१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

पशुहाट बजारमा देखिन छाडे गोरु

बाँकेको जानकी गाँउपालिकाको पशु हाटबजारमा गोरु पाइन छोडेको छ।

हाट बजारमा छिमेकी जिल्ला बर्दिया, सुर्खेत, दाङ, कैलाली र काठमाडौंबाट समेत व्यापारीहरु पशु किनमेल गर्नका लागि आउने गरेपनि पछिल्लो समय राँगा र भैँसी मात्रै बजारमा भेटिन थालेका हुन्।

पहिला राँगा, भैँसी र गोरु बराबरको संख्यामा बजारमा देखा परेपनि अहिले २–३ वर्षको अन्तरमा गोरुको संख्या बजारमा शून्य भएको स्थानीय व्यापारीहरु बताउँछन्। २०४५ सालदेखि जानकी गाँउपालिका वडा नं.३ को रमवापुरमा पशु हाटबजार लाग्दै आएको छ। 

हाट बजारमा पशु व्यापारी, किसान र होटेल व्यपारीहरु रागाँ, भैँसी किन्नका लागि जाने गर्दछन्। राँगा र भैँसी पहिलाकै संख्यामा देखा परेपनि गोरु देखा पर्न छाडेको बताउँछन्। स्थानीय श्रीपशु हाट बजार व्यवस्थापन समितिका अध्यक्ष सुदिपकुमार बर्मा।

राँगा र भैँसीको मासु बिक्री गर्न मिल्ने तर गोरुको माशु बिक्री वितरणमा सरकारले नै मान्यता नदिएकोले गोरुको संख्या कम हुँदै गएको उनको भनाइ छ। हाट बजार २०४५ सालदेखि लाग्न शुरु गरेपनि २०६९ सालमा दर्ता गरेर नयाँ रुपले व्यवस्थापन गरेर सञ्चालन गरेको बर्माले बताए। हरेक हप्ताको शनिबार मेला लाग्ने गरेको हुन्छ।

लकडाउनमा केही समय बजार नलागेपछि घाटा लागेको बताउँछन् पशु व्यापारी प्रेम नारायण सोनकर। उनले आफूलाई पशु व्यापार नै मन पर्ने गरेकोले यही व्यापार पढाउने पेशा छोडेर पशु व्यवसायमा लागेको बताए। उनले बजारमा अहिले उल्लेख्य मात्रामा भैँसी र राँगाको व्यापार भएको तर गोरुको व्यापार हुन छोडेको बताए।

त्यस्तै अर्का पशु व्यापारी कुमार यादवले २०५० सालदेखि पशु हाट बजारमा क्रेता र बिक्रेता बनिरहेको बताउँछन्। पशु हाट बजारले धेरै सहजता प्रदान गरेको पनि उनले बताए। त्यस्तै स्थानीय पशु व्यापारी आमिरखा सोनकरले पहिला सर्लाहीदेखि व्यापारीहरु गोरु किन्न आउने गरेको भएपनि अहिले आउन छोडेको बताए।

गोरु किनमेल गर्नका लागि छिमेकी देश भारतबाट आउने गरेका व्यापारीहरु पनि आउन छोडेको उनले बताए। किसानहरुले खेत जोत्नका लागि गोरुलाई प्रयोग गरेपनि मेलामा देखा पर्दैनन्। आवश्यक परेको मानिसहरुले गाँउबाटै गोरु किनमेल गरिरहेको उनको भनाइ छ। गोरु बिक्री हुन छोडेपछि बेच्न ल्याउने मानिसहरुले आसपासमै छोडेर जाने गरेको पनि उनले बताए।

एकतिर पशु हाटबजारमा गोरु देखा नपर्नु र अर्कोतिर बजार क्षेत्रमा त्यही गोरु छाडा रुपमा छोडिदिँदा दुर्घटना हुने गरेको व्यापारीहरु बताउँछन्। छाडा गोरुलाई धेरै गाँउपालिका तथा नगरपालिकाहरुले रेखदेख गरिरहे पनि पछिल्लो समय बजारमा गोरु देखिन छोडेको व्यापारीहरु बताइरहन्छन्। 

प्रकाशित: २० चैत्र २०७८ ०७:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App