२३ असार २०८१ आइतबार
image/svg+xml
समाज

उपत्यकामा जोरबिजोर प्रणाली हट्याे

काठमाडौं उपत्यकाकामा जोरबिजोर प्रणाली हटाइएको छ। आइतबार काठमाडौं, ललितपुर र भक्तपुर (उपत्यका)का तीन प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले माघ २३ गते रातिदेखि लागु हुने गरेर जोरबिजोर प्रणाली हटाउने निर्णय भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जनाए।

‘सोमबारदेखि लागु हुने गरेर उपत्यकाभित्र चल्ने सवारी साधनमा जोरबिजोर प्रणाली हटाउने निर्णय भएको छ,’ उनले भने, ‘विद्यालय, विश्वविद्यालय र कलेजलगायतका शैक्षिक क्रियाकलापहरू जनस्वास्थ्यको मापदण्ड पालना गरी फागुन १ गतेदेखि सञ्चालन गर्न सकिनेछ। तर १२ वर्ष पूरा भएका विद्यार्थीको हकमा नियमित र १२ वर्ष पूरा नभएका विद्यार्थीका हकमा विद्यार्थी संख्या समेत विचार गरी सम्बन्धित स्थानीय तहसँग समन्वयमा विद्यालय व्यवस्थापनले आलोपालो वा सिफ्ट प्रणालीमा कक्षा संचालनको व्यवस्था मिलाउनुपर्नेछ।’

बैठकपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको आदेशअनुसार अर्को सूचना जारी नभएसम्म सबै प्रकारका आमसभा, जुलुस, सभा, भेला, मेला, सम्मेलन, महोत्सव र मानिसहरूको भिडभाड हुने अन्य कार्य नगर्न नगराउन आदेश जारी गरेको थियो।

सबै किसिमका परीक्षाहरू स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी, गराई जेड आकारमा सिट व्यवस्थापन गरी फागुन १ गतेदेखि सञ्चालन गर्न सकिनेछ। घरबाहिर निस्किँदा अनिवार्य रूपमा मास्कको प्रयोग र खोप कार्ड (मोबाइलमा फोटो भएपनि) राख्ने, सार्वजनिक स्थलमा दुई व्यक्तिबीच कम्तीमा दुई मिटरको भौतिक दूरी कायम राख्ने र स्यानिटाइजरको प्रयोग गर्नुपर्नेछ। विदेशबाट नेपाल आउँदा वा निकट सम्पर्कमा रहेकाले कन्ट्याक्ट ट्रेसिङमा परेकाले परीक्षणको नतिजा नेगेटिभ भएतापनि कम्तीमा पाँच दिन होम क्वारेन्टिनमा अनिवार्य रूपमा बस्नुपर्नेछ।

सार्वजनिक सवारी साधनको हकमा सिट क्षमताभन्दा बढी यात्रु राख्न पाइने छैन। सबै यात्रुलाई मास्क अनिवार्य गरिएको र सवारी साधनको ढोकामा र सवारी साधनभित्र यात्रुले प्रयोग गर्ने गरी स्यानिटाइजरको व्यवस्था गर्नुपर्नेछ। त्यस्तै चालक तथा सहचालकले मास्क र फेससिल्ड लगाउनुपर्नेछ। कुनै यात्रुले मास्क नलगाई आएमा चालक वा सहचालकले बढीमा पाँच रूपैयाँ लिएर मास्क उपलब्ध गराउनुपर्नेछ भने मास्क नलगाई आउने यात्रुलाई सवारी साधनमा प्रवेश नदिन समेत आदेशमा भनिएको थियो।

खेलकुद कार्यक्रम सञ्चालन गर्दा एक पटकमा कुल दर्शक क्षमताको ५० प्रतिशतभन्दा बढी नहुने गरी खोप लगाएका दर्शक उपस्थित गराउने र जनस्वास्थ्यका मापदण्ड पालना गरी फागुन १ गतेदेखि सम्बन्धित खेल सञ्चालन गर्न सकिनेछ।

सपिङ मल, डिर्पाटमेन्ट स्टोर, सुपरमार्केटलगायतमा एक पटकमा ५० जनभन्दा बढी हुन नहुने, पूर्ण खोप लगाएको कार्ड (मोबाइलमा फोटो भए पनि हुने) हुनुपर्ने र जनस्वास्थ्य मापदण्ड पालना गर्ने गरी सञ्चालन गर्न पाइनेछ। पार्टी प्यालेसमा कुल क्षमताको ५० प्रतिशत नबढ्ने गरी बढीमा पूर्ण खोप लगाएका एक सय जनामात्र उपस्थित रहने तथा जनस्वास्थ्य मापदण्ड पालना गरी प्रमुख जिल्ला अधिकारीबाट पूर्व स्वीकृति लिएर विवाह, व्रतबन्ध, न्वारनजस्ता धार्मिक तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गर्नुपर्नेछ।

डान्सबार, दोहोरी, नाचघर, लाउन्ज, पब र क्लबलगायत रात्रिकालिन व्यवसाय, सिनेमा हल, हेल्थ क्लब, जिमखाना, स्वीमिङ पुल र फुटसल जनस्वास्थ्य र सुरक्षाको मापदण्ड पालना गरी राती १० बजेमा नबढ्ने गरी फागुन १ गतेबाट संचालन गर्न सकिने प्रशासनले जनाएको थियो। मठ, मन्दिर, मस्जिद, गुम्बा र चर्चलगायतका धार्मिक स्थलमा जनस्वास्थ्यको मापदण्ड पालना गरी एक पटकमा ५० जनाभन्दा बढी नहुने गी पूजा, ध्यान वा प्राथना गर्न गराउन सकिनेछ।

जुनसुकै सेवा वा क्षेत्रमा कार्यरत व्यक्तिमा कोभिड–१०को लक्षण देखिएमा अनिवार्य रूपमा पाँच दिन क्वारेन्टिनमा बस्ने र पाँच दिनपछि कोभिड–१९ परीक्षण गरी रिर्पोट नेगेटिभ आएमामात्र काममा आउन सक्नेछन्। जनस्वास्थ्यका मापदण्ड उल्लंघन गर्ने, आदेश पालनामा अटेर गर्ने गरे संक्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ ले दिएको अधिकार प्रयोग गरी कैद र जरिवाना गरिने प्रशासनले जनाएको थियो।

यसअघि कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसीएमसी)ले जोर बिजोर प्रणाली हटाउन सिफारिस गरेको थियो। आइतबार बसेको सिसीएमसीको बैठकले सवारी साधनको हकमा जोर बिजोर प्रणाली हटाउन सिफारिस गरेको जानकारी प्रवक्ता तथा सहसचिव सुनिता नेपालले दिएकी थिइन्। त्यस्तै फागुन १ गतेदेखि विद्यालयमा भौतिक रूपमा पठनपाठन गराउन सिफारिस गरेको थियो।

प्रकाशित: २४ माघ २०७८ ००:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App