४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

मनाङसँग ५० घण्टापछि सञ्चार सम्पर्क

घरेलु औजारको भरमा हिउँ हटाउँदै सुरक्षाकर्मी

मनाङमा परेको हिउँ हटाउँदै सुरक्षाकर्मी। तस्बिरः नागरिक

हिमालपारिको जिल्ला मनाङमा झन्डै ५० घण्टापछि सञ्चार सम्पर्क कायम भएको छ। हिमपातले गर्दा मनाङ दुई दिनदेखि सञ्चार सम्पर्कबाट बिच्छेद भएको थियो।  

मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यका अनुसार मनाङमा शनिबार बिहानदेखि बल्ल इन्टरनेट र टेलिफोन सेवा सुचारु भएको छ। बिहीबार बिहान नौ बजेपछि मनाङसँगको सञ्चार सम्पर्क विच्छेद भएको थियो।  

‘झन्डै ५० घण्टापछि शनिबार बिहान १० बजेदेखि टेलिफोन र इन्टरनेट सेवा सुरु भएको छ,’ आचार्यले भने, ‘घाम लागेपछि सञ्चार सम्पर्क कायम भएको हो।’ मनाङमा दुई दिनसम्म हिउँ पर्दा सबैखालका सञ्चार सम्पर्क टुटेको थियो।

प्रजिअ आचार्यका अनुसार मनाङ सदरमुकाम चामेमा मात्र तीनफिटसम्म हिउँ जमेको छ। माथिल्लो क्षेत्रमा झनै बाक्लो हिउँ जमेको हुनसक्ने उनले बताए। ‘घाम लाग्यो भने छिटो पग्लिन्छ, नत्र केही दिन लाग्नेछ,’ उनले भने। अहिले जिल्ला सदरमुकाम क्षेत्रमा सडकमा जमेको हिउँ सुरक्षाकर्मी लगाएर हटाउने काम भईरहेको छ। ‘घरेलु औजार प्रयोग गरेर बजार क्षेत्रको हिउँ हटाउने काम भईरहेको छ,’ उनले भने, ‘प्रहरी, सशस्त्र प्रहरी र सेना अहिले हिउँ हटाउन खटिएको छ।’  

अधिक हिमपातले गर्दा जनजीवन ठप्प रहेको प्रजिअ आचार्यले बताए। ‘जाडो छल्न स्थानीयबासि तल (पोखरा, काठमाडौं) झरेकोले अहिले जिल्लाबासी निकै नै कम छन्। धेरैका घर रित्तै छन,’ उनले भने, ‘सिजनको हिमपात हो। त्यसैले यहाँका किसान हिउँ पर्दा खुसी भएका छन्।’ अरुबेला कम पानी पर्ने र हिउँले गर्दा खेतीपातिमा सिंचाई हुने भन्दै स्थानीय खुसी हुने गरेका छन्।

उनका अनुसार जिल्ला सदरमुकामसम्म पनि गाडी उक्लिन सकेका छैनन्। दानाक्यूभन्दा माथि गाडी उक्लिन नसकेको प्रजिअ आचार्यले बताए। मनाङको तापक्रम दिउँसोमा पनि माइनस तीन डिग्रीमा झरेको छ। रातको समयमा तापक्रम अझै कम हुने उनले बताए।  

प्रकाशित: २२ माघ २०७८ ०९:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App