२३ असार २०८१ आइतबार
image/svg+xml
समाज

दुई पाङ्ग्रे सवारी साधनमा हेलमेट लगाए मृत्युबाट जोगिन सकिने

सांकेतिक तस्बिर।

अन्य सवारी साधनको तुलनामा दुई पाङ्ग्रे सवारी साधन चढ्दा दुर्घटना बढी हुने जोखिम रहेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन्।

नेपाल अटो मोबाइल्स एसोसिएसन (नासा), एलाइन्स फर सेफ एण्ड सस्टेनेबल मोबिलिटी नेपाल तथा नासा फाउन्डेसन र स्वतन्त्रता अभियानको संयुक्त आयोजनामा शनिबार राजधानीमा आयोजित मोटरसाइक्लिङ सेफ्टी सम्बन्धी उच्च स्तरीय अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले दुई पाङ्ग्रे सवारी साधनमा अत्याधिक दुर्घटना धेरै हुने भएकाले सावधानी अपनाउनुपर्ने बताएका हुन्।

नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक तथा ट्राफिक इन्जिनियर आशिष गजुरेलले दुई पाङ्ग्रे सवारी साधनमा चढ्ने चालक तथा पछाडि बस्नेले हेलमेट लगाएको खण्डमा मात्रै ४० प्रतिशत मृत्युबाट जोगिन सकिने बताएका छन्।

‘दुई पाङ्ग्रे सवारी साधनमा चढ्ने दुबैले गुणस्तरीय खालको हेलमेट मात्रै लगाउँदा ४० प्रतिशत मृत्युबाट जोगिन सकिनेछ,’ उनले भने,‘हेलमेटको प्रयोगले ७० प्रतिशत गम्भीर टाउकोको चोटबाट जोगिन सकिन्छ।’ ट्राफिक इन्जिनियर गजुरेलले दुई पाङ्ग्रे सवारी चालक धेरै दुर्घटनामा पर्ने भएकाले ट्राफिक जनचेतना फैलाउन आवश्यक रहेको बताए।

भन्सार विभागका अनुसार आर्थिक वर्ष २०१९/२० मा विदेशबाट १९ अर्ब रुपैयाँ बराबरको दुई पाङ्ग्रे सवारी साधन आयात भएको थियो। यो संख्या आव २०२०/२१ मा मात्रै ३३ अर्ब रुपैयाँ पुगेको थियो। गत वर्ष मात्रै तीन लाख ५५ हजार दुई पाङ्ग्रे सवारीसाधन नेपाल भित्रिएको थियो।

त्रिवि शिक्षण अस्पताल महाराजगन्जका कार्यकारी निर्देशक डा. दिनेश काफ्लेले दुई पाङ्ग्रे सवारी साधनको दुर्घटना हुने क्रम भयावह भएकाले समयमैं ट्राफिक जनचेतना फैलाउन आवश्यक भएको बताए। ‘दुई पाङ्ग्रे सवारी दुर्घटनामा भएर ज्यानै गुमाउने तथा अंगभंग हुनेको संख्या दिन प्रतिदिन बढिरहेको छ,’ उनले भने, ‘दुई पाङ्ग्रे सवारीको दुर्घटनामा परेर अकालमा ज्यान गुमाउनेको संख्या रोक्न आवश्यक कदम चाल्नुपर्ने बेला भइसक्यो।’

राष्ट्रिय ट्रमा सेन्टरका कार्यकारी निर्देशक डा. प्रमोद जोशीले दुई पाङ्ग्रे सवारी साधनको दुर्घटना अधिकांश चालकको लापारवाहीको कारणले हुने बताउँछन्। ‘अधिकांश दुई पाङ्ग्रे सवारीसाधन चालकको हेलचेक्याइको कारणले हुने गर्छ,’ उनले भने,‘सुरक्षित प्रकृतिको हेलमेट लगाएको खण्डमा मात्रै टाउकोको इन्जुरी र स्पाइनल इन्जुरीबाट जोगाउन सकिन्थ्यो।’

राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले सडक सुरक्षा सम्बन्धि आवश्यक कानुनी निर्माणम सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे। एफआईए वर्लड काउन्सिल सदस्य गोविन्द भट्टराईले दुई पाङ्ग्रे सवारी साधनको दुर्घटनाबाट मृत्यु हुनेको संख्या न्यूनीकरण गर्नका लागि सबै निकाय हातेमालो गरेर अघि बढ्नुपर्ने बताए।

आगामी जुन महिनाको अन्तिम हप्तामा संयुक्त राष्ट्र संघमा रोड सेफ्टी सम्बन्धी विश्व सम्मेलन हुँदैछ। सो सम्मेलनमा एसिया प्यासिफिक क्षेत्रमा टु व्हिलर सेफ्टी मुख्य एजेण्डा बनाइएको सन्दर्भमा सम्मेलनले राष्ट्रिय अवधारणा तयार गर्नको लागि एक समिति समेत गठन गरेको नासा नेपालले बताएको छ।

प्रकाशित: ११ वैशाख २०७९ १०:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App