२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

धारामा लेदोसहितको पानी, स्थानीय हैरान

फोटो क्याप्सन ः बर्षायाम चलिरहे पनि पाँचथर सदरमुकाम फिदिमको ट्याङकीधारमा पानी थाप्नका लागि लाईन। तस्विर ःगिरिराज बाँस्कोटा÷नागरिक

सदरमुकाम फिदिममा वितरण भएको खानेपानीमा पछिल्लो हप्ता धमिलो पानी आउने गरेकाले उपभोक्ताहरु हैरान भएका छन्। फिदिम साना सहरी खानेपानी योजना अनुरुप घरमा वितरण गरिएको पानी प्रयोग गर्नै नसक्ने गरी धमिलो आउने गरेको छ।  

आयोजना सम्पन्न भएपछि खानेपानीको समस्या समाधान हुने आशा राखेका सदरमुकामबासी निराशमात्र भएका छैनन् दुषित पानीका कारण संक्रमण पनि बढ्न थालेको छ। नजिकमा रहेका धारामा पानी थाप्नेको भिड लाग्न थालेको छ।

‘लेदोसहितको पानी आउँछ। खाने होईन छुनै नसक्ने अवस्था छ। हामीले बैकल्पि व्यवस्था गर्न बाध्य भएका छौँ’ अजिमा होटलका सञ्चालक विमल श्रेष्ठ भन्छन् ‘फिदिममा पानीको समस्या कहिले समाधान नहुने भयो।’

सदरमुकाम फिदिमभन्दा १६ किलोमीटर टाढा रहेको आप्तवा खोलाबाट ल्याईएर फिदिमको बजार क्षेत्र वार्ड न. १, २ र ४ मा वितरण गरिएको पानी धमिलो आउने गरेको छ। यो आयोजनाबाट २ हजार भन्दा धेरै घर धुरीमा धारा जोडिएको छ। पिउनकालागि उत्तम भनिएको भएपनि पछिल्लो समस्या अन्यकामका लागि समेत प्रयोग गर्न नसकिने पानी आउँछ। केहि बर्ष अगाडी सम्पन्न भएको खानेपानी आयोजनाबाट धमिलो पानी आएपछि उपभोक्ता आजित छन्।  

जिल्ला समन्वय समिति प्रमुख रामराज आङदेम्बेले  विपत व्यवस्थापन समितिको बैठकमा पानी पिउने हैन नुहाउनै नसकिने किसिमको आउछ भन्दै टिप्पणी गरेका थिए। १७ करोड  १४ लाख बजेट खर्चिएर बनेको खानेपानी आयोजनाबाट शुद्ध पानी नआउदा खानेपानी समस्या जस्ताको त्यस्तैमा पुगेको छ। आयोजना सञ्चालन र खानेपानी वितरणको जिम्मा फिदिम साना शहरी खानेपानी आयोजनाको जिम्मामा छ। तर यो उपभोक्ता समितिको अधिवेशन नभएको बर्षौ वितिसकेको छ।  

फिदिमको माथिल्लो गाँउमा राखिएको फिल्टरले पनि काम गर्न सकेको छैन्।  उपभोक्ता समितिले राम्रो प्राविधिक पनि राख्न सकेको छैन्। महभिर छेउमा बनाईएको रकिङ फिल्टरपनि सञ्चालनमा आउन सकेको छैन्। ‘मुहान भन्दामाथि सडक खनिएकाले पानी धमिलो आईरहेको छ। मुहानबाटै धमिलो आएकाले समस्या भएको छ’ खानेपानी उपभोक्ता समितिका अध्यक्ष गजाधर भटराईले भने ‘आयोजना बन्दा यस्तो हिलो आउछ भन्ने अनुमान नभएकाले सोहि अनुसारको फिल्टर राख्ने स्टिमेटनै बनेन।’ मुहान भएको खोलाभन्दा माथि सडक खनिएको भटराईको भनाई छ। भटराई फिदिम १ नम्बर वार्डका वार्डध्यक्ष समेत हुन्।

र्‍यापिट फिल्टरको आवश्यकता देखिएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय पाँचथरका प्रमुख देवनाथ सिंह बताँउछन्। ‘यो आयोजना खानेपानी उपभोक्ता समितिले हेर्छ, हामीले हेर्दैनौँ। फिदिममा धमिलो पानी आउने समस्या छ’ सिंहले भने ‘मुहानमा हिलो पस्न नदिने, अहिलेको फिल्टर सफा गरीरहने, र्‍यापिट फिल्टर राख्ने तथा रकिङ फिल्टर चलाउनु पर्ने देखिन्छ।’

दुषित पानीका कारण झाडा पाखाल लगायतका सरुवा रोगका विरामी बढ्न थालेका छन्। पाँचथर अस्पताल तथा फिदिममा सञ्चालीत अन्य अस्पतालमा यस किसिमका विरामी बढ्न थालेका छन्। मेडीकल सञ्चालकहरुका अनुसार दैनिक झाडापखाला लगायतका सरुवा रोगको औषधि किन्न आउनेको संख्या बढ्दै गएको छ। ‘धारामा फोहf]र पानी आईरहेको छ। यसले सरुवा रोग बढाउने सम्भाव छ’ पाँचथर अस्पतालका प्रमुख डा.वुद्धिबहादुर थापाले भने ‘समयमै सचेत हुन आवश्यक छ।’

बर्षा चलिरहेको छ। तर फिदिमका उपभोक्ताहरु नजिकका धारामा गएर लाईनमा बसेर पानी थाप्न बाध्य छन्। शिवालय मन्दिर छेउमा ट्याङकीधारामा विहान सवेरैदेखि बेलुका अबेरसम्म पानी थाप्नेको भिड हुन्छ।

प्रकाशित: ७ असार २०७९ १४:४० मंगलबार