर्गौला प्रत्यारोपण सफल

पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गर्न सफल चिकित्सक टिम। तस्बिर सौजन्यः पश्चिमाञ्चल क्षेत्रीय अस्पताल

यहाँस्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मिर्गौला प्रत्यारोपणको पहिलो प्रयास सफल भएको छ। गण्डकी प्रदेशको मुकामको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पताल विहीबार गरिएको मिर्गौला प्रत्यारोपणको पहिलो प्रयास सफल भएको हो।

अस्पतालका अनुसार कास्की जिल्ला अन्नपूर्ण गाउँपालिका–७ निवासी ५१ वर्षिया महिलामा मिर्गौला प्रत्यारोपण गरिएको थियो। ती महिलालाई उनका ५३ वर्षिय पतीले मिर्गौला दान गरेपछि प्रत्यारोपण गरिएको अस्पतालका निर्देशक प्राडा भरतबहादुर खत्रीले जानकारी दिए। पोखरामा मिर्गौला प्रत्यारोपण सफल भएसँगै अब प्रत्यारोपणका लागि काठमाडौं, भारत लगायतका ठाउँमा जानुपर्ने बाध्यता हटेको उनले बताए।  

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको सहयोगमा केन्द्रका कार्यकारी निर्देशक डा.पुकारचन्द्र श्रेष्ठको नेतृत्वको आठजनाको चिकित्सकको टोलीले सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरेको डा.खत्रीले बताए। मिर्गौला प्रत्यारोपणमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका शल्य चिकित्सक डा.प्रकाश क्षेत्री, डा.अनुप चापागाईं, डा.सन्तोष श्रेष्ठ, एनेस्थेसियालोजिस्ट डा.माया लामा र डा.अनिलप्रसाद न्यौपाने, नेफ्रोलोजिस्ट डा.जुजुराज श्रेष्ठ, डा.अमृत केसी, बरिष्ठ अस्पताल नर्सिङ प्रशासक सरिता कार्की, ट्रान्सप्लान्ट कोअर्डिनेटर गीतादेवी तिवारी, अप्रेशन ईञ्चार्ज कविता पौडेल लगायतका थिए।  

मिर्गौला प्रत्यारोपण पश्चात प्रत्यारोपित पुरुषको रेडियोलोजी विभागका डा.कृष्ण बुढाथोकीले विरामीको मिर्गौलाको डप्लरस्क्यान गरेका छन्। उनका अनुसार मिर्गौला प्रत्यारोपित व्यक्तिको मिर्गौलाले अहिले राम्रोसँग काम गरिरहेको छ।

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले देशका सातै प्रदेशमा मिर्गौला प्रत्यारोपण सेवा विस्तार गर्ने कार्यक्रम अन्तर्गत पहिलोपटक गण्डकीमा प्रत्यारोपण गरेर सेवा शुरु गरेको केन्द्रका कार्यकारी निर्देशक डा.पुकारचन्द्र श्रेष्ठले जानकारी दिए। सरकारी अस्पतालमा मिर्गौला प्रत्यारोपण गर्ने राजधानी काठमाडौं बाहिरको पहिलो अस्पताल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल बनेको छ।

अर्कोतर्फ पहिलो प्रत्यारोपणमै पुरुषको मिर्गौला महिलामा प्रत्यारोपण भएको छ। नेपालमा प्रत्यारोपण हुने ८० प्रतिशत मिर्गौला प्रत्यारोपणमा महिलाले पुरुषलाई मिर्गौला दान दिनेगरेको तथ्याङ्क छ। ‘तर पोखरा भाग्यमानी रहयो र उदाहरणीय बन्न सफल भएको छ कि पहिलो प्रत्यारोपण नै पुरुषको अंग महिलाकोमा प्रत्यारोपण गरिएको छ,’ उनले भने।

पछिल्लो एक वर्षदेखि प्रत्यारोपणको तयारी शुरु गरेपनि ६ महिना अघि गत पुसमा मिर्गौला प्रत्यारोपण गर्नेबारे सम्झौता भएको थियो। मिर्गौला प्रत्यारोपणको नेतृत्व गरेका डा.श्रेष्ठ प्रत्यारोपणको सफलताले आफूहरुलाई उच्चतम सन्तुष्टी दिएको बताउँछन्। ‘यो सुखद क्षण हो। किनकी हामी प्रत्यारोपण गर्न सफल भएका छौं,’ उनले भने। प्रत्यारोपणमा कुनै कमिकमजोरी नहोस् भन्नेमा आफूहरु सजग र सचेत भएर लागेको भन्दै उनले पहिलो प्रयास सफल भएकाले मिर्गौला प्रत्यारोपणमा पोखरा नमूना बन्ने विश्वास व्यक्त गरे।

मिर्गौला प्रत्यारोपणको पहिलो प्रयास सफल भएपछि अस्पताल परिवार उत्साहित भएको छ। अस्पतालका निर्देशक प्राडा खत्री भन्छन्, ‘पहिलो प्रत्यारोपण सफल हुन्छ कि हुँदैन भन्ने चिन्ताको विषय थियो। तर कुशल व्यवस्थापनमा चिकित्सकीय टोलीले सफलतापूर्वक विरामीमा मिर्गौला प्रत्यारोपण गर्न सफल भएको हुँदा हामी अत्यन्त उत्साहित र खुशी छौ, उनले भने। उनले मासिक दुई जनाको दरले मिर्गौला प्रत्यारोपण गर्ने योजना अस्पतालले बनाएको जानकारी दिए।  

‘अब मिर्गौला प्रत्यारोपणको काम नियमित हुन्छ। केन्द्रको सहयोग र साथ त नियमित हुन्छ नै। सँगसँगै प्रतिष्ठानमा कार्यरत चिकित्सक, नर्स तथा प्राविधिकहरुलाई आत्मनिर्भर बनाउनका लागि सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रबाट तालिम प्रदान गर्ने योजना हामीले बनाएका छौं,’ उनले भने।

प्रकाशित: १० असार २०७९ ०८:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App