१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

दलित समुदायप्रति अझै विभेद कायमैः आयुक्त पुर्कुटी

पत्रकार भेटघाट कार्यक्रममा दलित आयोगका सदस्य पुर्कटी (बीच) ।

राष्ट्रिय दलित आयोगका सदस्य सुन्दर पुर्कुटीले समाजमा दलित समुदायप्रति हुँदै आएको विभेद र असमानता अझै हट्न नसकेको गुनासो गरेका छन्।

शनिबार बिहान गाईघाटमा दलित पत्रकार संघद्वारा आयोजित कार्यक्रममा आयुक्त पुर्कुटीले यस्ता समस्याको अन्त्य गर्न दलित आयोग गठन भएर लागि पर्दै आएको बताए। दलितहरु सदियौँदेखि नेपालमा व्यक्ति, परिवार, समुदाय हुँदै राज्यस्तरबाटै विभेद र असमानता भोग्दै आउन वाध्य भईरहेको भन्दै पुर्कटीले यसको समाधान भए मात्र दलित हकअधिकारको सुनिश्चित्ता हुने बताए। 

आयोगले स्थापनादेखि दलित विभेदविरुद्ध नीतिगत कार्यविधि बनाएर समाधानको प्रयत्न गरिरहेको पुर्कुटीको भनाई थियो। आयोगका प्रवक्तासमेत रहेका पुर्कुटीले आयोग गठनको वर्षदिनमा थुप्रै दलित समस्या समाधानको गतिविधि भएको जानकारी पनि दिए।

नेपालमा राष्ट्रिय दलित आयोग गठन हुन ढिला भएको बताउँदै पु्र्कुटीले समयमै आयोग गठन भएको भए दलितसँग सम्बन्धित पछिल्ला घट्नाहरु हुनबाट रोकिने आँकलन गरे। आयोग बेलैमा गठन नहुँदा दलितसँग सम्बन्धित कतिपय हकअधिकार संविधानमा लिपिवद्ध हुन छुटेको उनको बुझाई थियो।

आयोग गठनपछि दलित अधिकार र संरक्षणमा दवाव बढ्न थालेसँगै सरकार, समाज र व्यक्तिको भूमिकामा परिवर्तन आउँदै गएको दावी पुर्कुटीको थियो। दलितमाथिको विभेद र असमानतालाई आयोगले मुल एजेन्डा बनाएर नीतिगत योजनासहित समाधान गर्न एक वर्षमा भएका १६ वटा गतिविधि समेटिएको प्रेस विज्ञप्ती पुर्कुटी जारी गरे।

विज्ञप्तीका अनुसार आयोगले मुख्यतया दलित समुदायको समग्र स्थितिको अध्ययन, अन्वेषण, नीतिगत, कानुनी र संस्थागत सुधार गर्न सुझावसहितको सिफारिस सरकारलाई गरेको, जातीय छुवाछुतका साथै सबैखाले बिभेदको अन्त्य गर्न बनेका ऐन नियम, विनियमको कार्यान्वयन भए नभएकोबारे अनुगमन गरेको उल्लेख छ।

हाल आयोगको बैठक सञ्चालन कार्यविधिको कार्यान्वयन, दलितमाथि भएका विभेदपूर्ण घटनासँग सम्बन्धित कारबाही सिफारिस, दलितको मुख्य समस्या र राष्ट्रियस्तरका ४३ घटनाका उजुरी सम्बन्धी आवश्यक छानविन गर्न पत्राचार, राजनितिक दलहरुमा दलित समावेशीताका लागि पत्र र अनुरोध, विभेद घटना अन्त्यका लागि सचेतना मुलक कार्यक्रम जस्ता क्रियाकलाप आयोगले गरेको विज्ञप्तीमा जनाइएको छ।

अबको समयमा दलितहरुलाई हिनताबोध हुने शब्दहरु समेत प्रयोग नगर्न अनुरोध गर्दै उनले चाहे व्यक्तिले, चाहे समाज वा राष्ट्र कसैले पनि दलितलाई हिनताबोध हुने खालका शब्द नबोल्न र हेला होचो हुने व्यवहार नगर्न उनको आग्रह थियो।

‘अब पनि दलितहरु हिनताबोध सहेर, अपमानित भएर बस्न सक्दैनन्’ उनले चेतावनीको शैलीमा अनुरोध गरे ‘दलितहरु अब पुरानो समाज जस्तो ज्यादती र अपमान सहन सक्दैनन । समाजमा समान हैसियत लिएर बस्न दिइएन भने विद्रोह हुन्छ ।’

दलितहरुलाई अब समानन्तर अधिकार दिलाउँदै अघि बढ्न आग्रह गर्दै उनले समाज, राष्ट्र र व्यक्ति नै दलित समुदायप्रति सकारात्मक बन्दै गए विद्यमान बिभेद र कुरितीहरु हट्दै जाने विज्ञप्तीमा उल्लेख छ।

प्रकाशित: २९ माघ २०७८ ०९:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App