१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

ताप्लेजुङमा बाढीपहिरोः कतै घर बगायो, कतै पशुचौपाया

लगातारको वर्षापछि आएको बाढीपहिरोले ताप्लेजुङका अधिकांश क्षेत्रहरुमा जोखिम बढाएको छ।

शुक्रबार राति फक्ताङ्लुङ गाउँपालिका वडा नं २ खेजेनिम चावाखु टोलका जीवन बाराकोटीको घर पहिरोले बगाएको छ। घर माथिबाट झरेको पहिरोले बाराकोटीको घर बगाएको छ भने उक्त बस्ती नै पहिरोको उच्च जोखिममा परेको त्यहाँका वडाध्यक्ष भूपेन्द्र चौंलागाईले जानकारी दिए।

पहिरो बग्न सक्ने जोखिम देखेपछि ६ जना सदस्य रहेको बाराकोटीका सबै सदस्य सुरक्षित स्थानमा सरेका कारण मानवीय क्षति भने हुन पाएन। चौलागाईंका अनुसार बाढीपहिरोले पालिका उपाध्यक्ष समेत रहेका जीवन साम्रा लिम्बूको गोठमा २१ वटा बाख्रा बगाएको छ।

पहिरोले फक्ताङलुङ गाउँपालिका वडा नं १ सावादिन तेम्रुङका टेकबहादुर श्रेष्ठको एउटा भैसी, एउटा गोरु र ११ वटा बाख्रा बगाएको छ। पहिरोका कारण चावाखु बस्ती नै पूरै जोखिममा परेको छ। पहिरोले सो बस्ती नै चिराचिरा बनाएपछि त्यहाँ बसोबास गर्दै आएका ३० घरपरिवार जोखिममा परेका छन्।

बस्ती नै जोखिममा परेपछि त्यहाँ बसोबास गर्दै आएका परिवारलाई सुरक्षित ठाउँमा सार्ने तयारी भइरहेको वडाध्यक्ष चौंलागाईंले बताए। यस्तै माथिपट्टी पहरो रहेको क्षेत्र नजिक रहेको सिँवा बजारका स्थानीय समेत रातको समयमा सुरक्षित स्थानमा सरेर सुत्ने गरेको सिँवा माविका प्रधानाध्यापक ओमनाथ गौतमले जानकारी दिए।

खोलामा पानीको सतह र कच्ची सडक जताततै बिग्रिएको र पहिरोले क्षति पुर्‍याएका कारण ताप्लेजुङका अधिकाँस ग्रामीण बस्तीतर्फ जाने सवारी आवागमन रोकिएको छ। उता पहिरोले २ जनाको मृत्यु र १ जना सख्त घाइते भएको सिरिजङ्गा गाउँपालिका वडा नं ७ खेवाङको तेम्फु क्षेत्रमा जोखिम कायम रहेको छ।

खेवाङका वडाध्यक्ष बुद्धि दाहालका अनुसार सम्भावित जोखिम आङ्कलन गरी जोखिम क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्न थालिएको छ। पहिरोले सिरिजङ्गा गाउँपालिका वडा नं मामाङ्खे, वडा नं ५ पेदाङ, वडा नं ४ तेल्लोक, वडा नं २ आम्बेगुदिन र वडा नं १ सिनाममा समेत प्रभाव पारेको छ।

त्यहाँ रहेको विद्युत् उत्पादन केन्द्र पहिरोले बगाएपछि धेरै क्षेत्र अन्धकारमय भएका छन्। पहिरोले सडक र खोलामा रहेका पक्की पुल समेतमा असर गरेको छ। पहिरोले जोखिम बढाएपछि सिदिङ्वा गाउँपालिकाले जोखिम कम नभएसम्मका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ।

सिरिजङ्गा गाउँपालिका उपाध्यक्ष डाक्टर चित्र मावोले जोखिम आङ्कलन गरी जोखिम कम नहुँदासम्मको अवस्थामा विद्यालय बन्द गर्ने अधिकारी स्थानीय विद्यालय व्यवस्थापन समितिलाई दिएको बताएका छन्।

बाढी र पहिरोको जोखिमका कारण फक्ताङ्लुङ गाउँपालिका वडा नं ३ लिङखिमका सबै विद्यालय जोखिम कम नहुँदासम्मको अवधिका लागि बन्द गरिएका छन्। पहिरोले पाथीभरा याङ्वरक गाउँपालिकाको भित्री क्षेत्र प्रवेश गर्ने सडकमा समेत क्षति गरेसँगै कच्ची सडकमा यातायात सेवा अवरोध हुन पुगेको छ।

पहिरोबाट घाइते खेवाङका अधिकारी डिस्चार्ज

समयमै उद्धार भएर चाँडो उपचारको पहुँचमा पुगेका कारण बिहीबार रातिको पहिरोमा परी घाइते भएका सिरिजङ्गा गाउँपालिका वडा नं ७ खेवाङका बिष्णु अधिकारी उपचार पछि अस्पतालबाट डिस्चार्ज भएका छन्।

बिहीबार राति पहिरो आएपछि घरबाट भाग्ने क्रममा उनी सख्त घाइते भएका थिए। घाइते उनलाई जिल्ला विपद् व्यवस्थापन समितिको आग्रहमा गृह मन्त्रालयले पठाएको नेपाली सेनाको हेलिकोप्टरले उद्धार गरी उपचारका लागि कोशी अञ्चल अस्पताल बिराटनगर पुर्‍याएको थियो।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख (डिएसपी) कैलाश राईले घाइते अधिकारी उपचार पछि अस्पतालबाट डिस्चार्ज भएको जानकारी दिए। पहिरोले घर बगाएपछि बिष्णुकी आमा तुलसा र श्रीमति यसोदाको मृत्यु भएको थियो भने उनी भागेर बाँचेका थिए। भाग्ने क्रममा उनी घाइते भए।

जोखिम क्षेत्रका विद्यालय जोखिम कम नहुँदासम्म बन्द गराउने तयारी

बाढी र पहिरोको जोखिम बढ्दै गएपछि जिल्ला विपद् व्यवस्थापन समितिले जोखिम प्रभावित क्षेत्रका विद्यालय जोखिम कम नहुँदासम्मका लागि बन्द गराउने योजना बनाएको छ।

जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले पानी पर्ने क्रम नरोकिएको र बाढी र पहिरोको जोखिम उत्तिकै रहेको भन्दै सम्बन्धित स्थानीय तहसँगको समन्वयमा जोखिम प्रभावित क्षेत्रका विद्यालयहरु जोखिम कम नहुँदासम्मको अवधिका लागि बन्द गर्ने÷गराउने बारे छलफल भइरहेको जानकारी दिए।

प्रकाशित: ४ असार २०७९ ०८:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App