१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

चमत्कारले हैन मेहनतले उठ्छ फोहोर

सिथि नखः पर्वको दिन आइतबार नक्सालस्थित ढुंगेधाराको पेटीमा भगवान्को मूर्तिअगाडि थुपारिएको फोहोरले रविलाल सुवेदीको मन निकै दुखेको थियो। शुक्रबार तुलसीको दल राख्ने दिन यही स्थानमा पुग्दा विष्णु भगवान्छेउ उभिएका सुवेदी प्रसन्न मुद्रामा भेटिए।

‘यो चमत्कार हैन, सरोकारवालाको दिनरातको मेहनतले सम्भव भएको हो’, फोहोर व्यवस्थापनमा मेयर बालेन साहले देखाएको तदारुकताबाट प्रभावित सुवेदीले भने, ‘अब फेरि मन्दिरको आँगनमा फोहोर थुप्रिने दिन नआओस्।’

सहमति नै सहमति

फोहोर विसर्जनका लागि सहरी विकास मन्त्रालय र काठमाडौं महानगरपालिकाले एक सातामै तीनपटक फरक–फरक सरोकारवालासँग सहमति गर्नुपरेको छ। सोमबार, बिहीबार र शुक्रबार भएको पटक–पटकको सम्झौता र सहमतिपछि फोहोर विसर्जन समस्या तत्कालका लागि समाधान भएको हो। सहरी विकास मन्त्रालयमा शुक्रबार बिहान भएको सहमति कार्यान्वयन गर्ने सरकारी प्रतिबद्धतापछि बञ्चरे डाँडा संघर्ष समितिले आजबाटै काठमाडौंको फोहोर फाल्न दिने निर्णय गरेको छ।

संघर्ष समितिले आन्दोलनका कार्यक्रम स्थगित गरेसँगै काठमाडौंबाट गएका ट्रकहरूले ल्यान्डफिल साइटमा फोहोर खसाल्न थालेको काठमाडौं महानगरपालिकाका प्रवक्ता महेशकुमार काफ्लेले बताए। ‘अब चाँडै सहर सफा हुने छ’, उनले भने, ‘सहरबासीले पनि यसका लागि आवश्यक सहयोग पुर्‍याउने विश्वास लिएका छौं।’

केही सहमति तत्काल कार्यान्वयन गर्ने र केही सहमति मन्त्रिपरिषद्बाट निर्णय गराएर कार्यान्वयन गर्ने भनी सहरी विकास मन्त्रालयले भनेपछि फोहोर फाल्न दिने निर्णयमा पुगेको संयोजक श्रीराम ढुंगानाले बताए। ‘आजबाट फोहोरले युगान्तकारी निकास पाएको छ’, उनले भने, ‘तर राज्य आफ्नो बाचाबाट चुक्नु भएन।’

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले यसअघि धेरै सम्झौता र कागज गरिसकेको उल्लेख गर्दै अब कागजभन्दा पनि काममा विश्वास गर्न आग्रह गरिन्। यसअघि बिहीबार राति काठमाडौं महानगरपालिका र स्थानीयबीच बिहीबार राति १८ बुँदे सहमति भएको थियो।

पहिलो सहमतिचाहिँ सोमबार सहरी विकासमन्त्री रामकुमारी झाँक्री र काठमाडौं महानगरका मेयर साह, प्रभावित क्षेत्रका धुनीबेंसी नगरपालिका र ककनी गाउँपालिकाबीच भएको थियो। ‘सहमतिका मुख्य बुँदामा खासै विवाद नभए पनि व्यक्तिगत ‘इगो’ र ‘चलखेल’ का कारण समस्या बल्झेको थियो’, ढुंगानाले भने, ‘अन्ततः सबैको चित्त बुझ्ने गरी सहमति भएको छ।’

अविचलित पाइला

फोहोर समस्या समाधान नगरेसम्म विजयोत्सव नमनाउने निर्णय लिएका बालेन साह मेयर चुनिएकै दिन जेठ १३ गते दिउँसो केही सहयोगी लिएर ल्यान्डफिल साइट रहेको ककनी गाउँपालिकास्थित सिसडोल र बन्चरे डाँडा पुगे। उनले त्यहाँका स्थानीयसँग कुराकानी गर्दै फोहोर विसर्जनका कारण निम्तिएका समस्या चाँडै समाधान गर्ने बताए।

सोही दिन फोहोर समस्या समाधानकै विषयमा ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङलगायतसँग राति १० बजेसम्म अनौपचारिक छलफलसमेत गरे। जेठ १६ गते पदको शपथ लिने क्रममा मेयर साहले फोहोर व्यवस्थापनकै विषयमा केन्द्रित रहेर धारणा राखे। त्यसपछि साहले १८ गते सहरी विकासमन्त्री रामकुमारी झाँक्रीलाई भेटेर फोहोर व्यवस्थापनबारे बृहत् छलफल गरे।

भेटमा साहले बञ्चरे डाँडा ल्यान्डफिल साइटमा फोहोर विसर्जनका लागि मन्त्रालयले सहयोग गर्नुपर्ने भन्दै सो विषयमा मन्त्रालयले गरेका प्रतिबद्धता शतप्रतिशत कार्यान्वयन गर्न मन्त्री झाँक्रीसँग अनुरोध गरे। मन्त्री झाँक्रीले काठमाडौंको फोहोर व्यवस्थापनका लागि सहकार्य गर्न सधैं तयार रहेको बताइन्।

मेयर साह २० गते शुक्रबार फेरि सिसडोल पुगे। आफू भर्खरै जिम्मेवारीमा आएकाले फोहोर व्यवस्थापनका लागि केही दिन सोच्न, योजना बनाउन र आवश्यक काम अगाडि बढाउन दिन सिसडोलका स्थानीयसँग अनुरोध गरे। ‘म आफ्नो जागिर र काम छाडेर जनताको सेवाका लागि मेयर पदमा लडेको हुँ’, उनले त्यतिबेला भनेका थिए, ‘मलाई काम गर्न दिनुस्।’

आफूले सहजरूपमा काम गर्न पाए एक साताभित्रै सिसडोललाई दुर्गन्धमुक्त बनाउने प्रतिबद्धता उनले व्यक्त गरे। साहले केमिकल हालेर एक साताभित्रै सो ठाउँलाई दुर्गन्धमुक्त बनाउने प्रतिबद्धता व्यक्त गरे। फोहोर विसर्जनस्थलको अनुगमनका क्रममा स्थानीयको गुनासो सुनिसकेपछि उनले दुर्गन्ध हटाउने उपायबारे आफूले विज्ञहरूसँग आवश्यक छलफलसमेत गरेको बताए। ‘केमिकल हालेको एक साताभित्र दुर्गन्ध आउने छैन’, उनले भने, ‘त्यसका लागि स्थानीयले केही सहयोग गर्नुपर्ने हुन्छ।’

उनको लगातारको मेहनतपछि काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनका लागि सहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका र प्रभावित क्षेत्रका स्थानीय तहबीच सोमबार पहिलोपटक त्रिपक्षीय सहमतिसमेत भयो। सहरी विकासमन्त्री रामकुमारी झाँक्री र काठमाडौं महानगरका मेयर साह, उपमेयर सुनिता डंगोलको रोहबरमा मन्त्रालय, महानगर र प्रभावित क्षेत्रका धुनीबेंसी नगरपालिका र ककनी गाउँपालिकाबीच भएको सहमतिपछि मंगलबारबाट फोहोर उठाउने तयारी भयो।

सहमतिलगत्तै काठमाडौं महानगरपालिकाका प्रमुख साहले अब फोहोर थुप्रिएर काठमाडौंबासीले दुःख भोग्नु नपर्ने बताए। उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘अब फोहोर उठ्ने छ, यो सबैका लागि निसन्देह खुसीको खबर हो। अहिलेसम्म फोहोर थुप्रिएर भएको दुःखका लागि क्षमाप्रार्थी छौं।’ तर उनले भनेजस्तो भएन।

सोमबारको सहमतिमा स्थानीयलाई सहभागी नगराएको भन्दै एक पक्षले आन्दोलन जारी राख्ने बतायो। बञ्चरे डाँडा संघर्ष समितिको अवरोधबीच त्यहाँस्थित ल्यान्डफिल साइटमा मंगलबार काठमाडौंको केही टिपर फोहोर विसर्जन त गरियो, तर त्यसले समस्या थप बल्झायो।संघर्ष समितिका नाममा स्थानीयले फोहोर विसर्जनमा अवरोध खडा गरेपछि स्थानीय प्रशासनको सहयोगमा प्रहरी परिचालन गर्नुपरेको थियो।

प्रहरीको सहयोगमा फोहोर विसर्जन गरी काठमाडौंबाट गएका गाडी त फर्किए, तर समस्या समाधान भएन। अवरोध गर्ने केहीलाई प्रहरीले नियन्त्रणमा समेत लियो। त्यसको विरोधमा बुधबार स्थानीय थप आक्रोशित बने। जसका कारण काठमाडौंबाट फोहोर लिएर बञ्चरे डाँडामा पुगेका टिपर फर्किन बाध्य भए। बुधबार पनि स्थानीयले लगातार अवरोध पुर्‍याएपछि टिपर फर्किएका हुन्।

प्रहरी नै परिचालन गरी बञ्चरे डाँडामा फोहोरको टिपर लगिए पनि स्थानीयले ढुंगामुढा गरेपछि तोडफोड हुन सक्ने भन्दै फोहोरसहित फर्काइएको थियो। राजधानीमा समस्या झनै बल्झिन थाल्यो। काठमाडौंका सडक गल्लीमा करिब दुई सातादेखि फोहोर उठ्न नसकेका कारण कुनै पनि बेला स्वास्थ्यजन्य समस्या आउन सक्ने चेतावनी चिकित्सकले दिइरहे।

हैजा फैलिने डर

उपत्यकाको फोहोरको दीर्घकालीन व्यवस्थापनका विषयमा राष्ट्रिय सभाका सांसदले सरकारको ध्यानाकर्षण गराए। राष्ट्रिय सभाको मंगलबार बैठकमा सांसद गोपीबहादुर सार्की अछामीले काठमाडौंका चोकचोकमा थुप्रिएको फोहोरको तत्काल व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराए।

‘फोहोरले नगरमा दुर्गन्ध बढेको छ, अहिले वर्षा भइरहेको छ’, उनले भने, ‘यसले हैजालगायत महामारी फैलिन सक्छ। ‘फोहोर व्यवस्थापनलाई महानगरको मात्र दायित्वका रूपमा कसैले पनि बुझिदिन नहुने भन्दै उनले फोहोर व्यवस्थापनको दीर्घकालीन समाधान खोज्ने सरोकारवाला सबैको उत्तिकै भूमिका रहने बताए।

फोहोर व्यवस्थापनका विषयमा बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवा र मेयर साहबीच भेट भएलगतै भएको वार्तामा काठमाडौं महानगरपालिका र स्थानीयबीच बिहीबार राति १८ बुँदे सहमति भयो। प्रभावित क्षेत्रका तर्फबाट बिहीबार राति भएको सहमतिपत्रमा ककनी गाउँपालिका १ र २ का अध्यक्ष तथा धुनीबेसी नगरपालिका १ र २ का अध्यक्षले हस्ताक्षर गरेका छन्।

सहमतिअनुसार फोहोर विसर्जन रातको समयमा हुने छ। साथै सिसडोल तथा बञ्चरे डाँडामा फोहोरको दुर्गन्ध नआउने गरी काठमाडौं महानगरपालिकाले एक महिनाभित्र व्यवस्थापन गर्ने, फोहोरबाट निस्कने लिच्चड खोलामा नमिसाउने गरी दुई महिनाभित्र वैज्ञानिक व्यवस्थापन गर्ने, फोहोर बोक्ने गाडीबाट बाटोमा लिच्चड नचुहिने व्यवस्था एक महिनाभित्र मिलाउनेलगायतका सहमति पनि भएको छ।

प्रकाशित: २८ जेष्ठ २०७९ ०२:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App