६ वैशाख २०८१ बिहीबार
समाज

चुनाव गराउन गाउँ हिँडे कर्मचारी

स्थानीय तहको निर्वाचन गराउन मतदान केन्द्रमा खटिने कर्मचारी चुनावी सामाग्री लिएर गाउँ हिँडेका छन्। सदरमुकाम चौतारास्थित जिल्ला निर्वाचन कार्यालयबाट मतपत्र, मतपेटिएका लगायत चुनावमा प्रयोग हुने सबैखाले सामाग्री बोकेर उनीहरु खटाइएको मतदान केन्द्रतिर लागेका हुन्।

‘सबै कर्मचारी मंगलबार दिउँसोसम्म सम्बन्धित मतदान केन्द्र पुगिसक्ने छन्,’ जिल्ला निर्वाचन अधिकारी विकास शर्मा रिजालले नागरिकसँग भने। उनका अनुसार गाउँ पुग्नासाथ शून्य समय सुरु हुनु अगावै मतदान केन्द्र अधिकृतले केन्द्र तोकेको र चुनावी प्रचार रोकिएको सूचना जारी गर्दै सर्वदलीय बैठक गर्ने छन्।

केन्द्रको ३ सय मिटर आसपासमा टाँसिएका चुनावी प्रचार सामाग्री हटाइने छ भने उम्मेदवारले आफ्ना प्रतिनिधि तोकेर नाम अधिकृतलाई बुझाउने छन्। सम्बन्धित केन्द्रबाटै बुधबार र बिहीबार कर्मचारीले मतदाता परियतपत्र बितरण गर्ने रिजालले जानकारी दिए।

‘यी दुई दिन केन्द्रमै मतदाता शिक्षा कार्यक्रम चलाइने छ,’ उनले भने। बिहीबार साँझ केन्द्रमा घेराबार लगायत व्यवस्थापनका काम हुनेछन्। सियो, धागो, सलाई, ल्हा, स्वस्तिक छाप, कपडाका थैला, घेराबार, विभिन्न प्लेकार्ड, डोरी, कलम, नेपाली कागज, फोटोकपी पपेर, विभिन्न अनुसूची लगायत ७० प्रकारका चुनावी सामाग्री कर्मचारीले बुझेका छन्।

निर्वाचन कार्यालयका अनुसार सिन्धुपाल्चोकका १२ स्थानीय तहका १ सय ४४ स्थानमा ३ सय १६ मतदान केन्द्र तोकिएको छ। मतदानका लागि १ हजार ५ सय ८० कर्मचारी खटाइएको छ। प्रतिकेन्द्रमा एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृत, दुई सहायक कर्मचारी र एक कार्यालय सहयोगी गरेर पाँच कर्मचारी खटाइएका छन्। मतदान अधिकृतले केन्द्रमा एक महिलासहित स्थानीय तीन स्वयम्सेवक नियूक्त गर्ने छन्। सबै केन्द्रमा ९ सय ४८ स्वयम्सेवक खटिने छन्।

चौतारा साँगाचोकगढी नगरपालिकामा निजामती सेवाका कर्मचारीले मात्र चुनाव गराउने छन्। उपसचिव तहका अधिकृतलाई मतदान अधिकृत तोकिएको छ। अन्य स्थानीय तहमा भने शिक्षकलाई समेत खटाइएको निर्वाचन अधिकारी रिजालले बताए। जिल्लामा २ लाख ५५ हजार ७ सय १२ मतदाता छन्। सबैभन्दा धेरै मतदाता मेलम्ची नगर र थोरै भोटेकोसी गाउँपालिकामा छन्।

मतदान केन्द्रमा ३ तीन सय १८ मतपेटिका पुर्‍याइने छ। ८ सयसम्म मतदाता रहेका केन्द्रमा ठूला दुईवटा र त्यसभन्दा बढी मतदाता रहेका केन्द्रमा थप एक सानोसहित तीनवटाका दरले मतपेटिका वितरण गरिएको कार्यालयले जनाएको छ।

एक सय ७१ केन्द्रमा तीन र १ सय ४५ केन्द्रमा २ वटाका दरले मतपेटिका पुग्नेछन्। ‘१२ निर्वाचन अधिकृतको कार्यालयमा चारवटाका दरले मटपेटिका मौज्दात रहने व्यवस्था गरिएको छ,’ निर्वाचन अधिकारी रिजालले भने। उनले चुनावी तयारी अन्तिम चरणमा पुगेकोसमेत जानकारी दिए।

प्रकाशित: २६ वैशाख २०७९ १२:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App