८ वैशाख २०८१ शनिबार
समाज

काठमाडौंले नसिकेको पाठ: यसरी हुन सक्छ फोहोर व्यवस्थापन

काठमाडौं नक्सालस्थित ढुंगे धाराको पेटीमा थुप्रिएको फोहोर। धाराको पर्खालमा भगवान्का चित्र बनाइए पनि फोहोर थुप्रिन छाडेको छैन।

राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व वातावरण दिवस (जुन ५) का अवसरमा आइतबार आम नेपालीलाई शुभकामना व्यक्त गर्दा काठमाडौं रातोपुल नजिकैकी मन्दिरा केसी नाक थुनेर पसलमा बसिरहेकी थिइन्। राष्ट्रपतिले ‘हाम्रा नदी र प्राणवायुले प्रदूषणको सिकार हुनुपरिरहेको’ भन्दै गर्दा केसी धोबीखोला किनारमा उक्त पीडाकी साक्षी थिइन्।

‘फोहोर थुप्रेको पनि थुप्रै दिन भइसक्यो,’ उनले भनिन्, ‘कहिले उठ्छ भन्ने टुंगो नहुँदा अत्यास लाग्दोरहेछ।’ फोहोरको थुप्रोका कारण स्वास्थ्य र व्यापारमा नकारात्मक असर पर्दै गएको उनले सुनाइन्। रातो पुलभन्दा केही दुरीमा रहेको नक्साल वरपरको अवस्था पनि उस्तै छ। सिथि नखः पर्वको दिन ढुंगे धाराको भित्री सरसफाइ निकै राम्रोसँग भयो। तर बाहिर थुप्रिएको फोहोरको डंगुरले भने पर्वलाई नै ओझेलमा पार्‍यो।

‘भगवान्का रूपमा पुजिने यी मूर्तिअगाडि पनि फोेहोरको डंगुर छ,’ ७६ वर्षीय सुरेन्द्र ताम्राकारले भने, ‘हेर्दाहेर्दै सहर फोहोरले पुरिँदैछ।’ काठमाडौं मन्दिरको सहरका रूपमा चिनिन्छ। यो पाटीपौवा, पोखरी, इनार, ढुंगेधारा र कुवाहरूको पनि धनी सहर हो। नेवाः सभ्यता र संस्कारअनुरूप सिथि नखः पर्व मनाइँदै गर्दा यो वर्ष भने निकै दुःख महसुस भएको उनले सुनाए। ‘मन्दिरको यो सहरमा फोहोर कसले बढार्ला,’ ताम्राकारले भने, ‘यस्तो दृश्यले हामीलाई दिक्क बनाउँछ।’

केसी र ताम्राकार मात्र होइनन्, काठमाडौं महानगरभित्रका विभिन्न सहर तथा गल्लीमा लामो समयदेखि थुप्रेको फोहोर उठ्न नसक्दा पुरै नगररवासी दुर्गन्धको पीडा भोग्न बाध्य छन्। सहरका सडकपेटी, गल्ली र चोकचोकमा फोहोरको डंगुर थुप्रिएर सहर दुर्गन्धित बनेको छ। आफ्ना माग पूरा नभएको भन्दै नुवाकोटको सिसडोलवासीले त्यहाँस्थित ल्यान्डफिल साइटमा फोहोर विसर्जन गर्न नदिएपछि काठमाडौं महानगर दुर्गन्धित बन्दै गएको हो।

महानगरका बागबजार, रातोपुल, डिल्लीबजार, घट्टेकुलो, मैतीदेवी, कमलादी लगायतका विभिन्न ठाउँमा फोहोर थुप्रिएको छ। बर्खाको पानी र गर्मीका कारण फोहोर कुहिएर थेगिनसक्नु दुर्गन्ध फैलिन थालेको छ। यसले झाडाबान्तालगायत रोगको महामारी निम्त्याउने सन्त्रास नगरवासीमा बढेको छ। यस्तै फोहोरकै कारण वाग्मती, धोबीखोला पनि थप प्रदूषित बन्दै गएका छन्। फोहोरका कारण ट्राफिक व्यवस्थापनमा पनि समस्या उत्पन्न हुन थालेको छ।

सडकका बीचमा समेत फोहोर थुप्रिँदा सवारी दुर्घटना बढ्न थालेको ट्राफिक प्रहरीले बताएको छ। ‘यो चोकमा त चारवटा बाइक पल्टिसके,’ जमल–ज्याठाचोक नजिक थुप्रिएको फोहोरको डंगुर देखाउँदै सञ्जय तुलाधर भन्छन्, ‘अझै पनि यो पन्छाउन कोही लागिपरेका छैनन्।’ यही फोहोरका कारण अझ धेरै समस्यामा छन् फलफूल पसले अनिल जैसवाल।

मासिक ३२ हजार भाडा तिरेर बसेका उनी पसलअघिकै फोहोरको थुप्रोको कारण व्यापार ठप्पै भएको बताउँछन्। ‘अब त म पसल नै बन्द गर्दैछु,’ उनले भने, ‘फोहोरको दुर्गन्धले आफैं बिरामी परिएलाजस्तो भइसक्यो।’ अहिले मात्र हैन, फोहोर व्यवस्थापन गर्ने ठाउँको राम्रो विकल्प नहुँदा दशकौंदेखि राजधानी फोहोरको समस्या बेहोर्न बाध्य छ।

सामान्य अवस्थामा काठमाडौं उपत्यकाबाट दैनिक करिब १ हजार मेट्रिक टनभन्दा बढी फोहोर उत्पादन हुन्छ। काठमाडौं महानगरमा गत फागुनदेखि हालसम्म ६० दिनभन्दा धेरै समय फोहोरमैला सडकमै यत्रतत्र थुप्रिँदै आएको छ। ‘धेरै कराएपछि एउटा कुनाको फोहोर लिएर अर्को कुनामा थुपारिन्छ,’ मैतीदेवीकी शर्मिला श्रेष्ठले भनिन्, ‘जता गए पनि अहिले काठमाडौंमा फोहोर मात्र देखिन्छ।’

प्रकाशित: २३ जेष्ठ २०७९ ०२:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App