८ वैशाख २०८१ शनिबार
समाज

धाँजा फाटेको मदन भण्डारी सडक मर्मतमा ढिलाइ

उदयपुरको छाति छिचोलेर निर्माणाधीन ‘मदन भण्डारी लोकमार्ग’को नेपालटार– कटारी खण्डमा पर्ने बकपतिमा एकवर्षअघि चर्केको सडक मर्मत गर्न ढिलाइ भएको छ। बगपतिस्थित राई टोल आसपास दुई ठाउँमा गरी झण्डै १ सय मिटर चर्केको सडक मर्मत गर्नेतर्फ निर्माण कम्पनीले बेवास्ता गरेको स्थानीयको गुनासो छ।

उदयपुुरगढीलाई शिर बनाएर दनुवारबेँसी, मौवासी हुँदै बग्ने बैजनाथ खोला किनारै किनार निर्मित सडकको बकपति राईटोल खण्ड आसपास ठाउँ ठाउँमा धाँजा फाटेर भत्केको छ। गएको वर्षामै भत्केको सडकको हालसम्म मर्मत गर्नेतर्फ निर्माण कम्पनीले चासो नदिएको स्थानीयको गुनासो छ।

उनीहरुका अनुसार खोला किनारबाट जग खनेर बनाइएको सडक सामान्य चर्कनेदेखि ६ इन्चसम्मको धाँजा फाटेर जोखिमयुक्त बनेको छ। तर, मर्मत गर्नुको साटो धाजा फाटेको ठाउँमा माटो थुपारेर यात्रुको आँखा छल्ने काम भएको छ।

कम्तीमा ७ देखि ११ मिटरसम्म चौडाई कालोपत्रे गरिएको सडक धाँजा फाटेको ठाउँमा साँघुरिएर एकतर्फी (सिंगल लेन) मात्र गाडी चलाउन मिल्ने भएको छ। धाँजा फाटेको खण्डमा माटो थुपारेर साँघुरो पारिएकाले दुईतर्फी गाडी चलाउन समस्या भएको चालकहरु बताउँछन्।

गाईघाट–कटारी गरिरहने जीप चालक कैलाश परियारले सडक मर्मत तत्काल गर्नुपर्ने खाँचो औंल्याउँदै नगरिहाल्ने हो भने त्यो ठाउँमा दुर्घट्नाको ठूलो जोखिम मोल्नुपर्ने अवस्था रहेको बताए।

कालोपत्रेसहितको फराकिलो सडक भएकाले पछिल्लो समय मदन भण्डारी लोकमार्ग पूर्व–पश्चिम महेन्द्र राजमार्गको बिकल्प बन्दै गएको छ। त्यसैले झापादेखि इटहरी, धरान, चतारा हुँदै सदरमुकाम गाईघाट–कटारी–भिमान भएर काठमाडौँ गन्तव्य बनाउने लामा दूरीका सवारी साधनको संख्या दिनहुँ बढ्दै गएको छ। पछिल्लो समय रातदिन गाडी चल्ने यो लोकमार्ग बकपतिमा भत्केको सडक चालकले खुट्याउन नसक्दा दुर्घटनको जोखिम अरु बढी हुनसक्ने भुक्तभोगी चालकहरु बताउँछन्।

‘हामीले त पहिले नै थाहा पाईसक्या छौँ, त्यहाँ सडक भत्केको छ भनेर’ अर्का जीप चालक विष्णु दनुवारले भने ‘तर, नयाँ नयाँ ड्राईभरले त सडक भत्केको देख्दैन, त्यसैले दु्र्रतगतिमा हाँक्दा बिपरित दिसाबाट आउने र उछिन्ने (ओभरटेक गर्ने) गरे भने दुर्घटनाको ठूलो जोखिम हुन्छ।’ सामान्य माटो थुपारेको जस्तो देखेर ओभरटेक गरे भने पनि जोखिम निकै बढी हुने दनुवारले बताए।

लोकमार्ग कार्यालय गाईघाटका इन्जिनियर तथा सूचना अधिकारी शंकर पौडेलले गएको वर्षामा सडक भत्केको स्वीकारे। सडकको साईट इन्चार्जसमेत रहेका इन्जिनियर पौडेलले खोला किनारै किनारको भागमा सडक धाजा फाटेको बताउँदै मर्मत गर्न निर्माण कम्पनीलाई पत्राचार गरेको तर, अहिलेसम्म काम नभएको बताए।

मदन भण्डारी लोकमार्ग कार्यालय प्रमुख (डिई) गोपाल खकुरेलले खोला किनारबाट जग उठाएर लगाइएको पर्खाल कमजोर भएकाले वर्षायाममा पहिरो जाने र सडक चर्किने समस्या देखिएको बताए।

उनले माथिबाट पहिरो जाने र तलको जग बाढीको धारले खोतल्दा सडक चर्किएर धाजा फाटेको उनको भनाइ छ। चर्केको सडकमा दुर्घटना जोखिम हुने भएकाले चाँडोभन्दा चाँडो मर्मत गर्न कार्यालयले मौखिक अनुरोध गरेको र लिखित पत्र पनि पठाइसकेको डिई खकुरेलले बताएका छन्।

लोकमार्ग कार्यालयले छिट्टै निर्माण कम्पनीसँग सडक मर्मतका लागि ताकेता गर्ने पनि जनाएको छ। यसबारे बुझ्न ठेकेदार कम्पनी जेडआईईसी/शर्मा/लामा जेवीसँग सम्पर्क गर्दा हुन सकेन। जेवीका परियोजा प्रबन्धक (पिएम) दोर्ण आचार्यसँग सम्पर्क गर्दा माबाईल अफ थियो।

प्रकाशित: १६ पुस २०७८ १४:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App