९ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

पाँच सय मतदाता भएको केन्द्रमा ८ जनासम्म कर्मचारी खटाइने

आउँदो स्थानीय तहको निर्वाचनमा ५ सय मतदाता भएको मतदान केन्द्रमा ७ जना सो बढी मतदाता भएको केन्द्रमा ८ जनासम्म कर्मचारी खटाइने भएको छ। आउँदो बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि जारी जनशक्ति व्यवस्थापन निर्देशिकामा मतदान केन्द्रमा खटाइने जनशक्तिका व्यवस्थापनका बारे उल्लेख छ।

जसअनुसार ५ सय सम्म मतदाता भएको मतदान केन्द्रमा १ जना मतदान अधिकृत, मतदातालाई मतपत्र दिने समेत गरी १ जना सहायक मतदान अधिकृत, मतदाता नामावली रुजु गर्ने प्रक्रियाका लागि १ जना सहायक कर्मचारी, १ जना सहयोगी कर्मचारी र १ महिला सहित ३ जना सहयोगी स्वयंसेवक खटिने छन्।

सहयोगी ३ जना स्वयंसेवकहरुमध्ये नङ्गमा मसी लगाउन १ (महिला), तथ्याङ्क फारम भर्न १ र मतदाताको लाइन व्यवस्थापन लगायतका कार्य गर्न १ जनालाई जिम्मेवारी दिनुपर्ने जारी निर्देशिकामा उल्लेख गरिएको छ।

यस्तै ५ सय भन्दा माथि मतदाता भएको केन्द्रमा मतदान अधिकृत र सहायक मतदान अधिकृत १–१ जना, मतदाता नामावली रुजु गर्न १ र मतदातालाई मतपत्र दिन १ गरी २ सहायक कर्मचारी, १ जना सहयोगी कर्मचारी र ३ जना स्वयंसेवक सहयोगी गरी ८ जना सम्म खटिने छन्।

सहयोगी ३ जना स्वयंसेवकहरुमध्ये नङ्गमा मसी लगाउन १ (महिला),तथ्याङ्क फारम भर्न १ र मतदाताको लाइन व्यवस्थापन लगायतका कार्य गर्न १ जनालाई जिम्मेवारी पाउने छन्। मतपत्र रुजु र प्याकेजिङका लागि मुख्य निर्वाचन अधिकृतले कर्मचारी काजमा ल्याउन सक्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र सहित निर्वाचन सामग्रीको भण्डारण हुने भएकोले मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतपत्र रुजु र प्याकेजिङका अलवा मतदान अधिकृतलाई मतपत्रसहित निर्वाचन सामग्री वितरणका लागि काजमा जनशक्ति व्यवस्थापन गर्न सक्ने भएको छ।

यस्ता कर्मचारी बढीमा ७ दिनसम्मका लागि काजमा लिन सकिने प्रवन्ध गरिएको छ। तर ५० वटा सम्म मतदान केन्द्र भएको खण्डमा भने थप जनशक्ति काजमा ल्याउन पाइने छैन। निर्देशिका अनुसार ५१ देखि १ सय वटा सम्म मतदान केन्द्रमा भए २ जना, १ सय १ देखि २ सय वटासम्म भए ३ जना, २ सय १ देखि ३ सय वटासम्म भए ४ जना, ३ सय १ देखि ५ सय वटासम्म मतदान केन्द्र भए ५ जना र ५ सयदेखि माथि जतिसुकै मतदान केन्द्र भएपनि बढीमा ६ जनासम्म जनशक्ति काजमा लिन सकिने सुविधा मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई रहेको छ।

जनशक्ति काजमा ल्याउँदा स्थानीय स्तरमा रहेका कुनैपनि कार्यालयमा कार्यरत सरकारी कर्मचारी सा सामुदायिक विद्यालयका शिक्षकलाई प्रयोग गर्न सकिने छ। त्यस्ता कर्मचारी उपलब्ध हुन नसकेमा मात्र जिल्लास्थित अन्य सरकारी कार्यालयबाट कर्मचारीमा काजमा ल्याउनुपर्ने प्रवन्ध गरिएको छ।

प्रकाशित: २० चैत्र २०७८ ०६:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App