५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

धादिङको नीलकण्ठ नगरपालिका देशकै उत्कृष्ट

स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा धादिङको नीलकण्ठ नगरपालिका देशभरमै उत्कृष्ट बनेको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको स्वमूल्यांकन प्रणाली (लिजा)मा देशभरका ७ सय ५३ स्थानीयमध्ये नीलकण्ठ उत्कृष्ट बनेको हो। स्थानीय तह सुशासन स्वमूल्यांकनमा पेश भएको तथ्य प्रमाणको आधारमा नीलकण्ठ नगरपालिकाले ९७ अंक पाएको छ।

विभिन्न १० विधामा भएको परीक्षणका आधारमा स्थानीय तहहरूको स्वमूल्यांकनको कुल अंक निर्धारण हुने गर्दछ। नीलकण्ठ नगरपालिकाले शासकीय प्रबन्धमा कुल ९ अंकमा ८ दशमलव ५ अंक प्राप्त गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्वमूल्यांकन प्रणालीको अभिलेख अनुसार संगठन तथा प्रशासन, वाषिक बजेट तथा योजना व्यवस्थापन, वित्तिय एवं आर्थिक व्यवस्थापन, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन र सहकार्य एवं समन्वय विधामा नीलकण्ठ नगरपालिकाले शतप्रतिशत अंक प्राप्त गरेको छ।

मन्त्रालयका अनुसार नीलकण्ठ नगरपालिकाले सेवा प्रवाह क्षेत्रमा कुल १६ मा १५ अंक, न्यायिक कार्य सम्पादनमा कुल ७ मा ६ दशमलव ५, भौतिक पूर्वाधारमा कुल १३ मा १२ दशमलव ५ र सामाजिक समावेशीकरणमा कुल १० अंकमा ९ दशमलव ५ अंक प्राप्त गरेको हो।

स्थानीय तहमा लामो समयदेखिको कार्यअनुभव र नगरपालिकाको सम्पूर्ण क्रियाकलाप व्यवस्थित योजनाका साथ कानूनको दायराभित्र रही प्रभावकारी रुपमा कार्यान्वयन गर्ने प्रयास आफ्नो नेतृत्वमा जारी राख्दा नीलकण्ठ नगपालिकाले स्वमूल्यांकनको समग्र नतिजामा उत्कृष्ट अंक प्राप्त गर्न सफल भएको नगर प्रमुख भीमप्रसाद ढुंगानाले बताए। ‘के गर्ने भन्ने स्पष्ट योजना, कसरी गर्ने भन्ने कानून र विधि एवं समावेशिताका साथ पारदर्शी कार्यान्वयन प्रक्रिया अपनाउँदा हाम्रो नगरपालिका स्वमूल्यांकनमा उत्कृष्ट बनेको हो’ मेयर ढुंगानाले भने।

दुई कार्यकाल तत्कालीन गाविस अध्यक्ष, गाविस महासंघ र नगरपालिका संघको महासचिवको अनुभवले पनि नगर हाँक्न आफूलाई सहज भएको उनले बताए। नगरपालिकाले स्वमूल्यांकनको सम्पूर्ण सूचकमा गर्नुपर्ने काम लगभग सम्पन्न गरिसकेकाले आगामी वर्ष शतप्रतिशत नतिजा हासिल हुने समेत ढुंगानाले प्रष्टयाए।

परीक्षामा उत्कृष्ट अंक प्राप्त गर्न परीक्षार्थीको स्तर उत्कृष्ट भएजस्तै स्वमूल्यांकनको नतिजा पनि उत्कृष्ट काम गर्ने स्थानीय तहले मात्र प्राप्त गर्न सक्ने नगरपालिकाका सल्लाहकार दिपक कोइरालाले बताए। लिजा विज्ञका रूपमा मन्त्रालयबाट देशका विभिन्न स्थानीय तहमा मूल्यांकन सहजकर्ताको भूमिका निर्वाह गरिरहेका कोइराला भन्छन्, ‘मन्त्रालयले विकास गरेको स्वमूल्यांकन प्रणाली एउटा परीक्षा जस्तो हो। यसमा उत्कृष्ट अंक हासिल गर्न नगरपालिकामा उत्कृष्ट काम हुनै पर्दछ, जुन काम नीलकण्ठ नगरपालिकाले गरेको छ।’

‘लिजामा उत्कृष्ट अंक हासिल गर्नु भनेको सम्पूर्ण रूपमा सम्पन्न र पूर्वाधारयुक्त हुनु होइन तर सिमित साधन स्रोतमा विधिसम्मत तरीकाले उत्कृष्ट नतिजा हासिल गर्नु स्थानीय तहको रूपमा स्थापित हुनु हो’ कोइरालाले भने।

देशभरका ७ सय ५३ स्थानीय तहमध्ये स्वमूल्यांकनमा ९० भन्दा माथि अंक प्राप्त गर्ने ९ वटा स्थानीय तह रहेका छन्। धादिङकै ज्वालामुखी गाउँपालिका ९० दशमलव ७५ अंकसहति स्वमूल्यांकनको आठौं नम्बरमा परेको छ।

स्थानीय तहहरूले गर्नैपर्ने र गरेका महत्त्वपूर्ण कार्यहरूको समग्र मूल्यांकनको प्रणाली भएकाले यो मुल्यांकन स्थानीय तहको क्षमता मापन गर्ने सबैभन्दा विश्वासिलो आधार बन्दै गरेको बागमती प्रदेश सुशासन केन्द्रका कार्यकारी निर्देशक विमल पोखरेलले बताए। ‘परिक्षणकै क्रममा छ, एकदुई वर्षमा यसको विश्वासनीयता थाहा हुन्छ’ उनले भने।

‘समग्र स्थिति, प्रकृयागत स्थिति र परिमाणात्मक स्थिति मूल तीन वटा आधारस्तम्भ छन्। १० वटा विषयगत क्षेत्रमा स्थानीय तहले गरेको कामको मूल्यांकन हुन्छ। कुल एक सयवटा सूचकको एक सय अंक निर्धारण गरी हरेक सूचकमा भएको प्रगति र त्यसको प्रमाणको आधारमा स्वमूल्यांकन प्रणालीमा अंक निर्धारण हुने गर्दछ।

एक सय सुचकको कुल एक सय अंकमा स्थानीय तहले हासिल गरेको उपलब्धिलाई प्रविष्ट गरिसकेपछि स्वमूल्यांकन प्रणालीबाट स्थानीय तहले प्राप्त गर्ने अंक निर्धारण हुने कार्यकारी निर्देशक पोखलेले बताए। पोखलेले भने, ‘अनुसार हरेक सुचकमा उत्कृष्ट परिणाम हासिल हुँदा एक अंक, असल अवस्थामा  शून्य दशमलव ७५ अंक र सन्तोषजनक अवस्थामा शून्य दशमलव ५ अंक र सूचकको उद्देश्य काम नभएको अवस्थामा शून्य अंकमै सीमित हुन्छ।’

आर्थिक वर्ष २०७५/०७६ मा संघीय मामिला मन्त्रालयले विकास गरेको यो प्रणाली देशका विभिन्न ३७ ओटा स्थानीय तहमा नमूना परीक्षण हुँदा समेत नीलकण्ठ नगरपालिका धादिङ उत्कृष्ट भएको थियो। आर्थिक वर्ष २०७६/०७७ मा भएको स्वमूल्यांकनमा नीलकण्ठ नगरपालिका ९३ अंकका साथ देशभरमा दोस्रो स्थानमा रहेको थियो।

देशभरका स्थानीय तहको गत वर्षको औसत उपलब्धि ५१ दशमलव ९७ रहेको थियो भने यो वर्ष बढेर ५८ दशमलव ९८ पुगेको छ।

प्रकाशित: २५ चैत्र २०७८ ०३:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App