१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

ताप्लेजुङमा ९० हजार मतदाता, एक सय २२ मतदान केन्द्र

ताप्लेजुङमा २०७९ साल वैशाख २९ गतेसम्म १८ वर्ष पूरा भएका बालिग मतदाताको संख्या ८९ हजार ६ सय ८० कायम भएको छ। यो २०७४ सालको स्थानीय तहको निर्वाचनमा भन्दा १८ हजार ९ सय २ ले बढी हो।

उतिबेला ७० हजार ७ सय ७८ जना मतदाता रहेका थिए। जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङका अनुसार आउँदो स्थानीय तहको निर्वाचनका लागि यहाँ ४७ हजार ६ सय ५५ पुरुष र ४२ हजार २५ जना महिला मतदाता कायम भएका छन्। जिल्ला निर्वाचन कार्यालयका अनुसार ताप्लेजुङका ९ स्थानीय तह सबैभन्दा बढी मतदाता फुङलिङ नगरपालिकामा रहेका छन्। फुङ्लिङमा १७ हजार २ सय २ जना मतदाता रहेका छन्।

यस्तै सिरिजङ्गा गाउँपालिकामा ११ हजार ६ सय ५९, पाथीभरा याङ्वरक गाउँपालिकामा ९ हजार ९ सय ४१ जना,आठराइ त्रिबेणी गाउँपालिकामा ९ हजार ७ सय ४३ जना र सिदिङ्वा गाउँपालिकामा ८ हजार ८ सय ७८ जना मतदाता रहेका छन्।

त्यस्तै फक्ताङ्लुङ गाउँपालिकामा ८ हजार ८ सय ९० जना, मेरिङ्देन गाउँपालिकामा ८ हजार ६ सय ३ जना, मैवाखोला गाउँपालिकामा ७ हजार ७ सय ९७ जना र मिक्वाखोला गाउँपालिकामा ६ हजार ९ सय ६७ जना मतदाता रहेका छन्।

ताप्लेजुङका सबै स्थानीय तहमा महिला तथा पुरुष मतदाता बढी देखिएका छन्। फुङ्लिङ नगरपालिकामा महिला र पुरुष मतदाता हाराहारी रहेपनि अन्य सबै पालिकामा पुरुष मतदाता बढी देखिएका छन्।

एक सय २२ वटा मतदान केन्द्र कायम  

२०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा भन्दा आउँदो वैशाखमा हुने निर्वाचनमा ताप्लेजुङमा १७ वटा मतदान केन्द्र थप भएको छ। करिब २० हजार मतदाता थप भएको अवस्थामा पहिले भन्दा १७ वटा मतदान केन्द्र थप भएको हो।

स्थानीय तहको निर्वाचनका लागि १ सय २२ मतदान केन्द्रको कायम भएका छन्। २०७४ सालको स्थानीय तहको निर्वाचनमा ७३ मतदान स्थल र १ सय ५ मतदान केन्द्र थिए। २०७४ सालमा सम्पन्न प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा भने १ सय १४ मतदान केन्द्र थिए। आठराइ त्रिबेणीमा १० मतदान केन्द्र रहेकोमा अहिले १२ मतदान केन्द्र कायम भएका छन्।

फक्ताङ्लुङ र सिदिङ्वा गाउँपालिकामा भने साविककै क्रमशः १५ र १३ मतदान केन्द्र कायम भएको जिल्ला निर्वाचन अधिकारी दिनेश खनालले जानकारी दिए। फुङ्लिङ नगरपालिकामा यसअघि १७ मतदान केन्द्र रहेकोमा अहिले ३ वटा बढाएर २० मतदान केन्द्र कायम भएको छ।

मिक्वाखोला गाउँपालिकामा यसअघि ७ मतदान केन्द्र भएकोमा अहिले १० र मेरिङदेन गाउँपालिकामा यसअघि १० मतदान केन्द्र रहेकोमा अहिले ११ मतदान केन्द्र कायम भएको छ। यसअघि ९–९ मतदान केन्द्र मैवाखोला र पाथीभरा याङ्वरकमा अहिले क्रमशः १२ र १३ मतदान कायम भएका छन्।

प्रकाशित: १४ चैत्र २०७८ ०५:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App