२२ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

बम विस्फोटको घटनाका मुख्य योजनाकारसहित चारजनाविरुद्ध मुद्दा

तीन दिनअघि इटहरीमा कोठामा राखेको बम विस्फोट भएको घटनामा संलग्न मुख्य योजनाकारसहित चारजनाविरुद्ध प्रहरीले मुद्दा चलाएको छ।

प्रहरीले मुख्य योजनाकार झापा कन्काइ वडा नं. ८ लक्ष्मीपुरका ४३ वर्षे सञ्जय भन्ने खगेन्द्र खरेल, इटहरी वडा नं. २ की ३२ वर्षे आशा ठकुरी भन्ने लक्ष्मीदेवी थापासहित बम विस्फोट हुँदा घाइते भएका आशाकै छोरा २२ वर्षे रबिन थापा र लमजुङ वडा नं. ५ ढोडेनी भई इटहरीमै बस्दै आएका २३ वर्षे शेरजङ गुरुङलाई मुद्दा चलाइएको हो।

सोमबार साँझ लक्ष्मीदेवीले भाडामा कोठा लिएर बस्दै आएको स्थानमा बम विस्फोट भएको थियो। त्यस क्रममा रबिन र शेरजङ घाइते भएका थिए। लक्ष्मीदेवीले इटहरी वडा नं. २ का अमित श्रेष्ठको घरमा झन्डै एक महिना अघिदेखि कोठा भाडा लिएर बस्दै आएकी थिइन्।  

प्रहरीले चारै जनाललाई बम विस्फोटन र संगठित अपराध मुद्दा चलाएको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सञ्जयसिंह थापाले शुक्रबार इटहरीमा पत्रकार सम्मेलन गरी जानकारी दिए।

घटनालगत्तै प्रहरीले घाइतेलाई उपचारका लागि भर्ना गरेर अनुसन्धान गर्दा लक्ष्मीदेवीललाई इटहरी वडा नं. २ मै लुकिछिपि बसेको अवस्थामा र मुख्य योजनाकार खरेललाई झापा मेचीनगर वडा नं. ६ स्थित नेपाल भारत सिमाना काकडभिट्टाबाट पक्राउ गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो।

मुख्य योजनाकार खरेल नेतृत्व समूहले माघ १० गते झापाको बिर्तामोड स्थित पश्चिम बस स्टेण्डमा बम विस्फोट गरेको खुलेको छ। उनकै नेतृत्वमा रहेको समूहले माघ १३ गते झापाको दमकस्थित शिवान चर्चमा हिमाल सुरक्षा परिषदका पर्चासहित बिष्फोटक पदार्थ जस्तो देखिने शंकास्पद वस्तु प्रेसर कुकर राखेको पनि खुलेको छ।

२०५५ सालमा भारतीय सेना भएर चार वर्षसम्म काम गरेर छाडेका खरेलले २०७६ वैशाख १८ गते झापाको कन्काई पुलमा गोर्खा जनमुक्ति पार्टीको नाममा ग्रेटर नेपालको माग राखी  बिष्फोटक पदार्थ तथा संगठित अपराध कसूर मुद्दामा २ वर्ष ५ महिना कैद सजाय भुक्तान गरेको खुलेको छ।

राजावादी समूहका पक्षमा वकावत गर्ने समूहको नाममा परिचालित हिमाल सुरक्षा परिषद नेपालको केन्द्रीय टीममा खरेल रहेको र त्यसका अध्यक्षसहित अन्य जिम्मेवार व्यक्तिको पनि खोजी थालिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी थापाले बताए। उनका अनुसार हिमाल सुरक्षा परिषदले पछिल्लो समय काठमाडौं, झापा र सुनसरीमा आतंकित पार्ने काम गर्दै आएको छ।

प्रकाशित: १८ चैत्र २०७८ १३:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App