उदयपुरको कटारीमा निर्माणाधीन डिभिजन वन कार्यालय भवन अन्तिम चरणमा पुगेको छ। प्रदेश सरकारको बजेटबाट दुई वर्षअघि निर्माण सुरु भएको भवनको काम अन्तिम चरणमा पुगेको डिभिजन वन कार्यालयले जनाएको छ।
डिभिजन वन अधिकृत (डिएफओ) फणिन्द्र पोखरेलले भवनको काम ९५ प्रतिशत सकिइसकेको बताए। भौतिक संरचना निर्माण कार्य सकिइसकेकाले अब झ्यालढोका, ग्रिल लगाउन र रंगरोगन गर्न मात्र बाँकी रहेको डिएफओ पोखरेलले बताए। आधुनिक र सुविधा सम्पन्न ४ तले भवन ०७७ साउन २९ गते सम्झौता भई सोही साल भदौदेखि निर्माण कार्य सुरु भएको हो।
२ वर्ष अर्थात् ०८० साउन २८ गतेभित्र निर्माण सकेर हस्तान्तरण गर्ने सम्झौता भए पनि त्यसअघि नै भवन बनिसक्ने डिएफओ पोखरेलले बताए। ‘भवन सम्झौता मितिभन्दा केही महिनाअघि नै सकिन्छ’ पोखरेलले भने ‘९५ प्रतिशत काम सकिइसकेकाले अब धेरै दिन लाग्दैन। सम्झौताको म्यादसम्ममा त हामी कार्यालय सञ्चालन गरिसक्छौं।’
मूल्य अभिबृद्धि कर (भ्याट)बाहेक ४ करोड ६७ लाख ३० हजार ४ सय ९५ रुपैँया ८९ पैसा लागत इस्तीमेटको भवन निर्माण व्यवसायीहरुबीचको प्रतिस्पर्धामा झण्डै ३७ लाख घटीमा ठेक्का लागेको छ। जसअनुसार भवन निर्माणको जिम्मा भ्याटबाहेक ४ करोड ३० लाख ९८ हजार ८ सय ७९ रुपैयाँ ५९ पैसामा मिसन कन्स्ट्रक्सन एण्ड सप्लायर्स बानेश्वर काठमाडौँले लिएको छ।
पुरानो डिभिजन भवन परिसरमा निर्माणाधीन भवन भित्रि बाहिरी दुवै आधुनिक र आकर्षक डिजाइनको छ। कार्यालय प्रमुख कक्ष, सशस्त्र वनरक्षक व्यारेक, कर्मचारी कक्ष, सभाहल हुने भवनको माथिल्लो तला प्रमुख आवास प्रयोजनमा उपयोग हुनेछ। चौथो तलासम्म जानका लागि विद्युतीय भर्याङ (लिफ्ट)समेतको व्यवस्था हुने भवनको हरेक तलामा पुरुष महिला शौचालय, खानेपानीको सुविधा हुनेछ।
उदयपुरमा अहिलेसम्मका भवनहरुमध्ये सबभन्दा आधुनिक भएको डिएफओ पोखरेले बताए। सदरमुकामका कुनै पनि कार्यालय भवनहरुमा अलिहेसम्म लिफ्टको व्यवस्था नभएको अवस्थामा यही भवन मात्र पहिलो लिफ्टसहितको भएको पोखरेलको भनाइ छ। लिफ्ट जडान हुने भएकाले अपाङ्गता र अशक्त सेवाग्राही र बृद्धबृद्धालाई सहज भएकाले अपाङ्गमैत्री भवन हुने उनको भनाइ छ।
पुरानो भवन जिर्ण भएकाले डिभिजन वन कार्यालयलाई ३ वर्षयता नीजि घर भाडामा लिएर कार्यालय सञ्चालन गरिदै आएको छ। झण्डै ३ दशकअघि बनेको पुरानो संरचनाको भवन ०७२ मा गएको भूकम्पले भत्काएर जीर्ण भएपछि भवन अभावमा भाडामा लिएर कार्यालय चलाउनुपर्ने बाध्यता रहेको पोखरेलले बताए। भाडामा लिनुपर्दा वर्षेनी अतिरिक्त आर्थिक भार बेहोर्नुपर्ने अवस्थाको अन्त्य गर्न पनि भवन छिट्टै सक्नुपर्ने बाध्यता रहेको उनले बताए।
भवन सकेसम्म माघभित्र सकेर कार्यालय सारिसक्ने योजनाका साथ दु्रतगतिमा काम भईरहेको छ। सकेसम्म माघभित्रै कार्यालय सारिसक्ने योजना रहेको र ढिलो भएमा ०७८ चैत मसान्तभित्रै भवन सक्ने गरी काम भईरहेको डिएफओ पोखरेलले बताएका छन्।
प्रकाशित: १५ पुस २०७८ ०९:०२ बिहीबार