२१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

२०७४ सालको तुलनामा ताप्लेजुङमा २० हजार मतदाता थपिने सम्भावना

स्थानीय तहको निर्वाचनका लागि ताप्लेजुङमा ८९ हजार देखि ९० हजार हाराहारी मतदाता हुने सम्भावना देखिएको छ। मतदाता नामावली अद्यावधिक गर्ने, दोहोरो परेको नाम हटाउने, बाह्य जिल्ला दर्ता नामावली छुट्याउने र माघ २४ गते सम्म दर्ता भएको नामावलीको अन्तिम प्रबिष्टी गर्ने कार्य बाँकी रहेकोले यकिन तथ्याङ्क आउन भने समय लाग्ने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

२०६० साल माघ २३ गते भन्दा अघि जन्म भइ फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गरेकाहरु वालिग मताधिकार प्राप्त हुनेछन्। निर्वाचनको मिति घोषणा भएको दिन सम्ममा १८ वर्ष पूरा भइ फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता भएकाहरुले मतदान गर्न पाउने संवैधानिक व्यवस्था रहेको छ।

सरकारले माघ २४ गते सोमबार स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेकै दिनबाट नामावली दर्ता कार्य समेत बन्द भएको छ। नामावली दर्ता निर्वाचन आयोगको सफ्टवेयरमार्फत स्वतः बन्द हुने गर्छ। यहिँ अनुसार २०७८ साल माघ २४ गते भित्र नाम दर्ता भएकाहरु मध्येबाट नामावली अद्यावधिक कार्य हुने र त्यसपछि सबै प्रकृया पूरा भएपछि मात्र यकिन तथ्याङ्क आउने जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी बिपिन दुलालले जानकारी दिए।

ताप्लेजुङमा करिव ९३ हजार जनाले फोटोसहितको नामावलीमा नाम दर्ता गराएका छन्। यसमध्ये वालिग मताधिकार प्राप्त नागरिकको सूची निकाल्न बाँकी रहेको छ। नागरिकता प्राप्त गर्ने बित्तिकै फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गर्ने प्रवन्ध गरिएको छ। तर निर्वाचनको मिति घोषणा गरेको दिन १८ वर्ष पूरा भएका नागरिक मात्र मतदाता बन्न पाउने भएकोले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गरेका सबै मतदाता हुँदैनन्।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा ३७ हजार १ सय ८८ पुरुष र ३३ हजार ५ सय ९१ महिला गरी ७० हजार ७ सय ७९ जना मतदाता रहेका थिए। यो हिसावले जिल्लाभरीमा करिव १९ देखि हजार मतदाता थपिएको स्थिति देखिएको छ। तर यकिन तथ्याङ्क भने आइसकेको छैन।

प्रकाशित: २५ माघ २०७८ १३:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App