८ वैशाख २०८१ शनिबार
समाज

‘अब छाङरु र तिंकर पुग्ने गोरेटो बन्छ’

स्थानीय तहको निर्वाचनमा मत माग्न छाङरु र तिंकरका मतदातासामु पुगेका वडाध्यक्षका उम्मेदवार अशोकसिंह बोहराले आफूलाई जिताएमा गाउँ पुग्ने गोरेटो बनाउने प्रतिबद्धता गरेका थिए। बोहराको प्रतिबद्धता मन पराएर छाङरु र तिंकरवासीले उनलाई वडाध्यक्षमा जिताए।

चुनाव जितेर पदबाहली गर्दै गर्दा उनले भने, ‘मैले चुनावमा मत माग्दै गर्दा बोलेको कुरा पुर्‍याउन यसपालि गाउँसम्मै पुग्ने गोरेटो बाटोका लागि विशेष पहल गर्छु।’ जनताले गाउँमा सुविस्ता होस् भनेरै आफूलाई भोट हालेको बताउँदै उनले भने, ‘मैले चुनावमा भोट माग्दा गरेका बाचा पूरा गर्छु, त्यसका लागि म जुनसुकै कदम चाल्न तयार छु।’

भारतको कब्जामा रहेको दार्चुलाको नेपाली भूमि कालापानी नजिकैको बस्ती छाङरु र तिंकर अझै गोरेटो बाटोबाट टाढा छ। व्यास गाउँपालिका वडा नम्बर १ मा रहेको छाङरु र तिंकरमा नेपालकै भूमि भएर जाने बाटो नभएका कारण स्थानीयले सदरमुकाम आउजाउ गर्न भारतीय बाटो प्रयोग गर्दै आएका छन्।

‘हामीलाई नेपालकै बाटो भएर आफ्नो गाउँ र जिल्ला सदरमुकाम आउजाउ गर्ने बाटो छैन,’ वडाध्यक्ष बोहराले भने, ‘गाउँपालिकाको सदरमुकाम रहेको सुन्सेरा जानै हामीलाई भारतीय मार्ग प्रयोग गर्नुपर्ने हुन्छ, त्यसको विकल्पका लागि तत्कालै गोरेटो बाटो निर्माणको पहल गर्नेछु।’

सौका जातिको बसोबास रहेको छाङरु र तिंकरमा ६ महिना अत्यधिक जाडो हुने भएकाले त्यहाँका स्थानीय जिल्ला सदरमुकाम खलंगामा बसाइँ सर्छन्। वैशाख महिनामा बसाइँ सरेर पुनः आफ्नै गाउँ फर्कन्छन्। जिल्ला सदरमुकाम होस् या पालिकाको सदरमुकाम जान नै किन नहोस् उनीहरूले भारतीय बाटो प्रयोग गर्नुपर्छ। भारतीय बाटो प्रयोग गर्न भारतीय प्रशासनको अनुमतिपत्र लिनुपर्ने हुन्छ।

वडाध्यक्षमा जितेपछि आफूले यहाँको पहिलो आवश्यकता स्वदेशकै भूमि भएर हिँड्न पाउने बाटो निर्माणलाई पहिलो प्राथमिकतामा राखेको बताए। ‘बाह्रै महिना हिँड्न सकिने बाटो बनाउने योजना बनाएको छु,’ उनले भने, ‘यसलाई साकार पार्न गाउँपालिकादेखि जिल्ला हुँदै केन्द्रसम्म पहल गर्नेछु।’ यसअघि पनि बाटो थियो तर कम बजेटका कारण राम्रो हुन नसकेको बताउँदै उनले भने, ‘अब त्यो बाटोलाई सधैंभरि हिँड्न सकिने बनाउँछु।’

हरेक वर्ष वर्षामा पहिरो र हिउँदमा हिमपहिरोले तिंकर र छाङरुको गोरेटो बाटो अवरुद्ध हुँदै आएको छ। छाङरु र तिंकरका साथै वडा नम्बर १ मै पर्ने गुञ्जी नावी र कुटी गाउँ भारतको नियन्त्रणमा छन्। ती गाउँहरू नेपालको नयाँ नक्सामा समेटिए पनि नेपालको प्रशासनिक अधिकार कायम हुन नसक्दा यसपालि स्थानीय तहको निर्वाचन हुन सकेन।  

कालापानी नजिकको गाउँबाट कसरी पुग्ने सदरमुकाम?

छाङरुबाट आधा घण्टाको पैदल हिँडेपछि भारत र नेपाल जोड्ने सीता पुल पुगिन्छ। सीता पुल पारी भारतीय भूमिमा चार लेन सडक छ। त्यही सडक भएर भारतीय मोटर चढेर मलकट्टे पुगिन्छ। सीता पुलदेखि मलकट्टेसम्म ४ घण्टाको सडक यात्रा गर्न प्रतियात्रु १६ सय नेपाली रूपैयाँ भाडा तिर्नुपर्छ।

मलकट्टे उत्रिएपछि पारिपट्टि सुन्सेरा पुगिन्छ। नेपालकै बाटो भएर सुन्सेरादेखि छाङरु जाने हो भने तीन दिनको पैदल यात्रा तय गर्नुपर्ने हुन्छ। छाङरुदेखि तिंकर जान पनि उत्तिकै कष्ट छ। छाङरुदेखि तिंकर करिब १२ किलोमिटरको दुरीमा पर्छ। छाङरुदेखि तिंकर जान पनि पैदलै यात्रा गर्नुपर्ने हुन्छ।

प्रकाशित: १५ जेष्ठ २०७९ ०८:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App