५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

मोरङस्थित ग्लोबल बायो इनर्जी इन्भेष्टमेन्टमा आगलागि

पुरानो टायरहरु पघालेर फर्नेस आयल निकाल्ने मोरङको कटहरी गाउँपालिका ४ स्थित ग्लोबल बायो ईनर्जी ईन्भेष्टमेन्ट प्रालिमा आगलागि भएको छ।

बुधबार (आज) बिहान पौने ६ बजे आगलागि हुँदा उक्त उद्योगमा कच्चा पदार्थकोरुपमा प्रयोग हुने पुराना टायरहरु जलेर नष्ट भएको छ। यस्तै टायरबाट तार निकाल्ने मेसिन र टायर काट्ने मेशिनहरुमा क्षति पुगेको छ। 

दुई सिफ्टमा संचालन हुने सो उद्योग गएरातिको बिहान २ बजे दोश्रो सिफ्ट पछि बन्द अवस्थामा थियो। सोहि समयमा आगलागि भएको हुनसक्ने उद्योग संचालक बिनित सिंघानियाले बताए। विद्युत सर्ट भएर आगलागि भएको हुनसक्ने उनको अनुमान छ।

उद्योगको स्क्रयाप वार्डमा राखिएका पुराना टायरहरु जल्न थालेपछि आगलागिले भिषणरुप लिएको थियो। विराटनगर महानगरपालिका भित्रका दमकलले मात्र आगो नियन्त्रण हुन नसकेपछि रंगेली, बेलबारी, कानेपोखरीसहित सुनसरीको ईनरुवा र दुहबी लगायतका पालिकाबाट समेत दमकलहरु बोलाईएको उद्योग प्रशासनले जनाएको छ।

टायरहरुमा लागेको आगो पानीको फोर्सले मात्र निभाउन समस्या भएपछि स्काभेटर मंगाएर टायरहरुको चाङलाई खोतलेर आगो नियन्त्रणमा लिइएको थियो। बिहान पौने ६ बजे लागेको आगो स्थानियबासी, दमकल र प्रहरी प्रशासनको सहयोगबाट ८ बजेपछि मात्र नियन्त्रणमा आएको थियो। सो उद्योगले पुराना टायरहरु संकलनगरि पघालेर फर्नेस आयलको उत्पादन गर्दै आएको छ। फर्नेस आयल उद्योगहरुमा ईन्धनकोरुपमा प्रयोग गरिन्छ।

बिद्युत सर्ट भएर आगलागि भएको हुनसक्ने अनुमान गरिएको भएपनि सो बिषयमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी जनार्दन जिसीले बताए।

प्रकाशित: १ मंसिर २०७८ ०६:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App