१० जेष्ठ २०८१ बिहीबार
image/svg+xml
समाज

प्रादेशिक सञ्चार प्रतिष्ठान चलायमान हुने

प्रादेशिक सञ्चार प्रतिष्ठान प्रदेश १ ले १४ वटै जिल्लाका.पत्रकारहरुको वृत्ति विकास र व्यावसायिक पत्रकारिताको स्तरोन्नति गर्ने कार्ययोजना अघि सारेको छ। शुक्रबार गाईघाटमा आयोजित ‘पत्रकार आचार संहितासम्बन्धी अन्तरक्रिया कार्यक्रम’ मा वार्षिक कार्ययोजना प्रस्तुत गर्दै प्रतिष्ठानले सो जानकारी दिएको हो।

प्रतिष्ठानका कार्यकारी निर्देशक यज्ञप्रसाद शर्माद्वारा प्रस्तुत कार्ययोजनामा प्रदेशभरीका पत्रकारको क्षमता अभिवृद्धि गर्न आधारभूत तहदेखि मध्यम (एडभान्स) तथा प्रशिक्षक प्रशिक्षण (टट)सम्म सञ्चालन गर्ने बताए। उनले प्रदेशका पत्रकारहरुको पेशागत हक अधिकारको पैरवी गर्न, गुणस्तरीय तथा प्रभावकारी पत्रकारिताको विकास गर्न र आपतविपतमा परेका पत्रकार र उनीहरुको परिवारलाई सहयोग गर्ने उद्देश्यले मुख्यमन्त्री शेरधन राईकै पालामा प्रतिष्ठान स्थापना गरेर सञ्चालनमा ल्याइएको बताए।

शर्माले ०७७ पुस ६ गते प्रतिष्ठानको गठन भए पनि कार्यभार सम्हाल्न थाल्नेबित्तिकै कोविड महामारी आई लागेपछि गतवर्ष सोँचेजस्तो कार्यक्रम गर्नै नपाएको बताए। उनले चालू आर्थिक वर्ष पत्रकार हकहितमा केन्द्रित भएर कार्यक्रम गर्न बिभिन्न अगुवा पत्रकारहरुको सुझाव सल्लाह लिएर कार्ययोजना बनाइएको जानकारी दिए। ‘प्रादेशिक सञ्चार प्रतिष्ठान र आर्थिक वर्ष ०७८÷७९ कोकार्यक्रम’ विषयक कार्यपत्र प्रस्तुत गर्दै कार्यकारी निर्देशक शर्माले गत वर्षभन्दा दोब्बर बढी कार्यक्रम गर्ने योजना सुनाए।

पत्रकारिताको विकास र प्रबद्र्धन गर्न सबभन्दा पहिले पत्रकार सक्षम र सञ्चार संस्थाहरु सवल हुनुपर्ने ठहर गर्दै शर्माले प्रतिष्ठानले पत्रकारको क्षमता अभिबृद्धि, कडा खाले रोगको उपचार, लेखनबृत्ति कार्यक्रम र भौतिक तथा पेशागत सुरक्षा नीति बनाउनमा मुख्य ध्यान दिइएको बताए। उनले लक्ष्य र उद्देश्य मिल्ने बिभिन्न विश्वविद्यालयसँग सहकार्य गर्दै समयानुकुल पाठ्यक्रम निर्माण गरेर पत्रकारलाई दिक्षित गरिने नीति पनि कार्ययोजनामा रहेको बताए।

प्रतिष्ठानले स्थापनालगत्तै पत्रकारहरुको सुरक्षामा सहयोग गर्न ‘पत्रकार सुरक्षा कोष’ स्थापना गरेको जानकारी पनि दिए। गत वर्ष कोभिड संक्रमण भई भेन्टिलेटर र आईसियुमा उपचार गरेका पत्रकारलाई २५ हजारका दरले सहयोग दिइएको र कडा खाले रोग लागेका ३ जना पत्रकारलाई ५० हजारका दरले उपचार सहयोग बितरण गरेको पनि उनले बताए। प्रदेशभर क्रियाशील झण्डै २ हजार हाराहारी पत्रकारको पेशागत र स्वास्थ्य सुरक्षाका लागि गत वर्ष १० लाख रुपैयाँको कोष स्थापना गरिएको र चालू वर्ष त्यसमा २० लाख थप गरिएको जानकारी उनले दिए।

प्रतिष्ठानका अध्यक्ष तथा आन्तरिक मामिला र कानुन राज्यमन्त्री लिलाबल्लभ अधिकारीले उद्घाटन गरेको अन्तरक्रियामा वरिष्ट पत्रकार शौशल चेमजोङले ‘पत्रकार आचारसंहिता’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए। कार्यपत्रमाथि महासंघ उदयपुरका पूर्व अध्यक्ष महेश्वर चामलिङ, विज्ञापन बोर्डकी सदस्य बन्दना दनुवार र महासंघ प्रदेश समितिका पूर्व सचिव हरिकुमार राईले टिप्पणी गरेका थिए।

कार्यक्रममा महासंघ उदयपुरका अध्यक्ष तथा प्रतिष्ठानका सदस्य भरत खड्काले व्यावसायिक पत्रकारिता र पेशालाई सामाजिक उत्तरदायी बनाउन पत्रकारलाई सुरक्षित बनाउनुपर्ने बताए।

प्रकाशित: १३ कार्तिक २०७८ ०८:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App